‘राष्ट्रिय संकटका घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर, समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ। हाम्रो कार्यक्रम राष्ट्र रहेन भने हामी रहन्नौं भन्ने भावनाले प्रेरित हुनुपर्छ ।’ नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीतिसहित स्वदेश फर्कनुअघि भारत निर्वासनबाट गरेको अपिलको अंश हो यो।
देशको उन्नति, जनताको सुख र समृद्धिको पुनीत कार्यमा सबै एकमत भएर लाग्न पनि आग्रह गर्दै मृत्युदण्डसहितका विभिन्न आठवटा मुद्दाको कुनै प्रवाह नगरी गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईंसहितका नेतालाई साथ लिएर बिपी स्वदेश फर्किएका थिए । राजासहित देशभित्रका सबै शक्तिबीच एकता र मेलमिलापको बिपीले आवश्यकता औंल्याएका थिए। आफू र आफ्नो स्वार्थमा होइन, देश र जनतालाई केन्द्रमा राखेर प्रजातन्त्र र जनहितको पक्षमा बिपी कोइराला जीवनभरि उभिए।
१११ वर्षअघि दिव्या कोइराला र कृष्णप्रसाद कोइरालाका छोराका रूपमा बिपी कोइरालाको जन्म भएको हो। एकतन्त्रीय राणा शासनको अन्त्य र मुलुकमा प्रजातन्त्र स्थापनाका लागि बिपीले २००३ सालमा पार्टी स्थापनाको आह्वान गरे। बिपीको त्यही आह्वानबाट अहिलेको नेपाली कांग्रेसको जग बसेको हो। मुलुकमा प्रजातन्त्र स्थापना, पुनःस्थापनादेखि संविधानसभाबाट संविधान जारी गर्दै त्यसको कार्यान्वयनसम्मको नेतृत्व कांग्रेसले गर्दै आएको छ । प्रतिनिधिसभाको सबैभन्दा ठुलो दलका रूपमा कांग्रेस अहिले पनि स्थापित छ।
तर कांग्रेस अहिले देश र जनताको हितमा केन्द्रित हुन नसकेको आरोप छ। देश र जनताभन्दा कांग्रेस अहिले परिवार, गुट र व्यक्तिगत स्वार्थमा केन्द्रित भएको आवाज तीव्र बन्न पुगेको छ । प्रजातान्त्रिक समाजवादलाई आत्मसात् गरेर बिपीले पार्टी स्थापना गरेका थिए । तर कांग्रेसमा अहिले विचार, सिद्धान्त, नीति र कार्यक्रम शून्य हुँदै गएको विश्लेषण गर्न थालिएको छ । देश र पार्टीलाई योगदान गरेका निष्ठावान् नेता तथा कार्यकर्ता होइन मनी र मसलका साथै सुकिलामुकिलाको हालीमुहाली हाबी हुन पुगेको छ।
ओली बसेका जनताको बोली फुकाउन लाग्नुपर्ने कांग्रेस नेता तथा कार्यकर्ता आफ्नै घर बनाउन र बोली ठुलो बनाउन केन्द्रित भएका छन् । गरिब र भोकालाई भोजन होइन, नेताहरू आफैं मोजमस्तीमा जुट्दा नागरिकसँग होइन, पार्टीकै नेता तथा कार्यकर्तासँग संवाद टुटेको छ । राजनीति नागरिकका लागि होइन, राजनीति गर्नेका लागि मात्र जस्तो बन्न पुगेको छ । समाज परिवर्तनका लागि गरिने राजनीति पैसा र बिचौलिया हाबी हुँदै जाँदा समाजमा निराशा बढ्दै गएको छ।
पार्टीलाई विधि र विधानअनुसार कांग्रेस सञ्चालन हुन सकेको छैन । लोकरिझ्याइँका लागि अघि सारिएका विषयबाहेक पार्टीका नेता तथा कार्यकर्ता जन्माउने नर्सरी नेपाल विद्यार्थी संघसहितका भ्रातृ संगठनहरूको एक दशकदेखि महाधिवेशन हुन सकेको छैन । पार्टी महाधिवेशन भएको ६ महिनाभित्र गठन हुनुपर्ने कुनै पनि निकाय र संरचनाले अहिलेसम्म पूर्णता पाउन सकेका छैनन् । केन्द्रीय कोषाध्यक्षको टुंगो लाग्न सकेको छैन ।
विभाग, कार्यसम्पादन समिति, संसदीय समिति गठन कांग्रेसको प्राथमिकतामा परेको छैन । संगठन निर्माणभन्दा सत्ता, शक्ति र गुटबन्दीमा रुमलिएको कांग्रेस संगठन शिथिल बन्न पुगेको छ। पार्टी चुनाव जित्न क्रियाशील सदस्यता बढाइएको छ। तर पाका र युवा पुस्ता कांग्रेसबाट अलग हुँदै गएका छन् भने नयाँ पुस्तालाई जोड्ने कुनै कार्यक्रम र नीति उसमा छैन। जसले गर्दा निर्वाचनमा मतदाता बढ्दै गएका छन् तर कांग्रेसको मत घट्दै गएको छ।
बिपी स्मृति दिवस र जन्मजयन्तीमा उनको विचार र सिद्धान्तको चर्चा गर्ने कांग्रेस नेताले न त समयानुकूल बिपी विचारलाई परिष्कृत र परिमार्जन गर्दै अघि बढाएका छन्, न त नयाँ विचार स्थापित गर्न सकेका छन्। कुनै अवसर पारेर कांग्रेसले बिपी विचारको माला जप्न छाडेको छैन। तर कांग्रेस यतिबेला विचार र कार्यक्रम शून्य बन्न पुगेको छ। कुनै पनि विचारको स्थापना हुन्छ। त्यसलाई अघि बढाउन चर्चा, परिचर्चा, छलफल, समालोचना आवश्यक हुन्छ। बिपीको विचारचाहिँ जहाँ थियो, त्यहीँ नै अड्किएको छ। वर्षको दुई पटक बिपीलाई फूलमाला चढाउने र उनको विचार जप्नेबाहेक कांग्रेसले समयअनुकूल त्यसलाई अगाडि लैजान सकेको देखिँदैन।
बिपीको विचार मात्र होइन, उनको जीवनबाट धेरै कुरा सिक्न सकिन्छ । विचारशून्य नेतृत्व भएको समयमा बिपीको समयलाई हेर्दा परिवारदेखि विवाहसम्म, घरजग्गादेखि आर्थिक मामिलासम्म, सरकार सञ्चालनदेखि परराष्ट्र मामिलासम्म सबै कुरामा क्रान्तिकारी छ र थियो । अब यति मात्र जपेर देश, समाज र कांग्रेस अघि बढ्न सक्छ त ?
अहिलेको कांग्रेससँग विचार, कार्यक्रम, योजना र सिद्धान्त स्पष्ट छैन । समाजवादलाई पार्टीको आदर्श र सिद्धान्त माने पनि कांग्रेसका नेतामा न त्यसअनुसारको संस्कार छ न त योजना र कार्यक्रम । कांग्रेसमा आन्तरिक लोकतन्त्र कमजोर बन्न पुगेको छ । सामूहिकता होइन, व्यक्तिवादी सोच मौलाउँदै जाँदा कांग्रेसमा संगठन होइन, गुट निर्माण र त्यसकै बलमा व्यक्तिगत स्वार्थ पूरा गर्ने प्रवृत्ति हाबी हुन पुगेको छ।
त्यसमा पनि बारम्बार सरकार परिवर्तन हुने र जनअपेक्षाअनुसार काम नहुँदा राजनीतिक दलप्रति जनताको असन्तुष्टि बढ्दै गएको छ। निर्वाचनपछि सत्ता गठबन्धनमा पटकपटक आएको फेरबदलले जनतामा निराशा थप बढाएको छ। त्यसले संविधानसभाबाट जारी भएको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्नहरू उठ्न थालेका बेला कांग्रेस र एमाले मिलेर नयाँ गठबन्धन निर्माण भएको छ। राजनीतिक स्थायित्व, संविधान संशोधन, आर्थिक विकाससहितका विषयलाई अघि सार्दै कांग्रेस–एमालेले असार १७ गते सात बुँदे सहमतिसहित असार ३१ गते नयाँ सरकार गठन गरेका हुन्।
एमाले नेतृत्वमा गठन भएको सरकारमा कांग्रेस पनि सहभागी छ । कांग्रेसका कतिपय नेताले बिपी कोइरालाले २०३३ सालमा मेलमिलापको नीति लिएर स्वदेश फकर्ने बेलाजस्तै अहिले पनि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै जनताको चाहनाअनुसार आर्थिक विकासका लागि कांग्रेस, एमालेसहितका दलहरू मिलेको दाबी गरेका छन् । सत्ता र शक्तिका लागि गठबन्धन बदलिँदैमा जनतामा रहेको निराशा र असन्तुष्टि सम्बोधन हुन्छ त ? बिपीबाट अहिलेको नेतृत्व, नेता र हामीले के सिक्यौ त ?
प्रकाशित: २४ भाद्र २०८१ ०६:१७ सोमबार