१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सत्ता समीकरणपछि बदलिएको एमाले कार्यशैली

प्रदेश अध्यक्षको घटुवा गरिँदै

सरकारबाहिर हुँदा र सरकारमा आइसकेपछि नेकपा एमालेको कार्यशैली फेरिएको छ। दुइमहिना सरकारबाहिर हुँदा पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दबाब दिन निर्देशन दिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै विभाग प्रमुखलाई बोलाएर सरकारलाई सहयोग गर्न निर्देशन दिएका छन्।

 चैत ११ गते अध्यक्ष ओलीले पार्टीका विभागीय प्रमुख र सचिवहरूलाई सरकारका मन्त्रीहरूसँग समन्वय गर्न निर्देशन दिएका थिए। विभागीय प्रमुख र सचिवहरूको बैठक राखेर ओलीले सरकारलाई सहयोग पुग्नेगरी समन्वय गर्न निर्देशन दिएका थिए।  

‘हाम्रो पार्टीको विभागहरू मन्त्रालयसँग मिल्दोजुल्दो नै छन्, सबै विभागले आफ्नो विभागीय मन्त्रीहरूसँग समन्वय र सहयोग गर्नुपर्छ,’ ओलीको निर्देशन थियो। समीकरण बदलेर सरकार निर्माणको औचित्य पुष्टि गर्न पनि विभागीय सहयोग आवश्यक रहेको ओलीले धारणा थियो। 

‘यो सरकारलाई असफल हुने छुट छैन, त्यसैले मन्त्रीहरूसँग आपसी समन्वय र सुझावको वातावरण बनाउनुपर्छ’, ओलीले भनेका थिए। सँगै १६औं पञ्चवर्षीय योजनाका निम्ति सुझाव तयार पार्न पनि अध्यक्ष ओलीले कार्यकर्तालाई निर्देशन दिएका थिए।  

तर फागुन २१ अघि एमाले सरकारमा जानुपूर्व माघको पहिलो साता एमाले अध्यक्ष ओलीले सदन र सडक दुवैतिरबाट दबाब बनाउने रणनीतिमा लागेका थिए। उनले आन्दोलनको वार्मअपका लागि नेतृत्वमा एमालेले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो। त्यतिबेला एमाले अध्यक्ष ओली कांग्रेस नेता शेखर कोइरालासँग निरन्तर सम्पर्कमा थिए भने रास्वपाका अध्यक्ष रवि लामिछानेसँग ओलीको भेटवार्ता भइसकेको थियो। त्यतिबेला ओलीले अहिलेको गठबन्धन बन्नसक्ने संकेत गरेका थिए। उनले एमाले २०८४ सालसम्म पर्खन नसक्ने अवस्थामा रहेको समेत बताएका थिए।  

तर, नयाँ बनाउन महŒवपूर्ण भूमिका निर्वाह गरेका ओलीले समीकरण निर्माणका लागि मन्त्रालय भागबन्डामा लचकता देखाएका छन्। एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको कार्यकायलाई पनि लचकता देखाएको आभाष दिइरहेका छन्। उनले एक कार्यक्रममा प्रधानमन्त्री पद कुनै भागबन्डाको पद होइन भन्ने अभिव्यक्ति दिएका थिए।  

एमाले र माओवादीबीच आधा–आधा कार्यकाल प्रधानमन्त्री बन्ने हल्ला चलेको बेलामा ओलीले यस्तो अभिव्यक्ति दिएका थिए। ‘राजनीति अहिले तपाईंको पालो त्यसपछि मेरो पालो, मेरोपछि उसको पालो भनेर धारामा पानी थाप्न लाइन बसेजस्तो होइन, नेतृत्व गर्ने कुरा योग्यता, क्षमता, सक्रियता, बुझाई र इमानदारीमा भर पर्छ। यस्तो संस्कार बसाएर मात्र राजनीतिलाई गुणात्मक र परिणाममुखी बनाउन सकिन्छ ,’ ओलीले भनेका छन्।  

त्यति मात्र होइन नयाँ समीकरण बनाउने बेलामा राष्ट्रियसभाको अध्यक्ष पद माओवादीको र एमालका लागि उपाध्यक्ष पद बाँडफाँट गरिएकोमा माधव नेपाल नेतृत्वको नेकपा एस सरकारमा आएसँगै राष्ट्रियसभाको उपाध्यक्ष पद पनि एमाले अध्यक्ष ओलीले छाडिदिएका छन्।  

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सत्ता समीकरणमा आएको फेरबदलसँगै पार्टीको भूमिका पनि बद्लिएको बताए। ‘सत्ता समीकरणसँगै पार्टीको भूमिका र जिम्मेवारी बदलिएको छ, सरकारलाई सुझाव दिने्, सहयोग गर्ने तहमा एमाले रहेको छ,’ प्रचार विभाग प्रमुख गौतमले भने। उनका अनुसार कतिपय विभागहरू मन्त्रालयसँग सम्बन्ध राख्ने र उनीहरूलाई सहयोग गर्ने तहमा रहेका छन्। त्यही आधारमा पार्टी अध्यक्ष ओलीले मन्त्रालयसँग समन्वय गर्ने सम्बन्ध राख्ने र जनताको पक्षमा काम गर्न मन्त्रीहरूलाई सहयोग गर्न निर्देशन दिएको पनि उनको भनाइ छ। 

‘अहिले पञ्चवर्षीय योजना पनि बनिरहेको छ, यसमा कस्ता नीति, योजनाहरू राख्न उपयुक्त हुन्छ, ती योजनाले विकास निर्माणमा के कस्तो सहयोग पुग्छ भनेर पार्टीले सुझाव दिँदा राम्रो हुन्छ भनेर पार्टीका विभागीय प्रमुख र सचिवलाई निर्देशन दिनुभएको हो,’ प्रचार विभाग प्रमुख गौतमले भने। गौतमका अनुसार एमालेका विभागहरूले पार्टीका तर्फबाट जिम्मेवारी सम्हालेका मन्त्रालयलाई मात्र होइन अन्य पार्टीको भागमा परेका मन्त्रालयहरूमा पनि सुझाव दिन सक्नेछन्।  

प्रदेश अध्यक्षको घटुवा तयारी  

एमालेले प्रदेश अध्यक्षहरूको घटुवा तयारी गरेको छ। एमालेका स्थायी कमिटी सदस्यहरूले प्रदेश अध्यक्षलाई पोलिटव्यूरो सदस्य सो सरहको पदीय हैसियतको विरोध गरेपछि त्यसलाई घटुवा गर्ने भएको हो। फागुन ८, ९ र १० मा बसेको केन्द्रीय कमिटी बैठककै बेला स्थायी कमिटी बैठकमा उनीहरूको वरीयताको विरोध गरिएको थियो। त्यसबेला अध्यक्ष ओलीले उनीहरूलाई केन्द्रीय सदस्य सो सरह बनाउने बताएका थिए। तर अहिलेसम्म उनीहरूको घटुवा भने भएको छैन।  

गर्दै बहुसंख्यक स्थायी कमिटीका नेताहरूले प्रश्न उठाएपछि एमालेले घटुवा गर्ने निर्णय लिएको हो। स्थायी समितिमा नेताहरूको विरोध र दबाब थेग्न नसकेपछि अध्यक्ष केपी ओलीले विरोध र असन्तुष्टि जायज भएकाले सच्याउने जवाफ दिएका थिए। यसरी घटुवा हुनेहरूमा सात प्रदेशका अध्यक्षहरू रहेका छन्। 

कोशीका घनश्याम खतिवडा, मधेसका चन्द्रेश्वर मण्डल, बागमतीमा कैलाश ढुंगेल गण्डकीका नवराज शर्मा, लुम्बिनीका राधाकृष्ण कँडेल र सुदूरपश्चिमका कृष्णप्रसाद जैसी, एमाले उपत्यका विशेषका प्रेम पराजुली रहेका छन्। उनीहरूमध्ये ढुंगेल मात्र केन्द्रीय सदस्य हुन। प्रदेशका कार्यकारी अभ्यास गरिरहेका उनीहरूलाई पार्टीले घटुवा गरेर केन्द्रीय सदस्य मात्रै राख्न खोजेको एक स्थायी कमिटी सदस्यले बताए।  

परिषद सदस्यको भेला  

एमाले स्थायी कमिटीको बैठकले कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा महाधिवेशन प्रतिनिधि परिषद् सदस्हयरुको बैठक बोलाइएको छ। फागुन २५ गते बसेको एमाले सचिवालय बैठकले महाधिवेशन प्रतिनिधि परिषद् बैठक बोलाएको हो। ‘वैशाख ८ र ९ गते पार्टी महाधिवेशन प्रतिनिधिहरूको बैठक गोदाबरीमा हुनेछ,’ पार्टी प्रचार विभाग प्रमुख गौतमले बताए। उनका पार्टी स्थापना दिवस वैशाख १० गते भव्य रूपमा मनाउने तयारी भैरहेको छ।  

६ लाख सदस्य १० लाख पु¥याउने  

एमालेले संगठन विस्तारको क्रममा पार्टी सदस्य संख्या १० लाख पु¥याउन योजना बनाएको छ। ७७ वटै जिल्ला कमिटी र पार्टीका विभिन्न विभागहरूलाई गरिएको सर्कुलर मै पार्टी सदस्यको संख्या बढाउन निर्दैशन दिइएको छ। अहिले कायम करिब ६ लाख हाराहारी सदस्य संख्या बढाएर १० लाख पु¥याउनेगरी काम गर्न प्रदेश, जिल्ला, पालिका र वडा कमिटीहरूलाई पोखरेलले सर्कुलर गरिएको छ। 

‘एघारौं महाधिवेशनसम्ममा सक्रिय सदस्य संख्या नै १० लाख पु¥याउनुपर्नेछ। प्रत्येक गाउँपालिकाले एक वर्षमा कम्तीमा ५० जना, नगरपालिकाले सय जना, उपमहानगरले एक सय ५० जना र महानगरपालिकाले दुई सय जना ४० वर्षमुनिका युवाहरूलाई पहिचान गरी नेतृत्व विकासको प्रशिक्षणसहित पार्टीमा आबद्ध गराउनुपर्दछ,’ सर्कुलरमा छ।

प्रकाशित: १५ चैत्र २०८० ०८:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App