२८ चैत्र २०८१ बिहीबार
image/svg+xml ५:३३ पूर्वाह्न
अन्तर्राष्ट्रिय

खनिज र युद्ध सम्झौतामा भिडे ट्रम्प-जेलेन्स्की, भेटघाट 'हात्ती आयो हात्ती आयो फुस्सा!'

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच शुक्रबार ह्वाइट हाउसमा भएको बहुप्रतीक्षित भेटघाट अपेक्षा गरिएभन्दा ठीक उल्टो परिणामसहित समाप्त भएको छ। यो बैठकमा युक्रेनको दुर्लभ पृथ्वी खनिजमा अमेरिकी पहुँच प्रदान गर्ने ५ खर्ब डलर बराबरको सम्झौता र रूस–युक्रेन युद्धको समाधानबारे छलफल हुने अपेक्षा थियो। तर, बैठक सुरु भएको केही मिनेटमै तनावपूर्ण बहसमा परिणत भयो। कुनै सम्झौताबिना नै जेलेन्स्की ह्वाइट हाउसबाट बाहिरिए। यो घटनाले विश्व राजनीतिमा ठूलो तरंग ल्याएको छ।

पृष्ठभूमि 
यो भेटघाटको पृष्ठभूमि निकै जटिल थियो। सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध अझै जारी छ। अमेरिकाले युक्रेनलाई ३५० अर्ब डलरभन्दा बढी आर्थिक र सैन्य सहयोग प्रदान गरेको दाबी गर्दै आएको छ। अमेरिकाको सैन्य र आर्थिक सहयोगले युद्धलाई लम्ब्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ। ट्रम्पले दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएसँगै युद्धलाई चाँडै अन्त्य गर्ने र रूससँग शान्ति सम्झौता गर्ने वाचा गरेका थिए। 

अर्कोतर्फ, जेलेन्स्कीले रूससँग कुनै पनि सम्झौता गर्नुअघि युक्रेनको क्षेत्रीय अखण्डता र सुरक्षाको ग्यारेन्टी माग्दै आएका छन्। यसैबीच, युक्रेनसँग रहेको दुर्लभ खनिज (लिथियम, कोबाल्ट र निकेल) मा अमेरिकी कम्पनीहरूको रुचि बढ्दो छ। यो सम्झौताले अमेरिकालाई चिनियाँ खनिज आपूर्तिमा निर्भरता घटाउने अवसर दिन्थ्यो। तर, यी दुई मुद्दा बैठकको क्रममा विवादको केन्द्र बने।

विवादको सुरुवात
बैठक सुरु भएको केही मिनेटमै ट्रम्पले जेलेन्स्कीलाई आक्रामक रूपमा प्रश्न गरे, ‘तपाईंको मनोवृत्ति सम्झौताको होइन। युक्रेनले रूससँग युद्ध जित्न सक्दैन, तपाईं यो कुरा किन बुझ्नुहुन्न?’ ट्रम्पले जेलेन्स्कीको अडानलाई हठी भन्दै उनको नेतृत्वमाथि नै प्रश्न उठाए। उनले थपे, ‘यदि मैले आफूलाई रूस र युक्रेनबीचमा राखिनँ भने तपाईं कहिल्यै सम्झौतामा पुग्नुहुन्न। तपाईं भ्लादिमिर पुटिनलाई घृणा गर्नुहुन्छ, अर्को पक्षलाई पनि केही मन पर्दैन। तपाईं मलाई कठोर बनाउन चाहनुहुन्छ, म संसारको जुनसुकै व्यक्तिभन्दा कडा हुन सक्छु तर त्यसरी सम्झौता हुँदैन।’ जेलेन्स्कीले जवाफमा ट्रम्पको रूसप्रति नरम नीति भएको संकेत गर्दै भने, ‘हामी पुटिनसँग कुनै सम्झौता गर्न सक्दैनौं जसले युक्रेनको स्वतन्त्रता र भविष्यलाई जोखिममा पार्छ। हामीलाई शान्ति चाहिएको छ, तर आत्मसमर्पण होइन।’ यो बयानले ट्रम्पलाई थप उत्तेजित बनायो।

भान्सको हस्तक्षेप 
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि जेलेन्स्कीलाई अपमानजनक व्यक्ति भन्दै विवादमा मलजल गरे। जेलेन्स्कीले भान्सलाई सोधे, ‘तपाईं कस्तो कूटनीतिको कुरा गर्दै हुनुहुन्छ?’ भान्सले जवाफ थियो, ‘म त्यस्तो कूटनीतिको कुरा गर्दै छु जसले तपाईंको देशमा भइरहेको विनाश रोक्न सक्छ। तर तपाईं यहाँ आएर हामीलाई धन्यवादसम्म दिनुहुन्न।’ भान्सले थप सोधे, ‘के तपाईंले बैठकमा एकपटक पनि हामीलाई धन्यवाद भन्नुभयो?’ जेलेन्स्कीले शान्त स्वरमा जवाफ दिए, ‘मैले धेरै पटक धन्यवाद भनेको छु। अमेरिकी जनता र सरकारको सहयोगबिना हामी यहाँसम्म आउन पनि सक्दैनथ्यौं।’

तर, ट्रम्पले जेलेन्स्कीको यो जवाफलाई नाटक भन्दै खारेज गरे। उनले भने, ‘युक्रेन ठूलो समस्यामा छ। तपाईं यो युद्ध जित्न सक्नुहुन्न। हामीले तपाईंलाई ३५० अर्ब डलर र अत्याधुनिक सैन्य उपकरण दिएका छौं। यदि हामीले सहयोग नदिएको भए, यो युद्ध दुई हप्तामा सकिन्थ्यो। तर तपाईंको मनसाय युद्धविरामको होइन, तपाईं तेस्रो विश्वयुद्धको जुवा खेल्दै हुनुहुन्छ।’ जेलेन्स्कीले जवाफमा अमेरिकी समर्थनको महत्त्व स्वीकार्दै भने, ‘हामी ग्यारेन्टीसहितको युद्धविराम चाहन्छौं। हामीलाई थप हतियार होइन, सुरक्षाको प्रत्याभूति चाहिएको छ।’

खनिज सम्झौता 
बैठकको अर्को प्रमुख उद्देश्य युक्रेनको खनिज स्रोतमा अमेरिकी पहुँच प्रदान गर्नु पनि थियो। यो सम्झौताले युक्रेनको युद्ध प्रभावित अर्थतन्त्रलाई बलियो बनाउन र अमेरिकाको ऊर्जा तथा प्रविधि क्षेत्रलाई फाइदा पुर्‍याउन सक्ने आंकलन भइरहेको थियो। तर, जेलेन्स्कीले ट्रम्पको प्रस्तावलाई एकतर्फी भन्दै अस्वीकार गरे। स्रोतका अनुसार जेलेन्स्कीले खनिज सम्झौताको बदलामा युक्रेनको पूर्वी क्षेत्रमा रूसी नियन्त्रण स्वीकार गर्नुपर्ने सर्त राखिएको आरोप लगाए। ट्रम्पले भने यो आरोपको खण्डन गरे, ‘हामीले युक्रेनलाई आर्थिक जीवनरेखा दिन खोजेका हौं, तर तपाईंले यो मौका गुमाउनुभयो।’

बैठकको अन्त्य
लगभग एक घण्टा चलेको यो बैठक कुनै निष्कर्षमा नपुगी समाप्त भयो। ह्वाइट हाउसका एक अधिकारीका अनुसार जेलेन्स्की र उनको टोलीलाई छुट्टै कोठामा लगिएको थियो। उक्त कोठामा राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र विदेश सचिव मार्को रुबियोले उनीहरूलाई बैठक स्थलबाट बाहिर निस्कन आग्रह गरेका थिए। निर्धारित पत्रकार सम्मेलन रद्द गरियो। जेलेन्स्की पर्खिरहेको गाडीमा चढेर ह्वाइट हाउसबाट बाहिरिए।

ट्रम्पको प्रतिक्रिया
बैठकपछि ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा आक्रोश व्यक्त गरे। उनले लेखे, ‘जेलेन्स्की शान्तिको लागि तयार छैनन्। उनले ओभल अफिसमा संयुक्त राज्य अमेरिकाको अपमान गरे। हामीले उनलाई अर्बौं डलर र हतियार दिएका छौं, तर उनको अहंकारले सबै बर्बाद गर्‍यो। उनी शान्तिको लागि तयार भएपछि फर्कन सक्छन्।’ ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्धको जुवा खेल्ने नेताको संज्ञा दिँदै अमेरिकी सहयोग कटौती गर्ने संकेत गरे। उनले भने, ‘हामी युद्धमा होइन, शान्तिमा विश्वास गर्छौं। जेलेन्स्कीले यो बुझ्नुपर्छ।’

जेलेन्स्कीको प्रतिक्रिया
भेटपछि फक्स न्यूजसँगको पहिलो अन्तर्वार्तामा जेलेन्स्कीले माफी माग्न अस्वीकार गरे। उनले भने, ‘मलाई लाग्दैन कि हामीले केही गलत गरेका छौं। हामीले आफ्नो देश र जनताको पक्षमा बोलेका हौं।’ तर, उनले अमेरिकी सहयोगको प्रशंसा गर्दै भने, ‘म ट्रम्पलाई सम्मान गर्छु र अमेरिकी जनतालाई धन्यवाद दिन्छु। उनीहरूको सहयोगबिना हामी यहाँसम्म आउन सक्दैनथ्यौं।’ ओभल अफिसको बहस राम्रो नभएको स्वीकार गर्दै उनले सम्बन्ध बचाउन सकिने आशा व्यक्त गरे। ‘यो दुई नेताको मात्र कुरा होइन, यो हाम्रा देश र जनताबीचको ऐतिहासिक सम्बन्ध हो,’ उनले भने। पद छोड्ने प्रश्नमा उनले भने, ‘यो निर्णय युक्रेनी जनताको हो। म युद्धको बीचमा देश छोडेर भाग्ने नेता होइन।’ उनले ट्रम्पको आलोचनालाई भावनात्मक भन्दै शान्तिको लागि ग्यारेन्टी आवश्यक भएको कुरा पुनः दोहोर्‍याए।

विश्व प्रतिक्रिया
यो घटनाले विश्व नेताहरूबाट मिश्रित प्रतिक्रिया आएको छ। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले भने, ‘रूस आक्रमणकारी हो, युक्रेन पीडित हो। हामीले युक्रेनलाई सहयोग गर्नु ठीक थियो, यो जारी राख्नेछौं।’ पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले लेखे, ‘प्रिय जेलेन्स्की, तपाईं एक्लो हुनुहुन्न। हामी तपाईंसँग छौं।’ युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले जेलेन्स्कीको साहस र गरिमाको प्रशंसा गर्दै भनिन्, ‘हामी न्यायपूर्ण शान्तिको लागि तपाईंसँगै काम गर्नेछौं।’ क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडा युक्रेनको साथमा उभिन्छ भनेका छन्। 

रुसी सुरक्षा परिषद्का उपप्रमुख दिमित्री मेदवेदेवले जेलेन्स्कीलाई अहंकारी भन्दै ट्रम्पको प्रशंसा गरे। उनले लेखे, ‘जेलेन्स्कीलाई ओभल अफिसमा उचित थप्पड हानियो। ट्रम्पले सही गरे।’ हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले भनेका छन्, ‘ट्रम्पले शान्तिको लागि साहसिक कदम चालेका छन्। यो सत्य धेरैलाई पचाउन गाह्रो छ।’ ट्रम्प र भान्सले पुटिनको फोहोरी काम गरिरहेको डेमोक्र्याटहरूको प्रतिक्रिया छ। डेमोक्र्याट सिनेटर क्रिस कुन्सले ट्रम्पको व्यवहारको निन्दा गरेका छन्। ‘जेलेन्स्कीले हामीलाई धेरै पटक धन्यवाद दिएका छन्। उनी लोकतन्त्रको अग्रपंक्तिमा लडिरहेका छन्। यो व्यवहार लज्जास्पद र अमेरिकी मूल्यविपरीत छ,’ उनले भने।

अबको बाटो
यो असफल भेटले अमेरिका–युक्रेन सम्बन्धमा गम्भीर संकट निम्त्याएको छ। खनिज सम्झौता र युद्धविरामको प्रयास अनिश्चित बनेको छ। विश्लेषकहरूका अनुसार ट्रम्प प्रशासनले युक्रेनलाई सहयोग कटौती गर्न सक्छ, जसले युद्धको गतिलाई परिवर्तन गर्न सक्छ। यदि अमेरिकी सहयोग रोकियो भने, युक्रेनले युरोपेली सहयोगीहरूमाथि थप निर्भर हुनुपर्नेछ। तर, युरोपेली देशहरूले पनि आर्थिक दबाबका कारण लामो समयसम्म सहयोग जारी राख्न सक्नेमा शंका छ। 

अर्कोतर्फ, रूसले यो घटनालाई आफ्नो पक्षमा प्रयोग गर्न सक्छ। पुटिनले ट्रम्पसँगको सम्बन्ध सुधारेर युक्रेनमाथि थप दबाब बढाउने रणनीति अपनाउन सक्ने अनुमान गरिएको छ। जेलेन्स्की ‘न्यायपूर्ण शान्ति’ को अडानमा कायम छन्। तर अमेरिकी समर्थनबिना यो लक्ष्य कठिन देखिन्छ। युक्रेनी जनताको मनोबल पनि यो घटनाले प्रभावित हुन सक्छ। युक्रेनमा जेलेन्स्कीले देशका पक्षमा बोले पनि अब अमेरिकाबिना यो लडाइँ कसरी जारी राख्ने भन्ने चुनौती छ भन्ने कुरा बहसमा आएको छ। विश्व राजनीतिमा यो घटनाले नयाँ बहस सिर्जना भएको छ। ट्रम्पको शान्ति नीति युद्ध समाप्त गर्न सफल हुन्छ वा यो युक्रेनको पराजयको सुरुवात मात्र हो भन्ने कुराको जवाफ समयले नै दिनेछ। एजेन्सीको सहयोगमा 

प्रकाशित: १७ फाल्गुन २०८१ ०७:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App