मुलुकमा यतिबेला लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था छ। दलका प्रतिनिधिले राज्यका निकायहरूलाई प्रतिनिधित्व गरेका छन्। संयोगले प्रमुख दलहरूको भूमिकामा चित्त नबुझेका कारण गत स्थानीय तह निर्वाचनका बेला स्वतन्त्र व्यक्तिहरूलाई पालिका तहमा निर्वाचित गरेका छन्। यसको अर्थ आम नागरिकलाई दलप्रति अविश्वास भएको होइन, दलले उठाएका मानिसप्रतिको अविश्वास मात्र हो। त्यही भएर काठमाडौं महानगरपालिका, धरान उपनगरपालिका, धनगढी उपनगरपालिकामा स्वतन्त्र व्यक्तिले निर्वाचित भई नेतृत्व प्रदान गरिरहेका छन्।
यसरी निर्वाचित भएका प्रमुखहरूले अन्य सदस्यसँग गरेको व्यवहारलाई अहिले सर्वसाधारणले रुचिपूर्वक हेरिरहेका पनि छन्। यदाकदा यसरी निर्वाचित व्यक्तिमा आफूलाई सर्वसाधारणले जेसुकै गर्ने छुट दिएको भ्रम पनि परेको देखिन्छ। तर, सबैलाई मिलाएर लैजान नसक्दा फेरि प्रत्युत्पादक हुने खतरा पनि छ।
गत आइतबार मात्र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले दलका तर्फबाट निर्वाचित पदाधिकारीविरुद्ध अभिव्यक्ति दिएका छन्। नगरसभाको १५औँ अधिवेशनको दोस्रो बैठक चलिरहेका बेला जनप्रतिनिधिलाई बोल्न नदिइकनै उनले बैठक स्थगित गरे। जसलाई उनले दलहरूले बहिष्कार गरेको आरोप लगाएका छन् भने दलहरूले बहिष्कार गरेको नभई नगर प्रमुखले आफूहरूलाई बोल्न नदिएको र आफैँ स्थगन गरेको दाबी गरेका छन्। आफूलाई सर्वशक्तिमान सम्झेर अरूलाई बोल्न नदिने अभ्यासले नगरपालिकाभित्र सहयोगी वातावरण बनाउँदैन। स्वतन्त्र ढंगले निर्वाचित व्यक्तिलाई समेत दलीय प्रतिनिधत्वबाट आएका पदाधिकारीहरूले सहयोग नगरेका भए निर्वाचतयता काम सहज हुने थिएन। दलहरूले स्वतन्त्र पदाधिकारीप्रति वक्रदृष्टि नराखी काम गर्ने वातावरण दिएका छन्।
हाम्रो मुलुकले अहिले अंगालेको शासन व्यवस्था बहुदलीयतामा आधारित छ। त्यसैले यस्तो व्यवस्थामा सानो/ठूलो, क्षेत्रीय, जातीय तथा जुनसुकै सिद्धान्त र विचारमा आधारित भएपनि उसको अस्तित्व नकार्न पाइँदैन। नगर प्रमुख बालेनले सामाजिक सञ्जालमार्फत ‘एमाले र कांग्रेसको धङघङी बोकेर नआउन’ जुन उर्दी जारी गरेका छन्, त्यो पनि आपत्तिजनक छ। नगर सभामा सहभागी दलीय प्रतिनिधिले राख्ने धारणा नै दलगत हो। किनकि उनीहरूले त्यसो गरेनन् भने त्यो दलीय सिद्धान्त र मार्गविपरीत हुन्छ। तर बालेनले यति सामान्य कुरा पनि नबुझी दलहरूलाई जुनरूपमा होच्याउने काम गरेका छन्, त्यो सर्वथा अनुचित छ। अहिलेसम्म यी प्रतिनिधिले उनलाई दिएको निःशर्त समर्थनलाई कमजोरीका रूपमा आँकेको बुझ्न सकिन्छ।
बालेनले नाम लिएका कांग्रेस र एमालेका सयौँ गल्ती/कमजोरी छन्। तर पनि अहिले बालेन जे मनलागी गर्न र यिनैलाई होच्याउन पाएका यिनै दलको नेतृत्वमा भएको आन्दोलनको परिणाम हो। मुलुकमा प्रजातन्त्र ल्याउन योगदान गरेका आधारमा यी ठूला दललाई जे गर्न पनि छुट हुनुपर्छ भन्ने पक्कै हैन तर सबैको योगदानको कदर गरेर र अग्रजहरूलाई गच्छेअनुसारको सम्मान गर्दै अघि बढ्ने मात्र सफल हुन सक्छ। यो पक्षमा यसअघि धेरैपटक झैँ यसपटक पनि उनी चुकेका देखिन्छ। आफ्नो समर्थन आधार बलियो रहेको ठान्दै जथाभावी अभिव्यक्ति दिने उनको अहिलेको प्रक्रिया आफैंमा प्रत्युत्पादक हुने दिशामा छ।
छलफल हुन्छ। हुनुपर्छ। छलफलमा विवाद पनि आउन सक्छ। एउटै घरका परिवार त सधैं मिलेर बस्न सक्दैनन् भने एक सय ६० जना जनप्रतिनिधिको एउटै आवाज हुनै सक्दैन। बालेनले यस्तो सोचेका भए र सबैले आफैँले भनेका र सही ठानेका प्रस्तावमा मात्र ल्याप्चे लगाइदिऊन् भन्ने ठानेका भए त्यो उचित होइन। कम्तीमा पनि लोकतन्त्रमा यो सम्भव हुँदैन । विवाद, आलोचना, अन्तरक्रिया, सन्तुलन र नियन्त्रणले लोकतन्त्र फस्टाउने हो। नगर प्रमुख बालेनमा यस्तो चेतना कमजोर छ। बरु उनमा अतिशय दम्भ देखिएको छ।
बालेन अहिले एउटा समूहबीच वाहवाहीको पात्र बनेका छन्। उनले जे गरे पनि उचित ठान्ने र उनका काममा चित्त नबुझेर कसैले आलोचना गर्यो भने त्यसलाई मारौँला झैँ गर्ने जमात खडा गर्न सक्नु उनको मुख्य खुबी हो। अर्कोतर्फ दलका प्रतिनिधिले आममतदाताको मन जित्न नसकेका बेला सानोतिनो नै किन नहोस्, उनले गरेका कामको धेरैले प्रशंसा पनि गरेका छन्। तर यत्तिकैमा उनले आफूलाई सर्वेसर्वा ठानेर पुलकित हुनु जरुरी छैन। मानिस जति अरूको कुरा सुन्न लालायित हुन्छ, जतिनम्र हुन्छ, उसैले मार्ने हो बाजी। जुन लक्षण नगर प्रमुखमा एक रत्ती नदेखिनु महानगरवासीका लागि चिन्ताको विषय हो।
बालेन स्वतन्त्र उठेर जितेका हुन्। त्यसैले उनी कसैप्रति जिम्मेवार हुनुपर्दैन। तर दलबाट उठेर जितेकाहरू आफ्नो दलप्रति जिम्मेवार हुनुपर्छ । यस अर्थमा बालेन मात्र विकासप्रेमी, बाँकी सबै खराब भन्ने जुन छाप छाड्न खोजिएको छ, त्यसले कसैको हित गर्दैन। नगर प्रमुख जस्तो महत्त्वपूर्ण ठाउँमा आसिन बालेनले अहिलेलाई यत्तिबुझे काफी हुन्छ– अरू पनि उनी जस्तै जनताकै मत पाएर जितेका हुन्। र, उनीहरूलाई क्षणिक तालीका लागि जस्तोसुकै निर्णय गर्ने कार्यादेश छैन। उनले आफ्नो कार्यशैली बदल्नु नितान्त आवश्यक छ।
प्रकाशित: ५ असार २०८१ ०६:०४ बुधबार