५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

राजनीति छाडेर कालिज पालन

जुम्लाको तातोपानी गाउँपालिका ४की गंगादेवी उपाध्याय गाउँपालिकाको पूर्व उपाध्यक्ष हुन्। उनले २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर पाँच वर्ष काम गरेकी थिइन्।

पछिल्लो समय उनी राजनीतिकर्मभन्दा पनि कालिजपालक व्यवसायीका रूपमा परिचित छिन्। उनले ‘गौतम पशुपन्छी पालन फार्म’ दर्ता गरी गाउँमै कालिजपालन गरिरहेकी छिन्। उनले आफ्नो जग्गाको तीन हजार सात सय १० वर्गमिटर क्षेत्रफलमा व्यावसायिक रूपमा कालिज पालन सुरु गरेकी हुन्।

कालिज पालन जुम्लामा नौलो अभ्यास हो। उनले पालेको कालिज हेर्न भीड लाग्ने गरेको छ। कोही कालिज पालनसम्बन्धी अनुभव सोधिरहेका हुन्छन् भने कोही आफू पनि कालिजपालन गर्न लागेको बताउँछन्।

गंगादेवीले भनिन्, ‘तातोपानी गाउँपालिकामा व्यावसायिक रूपमा कालिजपालन गरिएको पहिलो पटक भएकाले पनि हेर्न आउनेको भीड लाग्ने गरेको छ। कुखुरा पालन गरिरहेका किसानले पनि कालिजपालन गर्न चासो देखाइरहेका छन्।’

यसअघि कालिज व्यावसायिक रूपमा पालन गर्न सकिँदैन भन्ने भ्रम थियो तर उपाध्यायले पहिलो पटक दुई सय पोथी र ४० वटा भाले कालिज ल्याएर पाल्न सुरु गरिन्। उनीसँग अहिले पाँच सय बढी कालिज, ६ सय बढी रैथाने कुखुरा र २५ वटा हाँस छन्। उनी भन्छिन्, ‘इच्छाशक्ति भए कालिजपालन गर्न कुनै कठिनाइ छैन तर कालिजको रेखदेख गर्न यथेष्ट समय भने दिन सक्नुपर्छ।’

हरेक दिन १० बजेदेखि पाँच बजेसम्म उनी कालिजको हेरचाहमै आफ्नो ध्यान केन्द्रित गर्छिन्।’

उपाध्यायले कालिज पाल्न थालेको दुई वर्ष भयो। खर्च कटाएर उनले महिनाको डेढ लाखदेखि दुई लाखसम्म कमाउँछिन्। गत वर्ष मात्रै २० लाख आम्दानी गरिन्। कालिज दुईदेखि तीन हजार र रैथाने कुखुरा दुई हजारदेखि दुई हजार पाँच सय रूपैयाँमा बिक्री गर्ने गरेको उनी बताउँछिन्।

हरेक दिन कालिज पालेको ठाउँमा दर्जनौं मानिस अवलोकन गर्न आउँछन्। कालिजपालन अवलोकनस्थल जस्तो बनेको छ। त्यहाँ आउनेमध्ये केहीले किनेर घर लैजान्छन्। केही आगन्तुकले कालिजपालन बारे सुझाव पनि दिन्छन्।

उनले भनिन्, ‘कालिजपालनले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुगेको देखियो। उनले कालिजपालनलाई अझ व्यावसायिक बनाउँदै सबैको आकर्षणको केन्द्र बनाउने बताइन्। राजनीति गर्नेले कृषि क्षेत्रमा लगाव राख्दैनन् भन्ने भ्रम चिरेर इच्छा शक्ति हुनेले कृषि क्षेत्रको उत्थान गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्न खोजेको उनले बताइन्।

जुम्ला कालिज पालनको लागि उपयुक्त हावापानी भएको क्षेत्र हो। यहाँ हजारौंको संख्यामा कालिज पालन गरेर आन्तरिक तथा ग्रामीण पर्यटनलाई टेवा पुर्‍याउन सकिन्छ। जुम्लामा हजारौंको संख्यामा कालिज पालन गरेर ग्रामीण पर्यटनलाई बढावा दिने र जंगली कालिजको चोरी सिकारी कम गर्न व्यवसाय थालेको उनले बताइन्।

स्वदेशमै रोजगारी सिर्जना गरी देशको आर्थिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यका साथ व्यवसाय सुरु गरिएको उनका श्रीमान् लक्ष्मीप्रसाद उपाध्याय (दिपक) बताउँछन्। उनले भने, ‘अब कर्णालीमा पनि कालिज पालन गर्न सकिन्छ भन्ने थाहा भयो। यसको सिको बिस्तारै सबैले गर्नेछन्। कर्णाली कालिज पालनको लागि एक नमुना क्षेत्रका रूपमा स्थापित होस् भन्ने चाहन्छु।’

हिमाली हावापानीमा पालिएको कालिज पोषणको दृष्टिले पनि उत्तिकै उत्तम हुने पशुपन्छी विज्ञ बताउँछन्। यहाँको मासुको गुणस्तर र स्वाद निकै फरक भएको ग्राहकले बताइरहेका छन्।

जिल्ला पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापा जुम्लामा पालिएको कालिजको मासुको गुणस्तर र स्वाद निकै फरक हुने बताउँछन्। यहाँ जंगलमा पाइने कालिजको भन्दा यहीं उत्पादन भएर हुर्केको कालिजको मासु स्वादिलो भएको पाइयो।

कालिजको मासु, सेकुवा, सुप लगायतका परिकार बनाइन्छन्। कालिज उत्पादन गरी बजारमा लैजान सक्ने गरी तयारी थालिएको लक्ष्मीप्रसाद बताउँछन्।

पहिलो चरणमा ५० लाख रूपैयाँ लगानी गरी कालिज पालन सुरु गरेका उनले त्यस व्यावसायिक फार्ममा एक करोड रूपैयाँ लगानी पुर्‍याइसकेका छन्। पछिल्लो समयमा कालिजपालन एक आकर्षक व्यवसाय बन्दै गएकाले यहाँका किसान कालिज पालनप्रति आकर्षित हुँदै  गएका छन्।

प्रकाशित: २ माघ २०८० ०५:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App