६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखराको प्याराग्लाइडिङ उडानमा प्राधिकरणको रोक

प्याराग्लाइडिङ उडानमा असुरक्षा बढ्ने सम्भावना रहेको भन्दै हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पोखराको आकाशमा भइरहेको प्याराग्लाइडिङ उडानलाई अनिश्चितकालिन रोक लगाएको छ।  

प्याराग्लाइडिङ व्यावसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना), पाइलट र अरु प्याराग्लाइडिङ व्यवसायीबीच विवाद बढ्दै जाँदाको अवस्थामा उडान जारी राख्दा असुरक्षा हुने भन्दै रोक लगाएको प्राधिकरणले बताएको छ। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले व्यवसायी र पाइलटबीचको विवादका कारण उडानमा जोखिम थपिएकोले अनिश्चितकालिन रोक लगाएको बताए।

‘अहिले छाता संस्था र व्यवसायी तथा पाइलटबीच विवाद चलिरहेको छ। यो बेला उडान गरिरहँदा असुरक्षा हुन सक्छ। सुरक्षामा आँच आउने अवस्थामा उडान गर्न दिने कुरा रहेन,’ निरौलाले भने, ‘एकजुट भएर अघि बढ्नुपर्ने निकाय नै छिन्नभिन्न भएपछि उडानमा असुरक्षा खतरा भयो। त्यसैले सुरक्षालाई ध्यानमा राखेर अनिश्चितकालिन रोक लगाइएको हो।’ पोखरा क्षेत्रको मात्र उडान बन्द गरेको उनले बताए।

व्यवसायी, पाइलट र प्याराग्लाइडिङ व्यावसायीको छाता संस्था बीच विवाद बढ्दै गएपछि बिहीबारदेखि पाइलटले पनि उडान रोकेका थिए। छाता संस्थाले लागु गरेको एकद्वार प्रणालीबाट उडान संचालन गर्नुपर्ने पाइलटको माग रहेको छ। केही व्यवसायीले भने छाता संस्थाले लागु गरेको एकद्वार प्रणाली मान्य नहुने बताएपछि विवाद चुलिएको थियो।

छाता संस्था ना ले विगत डेढ वर्षदेखि प्याराग्लाइडिङ उडानमा एकद्वार प्रणाली लागु गरेको थियो। तर, पछिल्लो समय ५२ मध्ये २१ कम्पनीले ना को त्यो निर्णय नमान्ने बताएपछि छाता संस्थाले आफ्नै व्यवस्थापनमा उडान गर्न सक्ने भनेर निर्णय गरेको थियो तर पाइलटले भने त्यो निर्णय मानेका थिएनन्। एकद्वार प्रणालीबाटै उडान गर्नुपर्ने माग पाइलटले राखेर बिहीबारदेखि उडान रोकेका थिए।

संस्थाका अध्यक्ष सुनिल भट्टराईले व्यवसायी, पाइलट र छाता संस्थाबीच विवाद हुँदा नियमनकारी निकायले चासो दिनु स्वाभाविक भएको बताए। ‘सत्य तथ्य छानबिन गरेपछि मात्र उडान गर्न दिने भनेर प्राधिकरणले केही समयका लागि रोक लगाएको हो। विवादका बीच उडान गरिरहँदा कतै असुरक्षा हुने हो की भनेर नियमनकारी निकायले चासो देखाउनु स्वाभाविक हो,’ भट्टराईले भने, ‘प्राधिकरणको प्रतिवन्धलाई हामीले पनि मान्नैपर्छ। किनकि हेलचेक्र्याइँ हुनु हुँदैन।’

विवादका बीच उडान संचालन गर्दा कुनै घटना भए त्यो बेला राज्यको कमजोरी देखिने भएकोले प्राधिकरण सचेत भएर उडानमा रोक लगाएको उनले बताए । विवादले गर्दा पोखराको आकाशमा विगत दुई दिनदेखि प्याराग्लाइडिङ उडान हुन सकेको छैन।

प्रकाशित: २९ मंसिर २०८० १०:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App