१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः आठमहिनापछि बल्ल अन्तर्राष्ट्रिय उडानबाट आम्दानी गर्दै

पहिलो आम्दानीका लागि आठमहिना कुर्नुपर्योः प्राधिकरण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको आठमहिना पुरा भएको छ। जनवरी १ (२०२३) देखि विमानस्थल औपचारिक रुपमा संचालनमा आएको थियो। अन्तर्राष्ट्रिय भएपनि विमानस्थल अहिलेसम्म आन्तरिक उडानमा मात्र सिमित छ। अन्तर्राष्ट्रिय उडानको पहल भईरहेपनि अहिलेसम्म नियमित उडानको यकिन नभईसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बताइरहेको छ।

आन्तरिक उडानको भरमा विमानस्थल संचालनमा रहिरहँदा आगामि शनिबार भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरासम्म उडान गर्दैछ। पोखरामा ड्रुकको जहाज अवतरणपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको दोश्रो अवतरण हुनेछ। यसअघि चीनको छेन्दुबाट आएको सिचुआन एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। सिचुआनको जहाजपछि ड्रुक आउन थालेको हो। सिचुआनको पनि चार्टर्ड उडान थियो। ड्रुकले उडान गरेपनि यो पनि चार्टर्ड नै हो।  

ड्रुकले चार्टर उडानसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संचालनमा आएको आठमहिनापछि बल्ल अन्तर्राष्ट्रिय उडानबाट आम्दानी गर्दैछ। तर, त्यो पनि नियमित कमाई भने होइन। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीका अनुसार चार्टर भएपनि ड्रुकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पहिलोपटक आम्दानी दिलाउँदैछ। ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई आम्दानी हुनेगरि पहिलोपटक अन्तर्राष्ट्रिय उडान हुँदैछ,’ सुवेदीले भनिन, ‘यसलाई हामीले वास्तविक व्यावसायिक उडान मानेका छौ।’

संचालनको आठ महिना बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थलले अन्तर्राष्ट्रिय यात्रु र जहाजबाट हुने आम्दानी गुमाईरहेको थियो। ‘हुन त यो कमाई निकै नै कम हो, तर, पहिलोपटक आम्दानी गर्दैछ, अन्तर्राष्ट्रिय उडानबाट आम्दानी हुँदैछ,’ उनले भनिन् ।  

यसअघि सिचुआन एयरलाईन्सले उडान भरेपनि त्यो उडानको जहाज फर्किदा यात्रु थिएनन। सिचुआनले पोखरा आउँदा यात्रु ल्याएपनि फर्किँदा रित्तै गएको थियो। ‘यात्रुविहीन अवस्थमा सिचुआनको जहाज फर्केकाले विमानस्थलले आम्दानी गर्न पाएको थिएन,’ उनले भनिन, ‘त्यसअघि हिमालयन एयरलाईन्सले विमानस्थल उद्घाटनको दिन डेमो उडान गरेकोले पनि यात्रु थिएनन।’ अन्तर्राष्ट्रिय उडानबाट कमाई नभएपनि आन्तरिकबाट भने विमानस्थलले आम्दानी गरिरहेको उनले बताईन।

विमानस्थलले एकवर्षका लागि अन्तर्राष्ट्रिय उडानमा लाग्ने ल्याण्डिङ, पार्किङ लगायतमा शुल्क मिनाहा गरेको छ। त्यसैले ड्रुकको थप जहाजबाट आम्दानी हुँदैन। तर, त्यही जहाज चढेर फर्किने यात्रुले तिरेको विमानस्थल कर भने आम्दानी हुने उनले बताईन। ‘अन्तर्राष्ट्रिय उडानका लागि एकवर्षको शुल्क मिनाहा छ। तर, यात्रुले कर तिर्छन, त्यो विमानस्थलको आम्दानी हुन्छ,’ उनले भनिन।  

श्रोतका अनुसार ड्रुकको यो जहाजमा ११८ जना यात्रु पोखराबाट उडेर पारो जाँदैछन्। तर पारोबाट पोखरामा कतिजना आउँदैछन् भन्ने यकिन छैन। अन्तर्राष्ट्रिय उडानमा यात्रुले प्रतिव्यक्ति ३ हजार रुपैयाँका दरले विमानस्थल कर तिर्नुपर्ने सुवेदीले बताईन। ‘संचालनमा आएको आठमहिनापछि अन्तर्राष्ट्रिय उडानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पहिलो पटक साढे ३ लाख रुपैयाँ आम्दानी गर्नेछ,’ उनले भनिन, ‘यात्रु नभएको भए आम्दानी हुने थिएन। यात्रुले तिर्ने कर नै आम्दानी हो। पहिलोपटक आम्दानी गर्न नै आठमहिना कुर्नुपर्यो।’  

उनका अनुसार पारोबाट पोखरा आएको जहाज त्यहिदिन एकघण्टा पछि पोखराबाट सिधै पारोका लागि उडान भर्नेछ। न्यारोबडी जहाजले यहाँ उडान भर्ने उनले बताइन। एयरबस ३१९ वा ३२० मध्ये एउटा जहाज पोखरा आउने उनले बताईन।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन झन्डै २२ अर्ब रुपैयाँ लागत परेको छ। ठूलो लागत परेको विमानस्थलको आम्दानी भने कम हुँदा त्यसले विमानस्थलको खर्च समेत धान्न नसक्ने अवस्था रहेको केहीदिन अघि पोखरा आएका अर्थमन्त्री डा.प्रकाशशरण महतले पनि बताएका थिए। गत सोमबार पोखरामा आयोजित एक कार्यक्रममा अर्थमन्त्री महतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले अब सावाब्याज तिर्नेुपर्ने भएपनि त्यो कमाउन नसकेको बताएका थिए।  

विमानस्थलले संचालन खर्च समेत जुटाउन नसकेको पनि अर्थमन्त्री महतको भनाई थियो। ‘हामी पनि अन्य व्यावसायी जत्तिकै चिन्तित छौ। कसरी हुन्छ विमानस्थललाई अन्तर्राष्ट्रिय गन्तव्यमा जोड्न सकिन्छ भनेर काम गरिरहेका छौ,’ उनले भने, ‘विमानस्थलको आर्थिक अवस्था चूनौतीको विषय छ। विमानस्थललाई कहाँ र कसरी हवाई सञ्जालमा जोड्ने भन्नेमा हामीले पनि कोशिष गरिरहेका छौं।’

प्रकाशित: २१ भाद्र २०८० ११:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App