उनी एकतमासले अहिल्यालाई कराइरहेकी थिइन्, “अधर्मी। गतिछाडा।”
“कसरी म अधर्मी? गतिछाडा कसरी भएँ? प्रेम गर्नु अपराध हो।” अहिल्या प्रतिवाद गर्दै थिई।
प्राय: आमाछोरीको ठाकठुक परिरहन्छ। आमाको पुरानै सोच छ। छोरी आधुनिक सोचकी छे। यी दुई बिच कहिल्यै मेल हुने वातावरण बन्न सकेन। बाबु जोइटिङ्ग्रे। केही निर्णय दिनै नसक्ने। ऊ आमा र छोरीको चेपुवामा परेको छ।
छोरी विएससीकी विद्यार्थी हो। उसको हिमचिम विएससीकै अनिलसँग छ भन्ने गाइँगुइँ हल्ला छ। आमाले पनि त्यो हल्ला सुनेकी छे। बाबु सुनेको नसुन्यै गर्छ। अहिल्या र अनिल एक आपसमा प्रेम गर्छन्। यो कुरा आमालाई मन परेको छैन। जातभात नमिल्नेसँग गरेको प्रेम उसलाई असह्य छ।
अनिलसँग प्रेम नगर्न उसले छोरीलाई धेरै सम्झाई। उसले जात,भात, धर्म, कर्म, कुल घरानको इज्जत सत्यानाश पार्ने भनेर छोरीलाई सधै टोकसी। लोग्नेलाई एउटा केटा खोज्नुस्। यसको विहे गरिदिऊँ भनेर पटकपटक भनी।
लोग्नेले जुँगामा ताउ नै लाएन। ऊ पढेलेखेको र सरकारी जागिरे भएकाले छोरीको भावना विपरीत विहे गरिदिए त्यो घरबार सफल नहुने ठानिरहेको थियो। कताकति उसमा पनि खिन्नता त थियो नै।
राम्रै ठाउँ र राम्रै केटो पाइहालिन्थ्यो। यो अहिल्याले पनि के गरेकी हो? अब मैले के भन्ने? श्रीमतीलाई भनूँ श्रीमती रिसाउने। छोरीलाई भनूँ छोरी रिसाउने। ऊ अन्याेलमा परेकाे छ।
समय परिवर्तनशील छ। अहिल्याले अनिल माया मार्न सकिनँ।
“जातभात नमिलेर के भो? मन मिलेकै छ। पढाइ मिलेकै छ। म आफ्नो निर्णयबाट पछि हट्न सक्तिनँ। परम्परावादी सोच त्याग्नै पर्छ। जातभातले अबको प्रेम रोकिनु हुँदैन।”
अहिल्याले दृढतापूर्वक आमा र बाबुसमक्ष उसको कुरा राखी।
आमा छाँगाबाट खसे जस्ती भइन्। बाबु केही बोलेनन्। अहिल्या र अनिलको कथा टोलभरि चर्चाको विषय बनेको छ- के अनिल र अहिल्याको प्रेमले सामाजिक रूपान्तरण गर्ला त?
प्रकाशित: १९ चैत्र २०८१ १२:३६ मंगलबार