उदयपुरको कटारीमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनामा साइकल यात्रीको मृत्यु भएको छ।
कटारी नगरपालिका-४ मुसहरी टोलस्थित मदन भण्डारी लोकमार्गमा दिउँसो ३:२० बजे मोटरसाइकलले साइकललाई ठक्कर दिँदा सिन्धुलीको दुधौली नगरपालिका-५ घारीथुम्सीका ७१ वर्षीय अमरबहादुर सुनुवारको निधन भएको हो।
दुर्घटनामा गम्भीर घाइते सुनुवारलाई उद्धार गरी कटारी अस्पताल पुर्याइए पनि ४:१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
कटारीबाट सिन्धुलीतर्फ जाँदै गरेको प्रदेश २-०१-००३ प ५४२२ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
मोटरसाइकल चालक कटारी-६ गेरुवाका २३ वर्षीय अनन्त मगर र पछाडि सवार एक जना घाइते भएका छन्। उनीहरूको कटारी अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ।
मोटरसाइकल इलाका प्रहरी कार्यालय कटारीमा राखी थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।
प्रकाशित: २१ चैत्र २०८१ २०:४४ बिहीबार





