७ माघ २०८२ बुधबार
image/svg+xml
खेल

विशेष कार्यक्रमबीच किन्डर ओलम्पिक उद्घाटन

 चार हजारभन्दा बढी बालबालिकाले प्रतिस्पर्धा गर्ने  एनएसएसएफ १३औं किन्डर ओलम्पिक एक विशेष कार्यक्रमका बीच सुरु भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार १३औं किन्डर ओलम्पिक विशेष कार्यक्रमका बीच उद्घाटन भएको हो। साना बालबालिकाको नृत्य, मार्च पास्ट र ओलम्पिक टर्च र डेमोन्स्ट्रेसन लगायत किन्डर ओलम्पिकको आकर्षण रह्यो। सभामुख देवराज घिमिरेले उक्त एनएसएसएफ १३औं किन्डर ओलम्पिकको उद्घाटन गरेका थिए।

सभामुख घिमिरेले ओलम्पियन कमलबहादुर अधिकारीलाई किन्डर ओलम्पिकको टर्च हस्तान्तरण गरी उद्घाटन गरेका हुन्। कमलसँगै ओलम्पियन एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र कबड्डीकी मानमति विष्टले टर्चलाई दशरथ रंगशालाको ट्रयाकमा परिक्रमा गराएका थिए।

पहिलो चरणको किन्डर ओलम्पिकमा उपत्यकाका विभिन्न ३४ विद्यालयका एक हजार पाँच सय ४० विद्यार्थीको सहभागिता रहेको आयोजक नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) का महासचिव राजकुमार कार्कीले जानकारी दिए।

विद्यार्थीले मार्च पास्ट गर्नुका साथै विभिन्न खेलको प्रतिस्पर्धा पनि भएको थियो। दशरथ रंगशालामै पुस १५ गते हुने दोस्रो चरणको कार्यक्रम हुनेछ। ६७ विद्यालयका करिब एक हजार ६ सय विद्यार्थी सहभागी हुनेछन्। एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहतालगायतको उपस्थिति रहेको थियो।

सानै उमेरदेखि बालवालिकालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले किन्डर ओलम्पिक आयोजना गरिएको आयोजकले जनाएको छ। यसअघि पुस ४ गते शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेले किन्डर ओलम्पिकको मस्कट अनावरण गर्नुका साथै अध्यक्ष श्रेष्ठलाई टर्च हस्तान्तरण गरेका थिए।

विगतमा एकता र अपेन लगायत विभिन्न संस्थाहरूले किन्डर ओलम्पिक आयोजना गर्दै आएका थिए। विद्यालय खेलकुदको सबै तहको नियमन गर्ने अधिकारी संस्था नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) अन्तर्गत रही एनएसएसएफ १३औं किन्डर ओलम्पिक आयोजना भएको छ।  

प्रकाशित: १३ पुस २०८२ १०:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App