२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

माइतीघरमा उखु किसान र मिटरब्याज पीडित रुँदा टुलुटुलु हेरेर बस्नुपर्‍यो: बालेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौंको मेयर हुँदा अधिकार क्षेत्रको सीमितताका कारण मधेसबाट गएका पीडितहरूको आँसु पुछ्न नसकेको भन्दै दुखेसो पोखेका छन्।

सोमबार जनकपुरधाममा आयोजित ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन गर्दै उनले माइतीघर मण्डलामा उखु किसान र मिटरब्याज पीडितहरूले आन्दोलन गरिरहँदा आफू मुकदर्शक बन्नुपरेको यथार्थ सुनाए।

आफ्नो सम्बोधनका क्रममा भावुक हुँदै बालेनले भने, ‘तपाईंहरू काठमाडौंको माइतीघरमा आएर महिनौँसम्म आन्दोलन गर्नुभयो। उखु किसान र मिटरब्याज पीडितहरू त्यहाँ रोइरहँदा म त्यो नगरको मेयर थिएँ, तर मैले टुलुटुलु हेरेर बस्नुबाहेक केही गर्न सकिनँ।’

उनले आफूसँग काठमाडौंको सडक सफा गर्ने, एम्बुलेन्स पठाउने वा महानगरको व्यवस्थापन गर्ने अधिकार भए पनि किसानको बक्यौता उठाइदिने वा मिटरब्याज पीडितलाई न्याय दिने अधिकार नभएको स्मरण गरे।

‘तपाईंहरूको समस्या समाधान गर्ने साँचो सिंहदरबारमा थियो, मसँग थिएन,’ बालेनले भने, ‘मधेसबाट न्याय माग्न काठमाडौं पुगेका आफ्नै दाजुभाइ दिदीबहिनीहरू सडकमा सुतिरहेको देख्दा मेरो मन रोयो। एउटा मेयरको रूपमा मैले चाहेर पनि तपाईंहरूको मुद्दा समाधान गर्न सकिनँ।’

सोही पीडाबोध र अनुभवले आफूलाई सिंहदरबारको अधिकार प्रयोग गर्ने ठाउँमा पुग्न प्रेरित गरेको उनले बताए। ‘अब मेयर भएर मात्र पुग्दैन, त्यो ठाउँमा (प्रधानमन्त्री) पुगेर तपाईंहरूको आँसु पुछ्न चाहन्छु,’ बालेनले भने।

प्रकाशित: ५ माघ २०८२ १६:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App