नेपाल रग्बी संघको १३औं वार्षिक साधारणसभाले आफ्नो एक करोड ३५ लाख रुपैयाँको बजेट पास भएको छ।
काठमाडौंमा शनिबार आयोजित साधारण सभामा संघका कोषाध्यक्ष दीपक अधिकारीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो। सभामा अधिकारीले अर्को वर्षको लागि कुल एक करोड सात लाखको अनुमानित बजेट पेस गरेका थिए।
सात प्रदेश, ५८ जिल्ला र सात वटा राष्ट्रिय क्लबको सहभागिता रहेको साधारण सभामा संघका अध्यक्ष दीपक देवकोटाले संघको दायरा बढाउँदै विदेशमा पनि शाखा खोल्ने प्रस्ताव पेश गरेका थिए। साधारणसभाले त्यसलाई सर्वसम्मत रूपमा पास पनि गरेको छ।
‘नेपालमा टिम गेममा रग्बीको भविष्य निकै राम्रो छ। त्यहीअनुरूप हामीले पनि अभियान थालिरहेका छौं,’उनले भने, ‘अन्तर्राष्ट्रिय प्रायोजक खोज्न सके र अन्तर्राष्ट्रिय हाम्रा सहकर्मीहरूको साथले यो अभियानलाई थप अगाडि बढाउन सक्छौं।’
यस्तै संघका महासचिव गोविन्द घिमिरेले यस वर्षको कार्य प्रगति विवरण र आगामी वर्षको संघको योजना प्रस्तुत गरेका थिए। यस वर्ष रग्बीले बंगलादेशमा सम्पन्न रग्बी सिरिज जितेर इतिहास रचेको थियो। दशरथ रंगशालामा १७ देशको सहभागितामा पुरुष तथा महिला एसिया रग्बीको आयोजना गरेको थियो।
उक्त प्रतियोगितामा महिला टोलीले उज्बेकिस्तानलाई पराजित गरेको थियो। महासचिव घिमिरेले प्रस्तुत गरेको आगामी वर्ष २०२६ को भावी योजनामा भने विद्यालय तहको प्रतियोगितालाई प्राथमिकता दिएको छ। यसअघि साधारण सभाको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहताले उद्घाटन गरेका थिए।
सो अवसरमा उनले रग्बीको वर्ष २०२५ को उत्कृष्ट पुरुष खेलाडी आर्मीका नवीनबहादुर मगर र महिलामा आर्मीकै मनीषा घिसिङलाई पुरस्कृत गरेका थिए। उनले राखेपमा भर्खरै सदस्य नियुक्त भएका रग्बी संद्दका सदस्य सन्तकुमार मेहता, अञ्जना श्रेष्ठ मास्के र मधेस प्रदेश खेलकुद विकास परिषद्का बोर्ड सदस्य निशेषकुमार श्रेष्ठलाई सम्मान गरे।
समापन समारोहका प्रमुख अतिथि राखेपका निवर्तमान सदस्यसचिव टंकलाल घिसिङले रग्बीलाई व्यावसायिक बनाउन सबै पक्षले पहल गर्नुपर्ने बताए। उनले रग्बीको स्थायी खेल स्थल निर्माणमा जोड दिँदै यसमा पहल सुरु भइसकेकोले पुरा गर्नमा सबैले जोड दिनुपर्ने बताए।
प्रकाशित: १३ पुस २०८२ ११:०५ आइतबार





