भोलि हुने प्रतिनिधिसभा निर्वाचनमा चर्चामा रहेका केही शीर्ष नेताहरूले आफैँलाई भोट हाल्न पाउने छैनन्। उनीहरू उम्मेदवारी दिएको निर्वाचन क्षेत्रभन्दा फरक स्थानमा मतदाता भएकाले आफ्नो निर्वाचन क्षेत्रमा मतदान गर्न नपाउने भएका हुन्।
गगन थापा
नेपाली कांग्रेसका सभापति थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार बनेका छन्। यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका उनी अहिले सर्लाहीमा प्रतिस्पर्धामा छन्। तर उनले भने काठमाडौंको मैतीदेवीस्थित मयुर कुण्ड मतदान केन्द्रबाट मतदान गर्नेछन्।
रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने चितवन–२ बाट उम्मेदवार छन्। तर उनले काठमाडौंको चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेडको महाँकाल मतदान केन्द्रबाट मतदान गर्ने उनको सचिवालयले जनाएको छ।
बालेन्द्र साह
रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका वरिष्ठ नेता साह झापा–५ बाट चुनाव लडेका छन्। तर उनले काठमाडौं महानगरपालिका–९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय मतदान केन्द्रबाट मतदान गर्नेछन्।
केपी शर्मा ओली
नेकपा एमालेका अध्यक्ष ओली झापा–५ बाट निरन्तर विजयी हुँदै आएका छन्। तर उनले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नेछन्।
पुष्पकमल दाहाल
नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड चितवन–३ बाट उम्मेदवार छैनन्, तर त्यही क्षेत्रको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गर्नेछन्। यसपटक उनी भने रुकुम पूर्वबाट उम्मेदवार बनेका छन्। चितवन–३ मा उनकी छोरी रेनु दाहाल उम्मेदवार छिन्।
प्रचण्ड सचिवालयका अनुसार भोलि चितवनमा मतदान गरेपछि उनी रुकुम पूर्व जाने कार्यक्रम तय गरिएको छ।
यसरी, उम्मेदवारी दिएको क्षेत्रभन्दा फरक स्थानमा मतदाता नामावली दर्ता भएकाले शीर्ष नेताहरूले आफैँलाई मत हाल्न नपाउने भएका छन्।
प्रकाशित: २० फाल्गुन २०८२ १९:१७ बुधबार





-600x400.jpg)