२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml १:१४ पूर्वाह्न
स्वास्थ्य

प्रदूषणले बढे आँखाका बिरामी

वायु प्रदूषणले धुम्मिएको काठमाडौं। तस्बिर: दिपेश दर्शनधारी/नागरिक

काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्दै गएपछि आँखामा एलर्जीलगायत समस्या देखिन थालेको अस्पतालहरूले जनाएका छन्। बिपी कोइराला आँखा अस्पतालका अनुसार केही दिनयता अस्पतालमा आँखा चिलाउने, पोल्ने, थाकेको अनुभूति हुनेजस्ता समस्या लिएर उपचार गर्न आउने मानिसको संख्या बढेको छ। अस्पतालकी नेत्ररोग विशेषज्ञ डा. रन्जु सिटौलाले अस्पताल आउनेमध्ये १५ प्रतिशतमा प्रदूषणसँग सम्बन्धित समस्या देखिएका छन्। यो अस्पतालमा दैनिक पाँच सयजना आँखाका विरामी उपचारमा आउँछन्।

नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले पनि एक सातादेखि वायु प्रदूषणसँग सम्बन्धित बिरामी आउन थालेको जनाएको छ। अस्पतालका अनुसार बिरामीले आँखा पोल्ने, चिलाउने, पिरो हुने, आँखा खोलेर हेर्दा असहज हुने लगायत सिकायत गरेका छन्। यो अस्पतालमा उपचारका लागि आएका कुल बिरामीमध्ये १२ प्रतिशतमा यस्तो समस्या देखिएको छ। यस अस्पतालमा दैनिक सात सय बिरामी उपचारका लागि पुग्छन्।

आँखाका बिरामीमा सामान्य, मध्यमदेखि उच्च तहसम्मको समस्या देखिएको र सोहीअनुसारको उपचार गरिररहेको बिपी कोइराला आँखा अस्पतालकी  डा. सिटौलाले बताइन्। ‘कतिपय बिरामीलाई आँखा संक्रमण भएर पाक्न थालेपछि एन्टिबायोटिकसमेत दिन थालेका छौं,’ उनले भनिन्। आँखाका बिरामी चार दिनयता ह्वात्तै बढेको उनको भनाइ छ।

एलर्जीको समस्या लिएर आएका आँखाका बिरामी प्रदूषणसँग सम्बन्धित रहेको डा. सिटौलाको भनाइ छ। ‘प्रदूषणले आँखाको सतही भागमा असर पारेको छ,’ उनले भनिन्। रसायनयुक्त प्रदूषण आँखामा पसेपछि एलर्जी बढेको उनले बताइन्।

काठमाडौं उपत्यकासहित छिमेकी देशका प्रमुख सहरमा उच्च वायु प्रदूषणका कारण आँखाका बिरामी बढेको नेपाल आँखा अस्पतालका नेत्र विशेषज्ञ डा. इन्दुप्रसाद ढुंगेलले बताए।

उनका अनुसार यो मौसममा दुई प्रकारको प्रदूषणका कारण आँखामा एलर्जीजन्य समस्या बढेको हो। प्रदूषित वायुमा धुलोको दुई किसिमका कण हुन्छन्। एउटा माटोमै गएर टाँसिन्छ अर्को आँखा वा श्वासप्रश्वास नलीको माध्यमबाट शरीरभित्र प्रवेश गर्छ। जसका कारण आँखा र नाकमा एलर्जीको समस्या बढेको देखिन्छ। आँखा तथा नाकमा रासायनयुक्त कण र रुखबिरुवा फुल्दा खस्ने धुलोको कण प्रवेश गरेपछि एलर्जी हुन्छ।

चिकित्सकले पानी नपरुन्जेल वा प्रदूषण नघटुन्जेल एलर्जीलगायतका समस्या हुने भएकाले सतर्क हुन सुझाएका छन्। यस्तो वातावरणमा सकेसम्म घरबाहिर ननिस्कने, निस्कनै परेमा सवारीसाधनको प्रयोग गर्ने, आँखा छोप्ने खालको चस्मा लगाउनुपर्छ।

घरबाहिर गएर आएपछि सफा पानीले आँखा धुने र आँखामा एलर्जी भए चिकित्सकको सल्लाहबमोजिम आइड्रप या अन्य औषधि प्रयोग गर्न सकिन्छ। एलर्जीले आँखा पोलेमा आइसप्याकले पनि सेक्न सकिने चिकित्सक बताउँछन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा केही सातादेखि वायु प्रदूषण बढ्दा त्यसको असर जनस्वास्थ्यमा परेको जनाएको छ। जनस्वास्थ्य हितका लागि सूचना जारी गर्र्दै मन्त्रालयले सबैलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्युआई) सूचकांकअनुसार केही दिनदेखि नेपाल अत्यधिक प्रदूषित देशको सूचीमा परेको छ।  

एक्युआई मापनअनुसार शून्यदेखि ५० सम्म स्वच्छ, ५१ देखि एक सयसम्म सामान्य, एक सय एकदेखि एक सय ५० सम्म सम्भावित जोखिम, एक सय ५१ देखि दुई सयसम्म अस्वस्थकर, दुई सय एकदेखि तीन सयसम्म अत्यधिक अस्वस्थकर र तीन सय एकभन्दा माथि खतरनाक मानिन्छ। एक्युआई मापनअनुसार हाल काठमाडौंको वायु प्रदूषण खतरनाक तह  (तीन सय ४८) मा पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले वायु प्रदूषणका कारण दम, फोक्सोसम्बन्धी समस्या, आँखा, नाक, घाँटी र छालामा समस्या, हृदय रोग तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिनसक्ने भएकाले संवेदनशील समूहमा पर्ने बालबालिका, वृद्धवृद्धा, गर्भवती दीर्घरोगीलाई विशेष सतर्कता अपनाउन सुझाएका छन्।

स्वास्थ्य मन्त्रालयले वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, यात्रा गर्दा अनिवार्य रूपमा मास्क र चश्मा लगाउन, अत्यधिक प्रदूषित क्षेत्रमा नजान, कुनै समस्या देखिए चिकित्सकको सम्पर्कमा जान सबैलाई अपिल गरेको छ।

प्रकाशित: २२ चैत्र २०८१ ०६:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App