जुम्लामा पछिल्ला वर्षहरूमा लागुऔषध दुरुपयोग गम्भीर समस्या बन्दै गएको छ। किशोरकिशोरीदेखि युवावर्गसम्म ब्राउन सुगर जस्ता कडा लागुऔषधको कुलतमा फस्न थालेका छन्।
प्रहरीले विभिन्न स्थानमा सञ्चालन गरेको अपरेशनमा २० देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरू लागुऔषधसहित पक्राउ परिरहेका छन्।
गत पुस १२ गते तातोपानी गाउँपालिका–५ का नन्दलाल सार्की (२९), पंकज सार्की (२०) र प्रवेश नेपाली (२०) लाई २४ पुरिया ब्राउन सुगरसहित पक्राउ गरिएको थियो।
त्यसपछि पुस १६ गते चन्दननाथ नगरपालिका–९ उमगाडका २० वर्षीय सुनिल कामीलाई एक पुरिया लागुऔषधसहित नियन्त्रणमा लिइएको थियो।
यस्तै, तातोपानी गाउँपालिका–६ का रोशन कठायत, सुरेन्द्र डाँगी र सिंजा गाउँपालिका–२ का जीवन खत्रीलाई समेत ब्राउन सुगरसहित पक्राउ गरिएको थियो।
हालै चन्दननाथ नगरपालिका–६ का रविन्द्र रोकायालाई विशेष सूचनाको आधारमा प्रहरीले छिना गाउँबाट नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार रोकायाको साथबाट ४ पुरिया ब्राउन सुगर (कुल २२० मिलिग्राम) बरामद गरिएको थियो।
प्रारम्भिक बयानमा उनले आफ्नै कोठामा थप लागुऔषध लुकाएको स्वीकृति दिएपछि प्रहरीले थप खोजी गर्दा काठको खटियाको भुइँमुनि लुकाइएको २ पुरिया (१७० मिलिग्राम) ब्राउन सुगर फेला पारेको थियो।
डिएसपी छेदिलाल कामतीका अनुसार, सडक पहुँच विस्तारपछि ब्राउन सुगर बजार क्षेत्रबाट सिधै गाउँटोलसम्म सहज रूपमा फैलिन थालेको छ, जसको प्रत्यक्ष असर ग्रामीण बस्तीमा देखिन थालेको छ।
‘‘गाउँघरमै लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दो छ,’’ उनले बताए।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार चालु आर्थिक वर्षमा हालसम्म लागुऔषधसम्बन्धी १७, चरेसका २ र ट्रामाडोलको १ गरी जम्मा २० वटा मुद्दा दर्ता भएका छन्।
तीमध्ये २८ जना प्रतिवादी पक्राउ परेका छन्। अघिल्ला वर्षहरूसँग तुलना गर्दा यो संख्या क्रमशः बढ्दो क्रममा रहेको तथ्यांकले देखाउँछ।
आर्थिक वर्ष २०७७/०७८ मा १४ जना, २०७८/०७९ मा १३ जना, २०७९/०८० मा २५ जना र २०८०/०८१ मा २६ जना लागुऔषधसहित पक्राउ परेका थिए।
यसैबीच, प्रहरीले २०७७/०७८ मा ६८० मिलिग्राम ब्राउन सुगर र १०४ ग्राम चरेस बरामद गरेको थियो।
२०७८/०७९ मा १०५ मिलिग्राम ब्राउन सुगर, ७६.६२ ग्राम चरेस, २४१ थान ट्रामाडोल र कोलोनोजेपाम ट्याब्लेट बरामद गरिएको थियो।
हालै सम्पन्न आर्थिक वर्ष २०८०/०८१ मा भने १०.४७७ ग्राम ब्राउन सुगर, ३० थान ट्याब्लेट र १८७.६४८ ग्राम चरेस फेला परेको प्रहरीको तथ्यांक छ।
लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार गाँजा सेवन गरेमा अधिकतम एक महिनासम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ।
यस्तै, २५ बोटसम्म गाँजा खेती गरेमा तीन महिना कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना र सोभन्दा बढी बोट खेती गरेमा तीन वर्षसम्म कैद वा पाँच हजारदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ।
बारम्बार अपराध गरेमा थप पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था ऐनमा उल्लेख छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषध नियन्त्रणका लागि निरन्तर रूपमा निगरानी, सूचना संकलन तथा नियन्त्रण कारवाहीलाई तीव्र बनाइरहेको जनाएको छ।
तर, समस्या समाधानका लागि कानुनी कारबाहीसँगै समाजमा सचेतना अभिवृद्धि, युवावर्गको मनोपरामर्श, पुनःस्थापना र रोजगारीको अवसर सुनिश्चित गर्नेतर्फ समेत ध्यान दिनुपर्ने आवश्यक देखिन्छ।
प्रकाशित: २८ चैत्र २०८१ २३:०४ बिहीबार





