तीन दिनदेखि फोहरवाला आएको थिएन। भात, दाल, तरकारी, फलफूलको रहलपहल, सेनेटरी प्याड, चाउचाउ, दुधका खोल अनेक फोहरले गन्धको साम्राज्य फैलाइसकेका थिए।
टाउकोमा टालो बाँधी पुरानो फिल्मको हिरोझैं नक्कल गर्ने फोहरवाला केटो सम्झँदै रिसको पारो चढ्यो। सोमबार: फोहर लिन मूल सडकबाट सिट्टी बजाउँदै रहेछ। रिसाएर काम थिएन। फोहरबाट निस्केको दुर्गन्धित पानी चुहाउँदै दौडिएँ। भित्री गल्लीमा किन नआएको भन्दै गाली गरेर तर्साउन खोजेँ। बिरामी छु भन्दै थियो। बहाना चल्दैन, अब नआए ठीक हुन्न भनिदिएँ।
मङ्गलबार: आकाश छुने फोहरको चाङमा बसेर तलबाट फालेको फोहर बास्केटबलझैँ समातेर राख्दै रहेछ। मलाई देखेर ङिच्च दाँत देखायो। उसले समात्दै गरेको फोहर हातबाट छुटेर आफूलाई लाग्ला भनी तर्केर हिँडेँ।
बुधबार: कार्यालय जाँदै थिएँ। चोकको चियापसल अगाडि दुवै हातमा प्लास्टिक बाँधेर चिया र दुनट खाँदै रहेछ। कसरी खान सकेको त्यस्तो फोहरमा डुबेर भन्ने सोची दिगमिग मान्दै हिँडेँ।
बिहीबार: फोहरवाला अझसम्म आएन। कार्यालय जान ढिलो भैसक्यो। आ फाल्दिनँ आज फोहरसोहर भन्दै निस्किएँ। सिन्को नभाँच्ने छोराछोरीसँग सँगै फोहरवालालाई सरापेँ।
शुक्रवार: आज पनि फोहरवाला आएन। राति फोहरको गन्धले हो वा फोहर छ भन्ने सोचाइले हो भातै रूचेन। सुटुक्क फोहर उठाएँ र कसैले नदेख्ने गरी चोकको भित्तापट्टि लगेर फालिदिएँ। फोहरवालालाई आफूले स्कुले हुँदा सिकेको गाली उच्चारण गर्दै रिस मारेँ।
शनिबार: विहान दुध लिन जाँदा आफूले फालेको फोहर रातभरि कुकुरले लुछाचुँडी गरेर असरल्ल छरेको देखेँ। आफ्नो घरबाट फालेको हो भनी प्रमाण पुग्ने केही सङ्केत फोहरमा छ कि भनी हत्तपत्त नियालेँ। त्यस्तो नपाएपछि ढुक्कै ठूलो स्वरमा चोकमा फोहर फाल्ने अज्ञात भलाद्मीलाई सम्बोधन गरी प्रवचन दिएँ।
प्रकाशित: २८ चैत्र २०८१ १३:१० बिहीबार





