१३ पुस २०८२ आइतबार
image/svg+xml
समाज

दुर्गा प्रसाई भारतबाट पक्राउ

राजसंस्था पुनः स्थापनाको मागसहित भएको प्रदर्शनमा हिंसात्मक गतिविधिको नेतृत्व गरेका दुर्गा प्रसाईँ भारतमा फेला परेका छन्।

उनलाई भारतको आसाम राज्यमा ट्र्याक गरी भारतीय प्रहरीले पक्राउ गरेको हो।

एक उच्च प्रहरी स्रोतका अनुसार भारतीय सुरक्षा अधिकारीसँग समन्वय गर्दै उनलाई काँकडभिट्टा नाका हुँदै नेपाल ल्याउने तयारी भइरहेको छ।

प्रसाईँ निकट एक व्यक्तिले पनि उनको पक्राउ पुष्टि गरे। तर, उनले ‘प्रसाईंले आफ्नै सुरक्षाको लागि भारतको आसाम राज्यको प्रहरी समक्ष आत्मसमर्पण गरेको’ दाबी गरेका छन्।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा ‘राजवादी जनआन्दोलन’ का नाममा भएको प्रदर्शन हिंसात्मक बनेपछि दुई जनाको मृत्यु भएको थियो।

प्रदर्शनमा सरकारी र निजी सम्पत्तिमा व्यापक तोडफोड, आगजनी र लुटपाट गरिएको थियो। सो आन्दोलनको नेतृत्व प्रसाईँले गरेका थिए।

उक्त दिनको घटनापछि प्रसाईँ फरार थिए। तीनकुनेमा प्रहरीलाई नै गाडीले ठक्कर दिँदै अघि बढेको भिडियो सार्वजनिक भएपछि उनी सम्पर्कविहीन बनेका थिए।

फरार भएका प्रसाईँले सामाजिक सञ्जालमार्फत दुई वटा भिडिओ सन्देश सार्वजनिक गर्दै आफूलाई असुरक्षित महसुस भएको र त्यसकारण ‘लुकेर बसेको’ दाबी गरेका थिए।

बुधबार मात्रै पनि उनले फेरि अर्को भिडिओ सार्वजनिक गर्दै आफू भागेको नभई ‘बाँच्न लुकेको’ बताएका थिए।

तर, प्रहरी स्रोतका अनुसार उनी लामो समयसम्म सामाजिक सञ्जालसमेत नचलाएर गुपचुप बसेका थिए। नेपाल प्रहरीको विशेष ब्युरोको टोली विशेष सूचनाको आधारमा भारतसम्म पुगेपछि उनलाई ट्र्याक गर्न सफल भएको हो।

तीनकुने घटनापछि राप्रपाका नेताहरू धवलशमशेर राणा, रविन्द्र मिश्रलगायतलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको छ।

यता, नेपाल प्रहरीका प्रवक्ता, नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यले घटनाबारे आधिकारिक जानकारी आफूसम्म आइनपुगेको प्रतिक्रिया दिएका छन्।

प्रकाशित: २८ चैत्र २०८१ २१:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App