सुर्खेतको गुर्भाकोट नगरपालिकामा दाउराले टाउको र खुट्टामा प्रहार गर्दा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका-८ सुन्दरनगर निवासी ६२ वर्षीय मानबहादुर राजी रहेका छन्।
प्रहरीका अनुसार सोही ठाउँका ४० वर्षीय टेकबहादुर विकले सोमबार बिहान अजय परियारको घरको आँगनमा राजीमाथि चिर्पट (दाउरा) प्रहार गरेका थिए। टाउको र बायाँ खुट्टामा चोट लागेर घाइते भएका राजीलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत लगिएको थियो।
त्यहाँ उपचारका क्रममा स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। उनको शव पोस्टमार्टमका लागि मेहेलकुना अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ।
घटनापछि तत्काल खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न टेकबहादुर विकलाई नियन्त्रणमा लिएर कार्यालयमा राखेको छ। घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित: ११ कार्तिक २०८३ १०:२६ बुधबार





