११ वैशाख २०८२ बिहीबार
image/svg+xml १८:१६ अपराह्न
कला/संस्कृति

नीलाभ पिएको पाँचपोखरी र पद्मसंभवको मन

यात्रानिबन्ध

जीवनको एकरूपता भङ्ग गर्न म यात्रा गर्छु। म बाँचेको परिवेशले फैलाएका कृत्रिम लहरापातमा जब बेस्सरी जेलिन पुग्छु तब मेरो थुनिँदै गएको स्वासनली कसिँदै गएका नसानदी, लेउ लाग्दै गएका पैताला अनि भुत्ते हुँदै गएका मनमगजलाई अर्जाप्न कतै पहाडतिर निस्कन्छु। जहाँ म रुखहरूसँग निर्धक्क मन खोल्न सक्छु। हावामा हल्लिएका उन्यूँलाई हात हल्लाउँदै भुइँकुहिरो जसरी पाखैभरि रङमङिन सक्छु। मलाई मिठो देखेर कुरिबसेका खरी जुकालाई छक्याउँदै म लेक उक्लन सक्छु, चौँरी गाईको आकर्षणले खर्कमा दौडन सक्छु। बेपर्वाह पहाडी खोलामा पौडन सक्छु। म जब निसासिन्छु भीडमा एक्लो हुन्छु, तब म आफैँलाई खोज्न यात्रामा निस्कन्छु।

तिहारको मुखमा पाँचपोखरी जाने मेरो योजनामा घरका सदस्यहरू म जत्तिकै खुसी हुन नसक्नु मैले स्वाभाविक मानें। २०७९ को दसैँमा घुम्न जान बनाएको योजना डेङ्गी ज्वरोले ओछ्यान परेको थियो। पेटका लागि दिनरात कुद्नुपर्नेको फुर्सदको समय भनेकै दसैँतिहार जस्ता अलिक धेरै बिदा हुने चाडपर्व न हुन्।

“शरीर भर्खर त डेङ्गीबाट तङ्ग्रँदै छ पर्दैन जानु” भन्ने परिवारको झिनो प्रतिवादलाई भाइटीकाको अघिल्लो दिन घर आइपुग्ने वाचा गर्दै साथी चन्द्रबहादुर लामासँग बिहान ६ः१५ बजे जोरपाटीको नारायणनटार बस बिसौनी पुगेँ। अघिल्लो दिन नै छिम्तीसम्मको बसको टिकट काटेकाले सिटको समस्या भएन।

हेलम्बु यातायातको बस ६ः४५ मा नारायणटारबाट हिँड्यो। यो शरद ऋतुको चिसो बिहान हो भन्ने कुरा ब्रह्मखेल पुगेपछि मात्र मैले अनुभव गर्न पाएँ, जब धानखेततिर हुस्सु डम्म देखेँ। गाडी बिस्तारै साँखुको मूलबजार काटेर लप्सेफेदीतिर लाग्यो। पातलिएको बस्ती र पँहेलपुर धानखेत आएपछि दसैँतिहारको चिरपरिचित बास्ना हावामा तैरिरहेको पाएर मन प्रफुल्ल भयो।

 गाउँघरतिर हुर्किएको नाकलाई काठमाडौँ खाल्डोभित्रको दसैँतिहारको बास्ना छुट्याउने अभ्यास नभएर हो कि के हो। त्यो बास्ना भेट्न गाउँघर नै टेक्नुपर्ने रहेछ।

लप्सेफेदीबाट बस जङ्गलभित्र पस्यो र उकालो उक्लन थाल्यो। हरियो जङ्गलभित्र मन पनि हरियै हुने रहेछ। मेरो हरियो मन बसको झ्यालबाट आक्कलझुक्कल देखिने टाढाको साँखु र त्यस परको मटमैलो किरिङमिरिङ काठमाडौँ हेर्दै जहरसिंह पौवातिर बढिरहेको थियो। जङ्गलबाट पहाडको थाप्लोमा रहेको जहरसिंह पौवामा बस फुत्त छिर्‍यो। केहीबेरको अलमलपछि बाहुनपाटी निस्किन बस गुड्न थाल्यो। बाटो पिच भत्किएर लगभग कच्चीझैँ थियो। कोक्राेमा  हल्लिएझैँ हल्लँदै म बाहिरको सयपत्री अनि मखमलीको मुस्कान हेरिरहेको थिएँ। आँगनभरि सेता, पहेँला, राता फूल फुलाएर गाउँ तिहार डाकिरहेको थियो।

बाहुनीपाटी झरेपछि हामी इन्द्रावती नदीको तिरैतिर गुड्न थाल्यौं। इन्द्रावती हाम्रो विपरीततिर शान्त बगिरहेको थियो। २०७८ असारमा लाखौं धनजनको क्षति पुर्‍याउने गरी बाढी आएको यही नदी हो मान्न आजको उसको सौम्य बहावले दिइरहेको थिएन तर बिस्तारै आँखा अगाडि खोलाले काटेका खेतहरू देखिन थाले अनि नदीका बीचमा खण्डहर। बालुवामा आधा धसिएका घरहरू आफ्ना उजाड टाउकाहरू घाममा सेकाइरहेझैं प्रतीत हुन्थे।

नदीलाई हामी मान्छेले हाम्रा करबलले सीमित पार्दै लग्यौँ। दुवैतिर पर्खाल उठाउँदै साँघुरो बनाउँदै लग्यौँ  तब वर्षामा उसको स्वाभाविक रूप पनि हामीलाई अस्वाभाविक लाग्ने हुन थाल्यो।

मान्छेले प्रकृतिलाई बिगार्दा–भत्काउँदा मान्छेले नै दुःख पाउने तितो सत्य मनमा खेलाउँदै म मेलम्ची पुगेँ। मेलम्ची बजारमा झनै बाढीले क्षति पुर्‍याएको रहेछ। इन्द्रावती र मेलम्ची नदीको सङ्गममा रहेको मेलम्ची बजारमा चिया–खाजा खाएपछि बस इन्द्रावती नदी तरेर तिपेनीतिर अगाडि बढ्दै थियो।

तिपेनी पुगेपछि बसको टायरमा समस्या आएकाले बस रोकियो। हामी इन्द्रावती र तिपेनी खोलाको सङ्गमस्थलमा बसबाट ओर्लेर हिँड्न थाल्यौँ। पारि सालको जङ्गलमा सुक्खा पहिरो गएको देखियो। स्थानीय जातका राम्रा केरा देखेर म लोभिएँ। के वर्षा, के हिउँद पहिरोको डर रहेको कुरा तिपेनी बजारका मुखमै घर रहेका साहुजीले भन्दै केरा झोलामा हालिदिए। बस हाँडीखोला तरेर धापतिर लाग्यो। धापपछि थाङ्पालकोट आयो। यहाँबाट पारिको सुन्दर गुन्सा गाउँ देखियो। खैरो पहाडको काखमा रहेको पहेँलपुर धानखेत र बिचमा गुजुमुज्ज सुन्दर गुन्सा गाउँको दृश्यले लोभ्याए पनि हाम्रो गन्तब्य रैथाने, भोटाङ हुँदै छिम्ती पुग्नु थियो।

थाङ्पालकोट कोदाका कपनीमा डुबेको थियो। खेतभरि भित्र्याउन भरेभोलि भएका पहेँलपुर धान अनि बारीभरि कोदोको फसल बिचबाट गाडी अगाडि बढ्दै गयो। दिनको १ः३० बजे छिम्ती पुगियो। छिम्तीमा खाना खाएपछि टुप्पी डाँडामा बास बस्न पुग्ने हिसाब गरी चन्द्र र मैले झोला कसिलो बाँध्यौँ, जुत्ताका तुना कस्यौँ र २ः३० बजे हिँड्यौँ।

छिम्ती बस बिसौनीबाट तेर्सै केहीछिन् हिँडेपछि लार्के खोला आयो। लार्के खोला छेउ पानीघट्ट थियो। पानीघट्टको पारी अजङ्गको पहाडको थाप्लाबाट झरना झरिरहेको थियो। झरनाको सुन्दरता हामीले क्यामेरामा कैद गर्‍यौँ। झरनाको मुखबाट पानी यताउति नछिरलिई तल खस्नु अलिक अस्वाभाविक लाग्यो मलाई। अनौठो ठाउँबाट अचम्मै गरी बगेको झरनाबारे घट्टमा आएकी महिलासँग कुरा गर्दा पो थाहा भयो, झरना त मानव निर्मित रहेछ।

लार्के खोलाको पानी पाइपबाट लगेर पो कृत्रिम झरना झारिएको रहेछ। दुई पहाडको अक्करबाट बगेको लार्के खोलाको पानीमा हातमुख धोएर केही अगाडि बढेपछि सिँढीहरू देखापरे। ठाउँठाउँमा सिँढीका दुवैतिर स्वागत द्वारझैँ खस्रुका रुखहरू उभिएका थिए।

हामी थाप्लामाथि घामलाई बोकेर लगातार देउराली पुग्न उक्लिरह्यौँ। देउराली २१०५ मिटर उचाइमा रहेको सानो तामाङ बस्ती हो। हामीले निमा वाङ्दी वाइबाको होटलमा चिया पियौँ। त्यहाँ थाहा भयो, देउरालीसम्म मात्र मानिसहरूको जग्गा आफ्नो नाममा रहेछ।

देउरालीमाथि मानिसहरू आफूले पिता पुर्खादेखि भोगचलन गर्दै आएको खर्कमा घर बनाएर बसेका रहेछन्। ती जग्गा लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने निकुञ्जको सम्पत्ति रहेछ। बारीमा फुलेका पहेँला तोरी, पाकेको कोदो बाली छोडेर हामी जङ्गलभित्र पस्यौं। बाटो केहीछिन देउरालीमा तेर्सै थियो अब उकालो सुरू भयो। हामीले बाटामा टुप्पी डाँडासम्म जाने काले तामाङ दाइलाई भेट्यौँ। छिट्याउन सुरू भएको पानी र बिच जङ्गलमा ढल्दै गरेको घाम बिच उनलाई भेट्दा हामीलाई ढाडस भयो।

तामाङ दाइले देउरालीमाथि डुप्खाङको पाखो नजिक हबेली रहेको जानकारी दिए। भीमसेन थापाको पतनपछि उनका भाइ र छोराहरूलाई डाँडा कटाइएको रहेछ। भाइ रणवीरसिंह थापाले यो अनकन्टार ठाउँमा हबेली बनाएर बाँकी जीवन बिताएका रहेछन्।

विसं २०७२ सालको भूकम्पपूर्व सग्लो र आकर्षक रहेको त्यस हबेली काष्ठ तथा वास्तुकलाको उत्तम नमुना रहेको कुरा उनले भने। स्थानीय मानिस त्यस हबेलीलाई जुङ्गे महाराजको हबेली भन्दारहेछन्।

उच्च ठाउँमा रहेकाले पाँच पोखरी, आमायाङ्ग्री र गोसाइँकुण्डको लेक समेत देखिने त्यो हबेली अब खण्डहरमा परिणत भएको रहेछ। पद्मसंभव गुफा र हबेली रहेको स्थान फर्कँदा समय मिले हेर्ने इच्छा राख्दै हामी उकालो लाग्याैं।

गुराँस, खस्रु र उत्तिसको जङ्गल छोडेर हामी सुन्दर खर्कमा आइपुग्यौँ। खर्कमा सानी नानी गाई चराइरहेकी थिइन्। जङ्गलको बिचमा समथर भाग र त्यस घाँसे मैदानमा गाईहरू चरिरहेका दृश्यले मनलाई आनन्द दियो। खर्कको उपल्लो छेऊका दुईओटा घरका बीचबाट बाटो फेरि जङ्गलमा छिर्‍यो। उकालोपछि केही तेर्सो बाटो हिँडेपछि पहाडी खोला देखापर्‍यो। हिँड्दा हिँड्दै जङ्गलमा फुत्त देखापर्ने यस्ता सुन्दर पहाडी खोला थकाइ बिर्साउने बिसौनी मान्दै हामी आराम गर्न बस्यौँ। तामाङ दाइ र म गफ गर्दै चन्द्रलाई कुर्न थाल्यौँ।

काठमाडौँदेखिको खराब बाटोको यात्रा र हिँडाइले केही थाकेका चन्द्रको हिँडाइलाई लक्ष्य गर्दै तामाङ दाइले उनको झोला बोकिदिने प्रस्ताव राखे।

चन्द्रले सहर्ष स्वीकारेपछि तामाङ दाइ उनको झोला बोकेर अगाडि लागे। टुप्पी डाँडामा उनको होटल रहेछ। अब चाँडै रातपर्ने भएकाले अगाडि गएर भात भान्साको तयारी गर्ने उनको मनसाय बुझेर हामीले केहीबेर त उनलाई पछ्यायौँ तर उनको हिँडाइको गति समात्न सकेनौँ। हामी आफ्नै लयमा फर्कियौँ। पहेँलपुर झ्याउका लुगा लगाएका प्राचीन धुपीका रुखहरू, जङ्गलमा एउटा मोडबाट हराउने र पुनः देखिने गोरेटो बाटो, हावासँग साउती गर्दै गरेका रुखहरूसँग भलाकुसारी गर्दै म अगाडि लागेँ। कतै ढुङ्गा छापेको बाटो, कतै ढुङ्गे खुड्किला र कतै सुन्दर गोरेटो हुँदै म उक्लिरहेँ।

घना जङ्गलबाट गोरेटो पुनः एउटा सुन्दर खर्कमा पस्यो। एकतमासको जङ्गलको यात्रापछि खर्क भेट्नु मरुभूमिमा मरुद्यान भेट्नुजत्तिकै रोमाञ्चक हुने रहेछ। उच्च पहाडी र हिमाली भेगका पच्चीस सय मिटरदेखि पाँच हजार मिटरसम्ममा रहेका यस्ता घाँसे मैदानहरूलाई पाटन वा खर्क भनिने रहेछ।

वरिपरि घना जङ्गल, टाढाटाढा भुइँकुहिरो नाचिरहने लेक र बिचमा अकस्मात भेटिएको खर्कले हाम्रो थकानलाई मेटाइदियो। काठे बारभित्र लहलहाउँदो रायोको सागबारी, केही पर बस्तुभाउलाई पानी खुवाउने आहल, विस्तृत फैलिएको घाँसे मैदान र डुब्दै गरेको घामलाई आँखामा सजाउँदै हामी उकालो लाग्यौँ। रातले आफ्नो पखेटामा हामीलाई बेर्नुपूर्व हामी २०७० मिटर उचाइमा रहेको टुप्पी डाँडामा पुग्यौँ।

टुप्पी डाँडामा हामीलाई अघिका तामाङ दाइले स्वागत गरे। छिम्तीमा पनि उनको होटल रहेछ। श्रीमती उता र उनी यता रहेछन्। यहाँ तामाङका ४/५ घर रहेको स्थानलाई कसरी टुप्पी डाँडा नाम दिइयो भनी मलाई खसखस भयो। वास्तवमा यो ठाउँको नाम ब्रोङदोगाङ रहेछ। मानिसहरूलाई भन्न सजिलो होस् भनी तामाङ भाषालाई उल्था गरी टुप्पी डाँडा राखिएको रहेछ। अरूको जिब्रोलाई सजिलो बनाइदिन फेरिएको नाम मलाई पटक्कै मन परेन।

अस्तित्व र पहिचानको आवाज बुलन्द पार्नुपर्ने ठाउँमा नाम नै मेटाउने काम ठिक होइन भनी छलफल भइरहँदा दाउराको चुलोमा दाल छड्किरहेको थियो। यो सानो खर्कमा रहेको बस्तीमा बिजुली थिएन। जेनेरेटर चलाएर बत्ती बाल्नुपर्ने भएकाले मोबाइल चार्ज गर्न पैसा लाग्ने रहेछ। खाना खाइओरी मोबाइल चार्ज गर्न पठाएर हामी मिठो निद्रा सुत्यौँ। ०७२ को भुइँचालोपछि खुलेका, जस्ताले बेरिएका ब्रोङदोगाङका यी आत्मीय तामाङका ससाना होटलहरूले पर्यटकलाई सजिलो बनाइदिएका छन्।

बिहानीको खाजा खाएर निस्कँदा बाहिरको सेताम्मे तुसारोले हामीलाई स्वागत गर्‍यो। देवदारको जङ्गलपारिका काला चुचुरा र कतै हिउँ थाप्लामै बोकेका चुचुराहरूलाई घामको किरणले चुम्दै गर्दा हामी चुपचाप चराहरूको बिहानीको वार्तालाप सुन्दै हिँडिरहेका थियौँ।

 यहाँबाट देवदारका रुखहरू अझै अग्ला, अझै प्राचीन देखिन थालेका थिए। केही उचाइमा पुगेपछि तेर्सो बाटो आयो। हामी ताँगु खोला (२८९३ मिटर) पुग्यौँ। गहिरो खोँचमा झर्नु नपर्ने गरी झोलुङ्गे पुल बनाइएको रहेछ। दुवैतिर घना जङ्गल रहेको पहाडको खोँचबाट झर्दै गरेको ताँगु खोलासँग बिदा मागेर हामी उकालो लाग्यौँ। तपाईँ उच्च हिमाली भेगतिर हिँड्नु हुँदै छ भने कतै न कतै तपाईँलाई त्यहाँका कुकुरहरूले यात्रामा साथ दिएकै हुन्छन्।

हामीलाई ताँगु खोलाबाट एउटा बलियो कालो कुकुर बाटो देखाउँदै अघिपछि लागेको थियो। अत्यासलाग्दो उकालो पार गरेपछि केहीछिन आराम गर्न हामी मानवविहीन काठको घरको ढाँचाको संरचना नजिक बस्यौँ। यहाँ नीलो आकाश छुँलाझैं उचालिएका हिमालहरू हेर्दै केहीछिन पसिना ओभाएपछि हामी तेर्सो बाटो पाएर खुसी हुँदै अगाडि बढ्यौँ। जङ्गल पातलिएको थियो।

हामी हिँडिरहेको गोरेटो तलबाट खोलाको ध्वनि आइरहेको थियो। पारि अक्करे भिर र भिरमा अल्झिएका रुखहरू थिए। ढङबार खोलामा पुगेर हामी रोकियौँ। चिप्ला ढुङ्गाहरूमा ठोकिँदै, सेतो फिँज निकाल्दै बगेको ढङबार खोलाको काठको साँघु तरेपछि अग्ला देवदारको जङ्गललाई हामीले बिदाइका हात हल्लायौँ।

गर्मी र गह्रुङ्गो झोलाले यो चट्टाने उकालो उक्लन गाह्रो भइरहेको थियो। पारिको हरियो जङ्गल हेर्दै हामी ढुङ्गाका खुड्किलाहरू उक्लिरह्यौँ। हाम्रो अगाडि फुर्तिलो कुकुर हाम्रो अवस्था देख्दा माया लागेझैँ हामीलाई कुर्दै हिँड्दै थियो। पहाडको बिचमा बिसौनी भेट्यौँ। केहीबेर सुस्तायौँ र पुनः कहिल्यै नसकिएलाझैँ देखिने भर्‍याङ उक्लन थाल्यौँ। कहीँ कतै आफ्ना मित्र मण्डलीबाट छुटेझैँ रुखहरू ठिङ्ग उभिएका थिए। हामी छोर्तेनमा पुग्यौँ। हावामा फर्फराइरहेका लुङ्दरले हामीलाई स्वागत गरे।

छोर्तेनबाट बाटो तेर्सो तेर्सो रहेछ। राम्ररी ढुङ्गा छापेको तेर्सो बाटो हिँडेर हामी तप खर्क (३४०७ मिटर) पुग्यौँ। पहाडको उचाइ बढ्दै जाँदा रुखको उचाइ घट्ने सिलसिला सुरुभएको थियो। यहाँ गुराँस निगालो र केही झाडीजस्ता ससाना रुखहरू देखिन थाले। दुईचार गोठ रहेको तपखर्कबाट अगाडि बढ्दा बाटैभरि हिजोअस्ति परेको हिउँ देखियो। टाढा नोस्याम पाटीका घरहरू टल्किरहेका थिए। भोक र टाढा न टाढा देखिएको नोस्याम पाटीले गाले पनि हामी रोकिएनौँ। सेताम्मे हिउँ मरक्मरक टेक्दै हामी तेर्सो तेर्सो उकालो लाग्दै गयौँ।

हिउँमा चिसिँदै बसेको नोस्याम पाटीमा आठ दस घरहरू रहेछन्। ३७०० मिटर उचाइको नोस्याम पाटीमा ७ः१० मा हिँडेका हामी १२ः१५ बजे पुगेका थियौँ। हिमाली भेगको खाना अर्थात् दाल, भात, रायोको साग, आलुको तरकारी थपीथपी खाएपछि हामी १ः१५ मा बाटो लाग्यौँ। नोस्याम पाटी चौताराबाट पाँच पोखरी आउने र छिम्तीबाट आउनेको मिलन बिन्दु रहेछ। भन्ज्याङमा रहेको नोस्याम पाटीबाट हिले र टेम्पाथान पनि पुगिने रहेछ।

नोस्याम पाटीले मलाई गोसाइँकुण्ड जाँदाको लौरीबिना माथिको बुद्धको स्तुपा रहेको स्थानको सम्झना गरायो। नोस्याम पाटीबाट केहीमाथि उक्लिएपछि गोसाइँकुण्ड जाने बाटो झैँ तेर्सैतेर्सो पाँचपोखरी जाने बाटो रहेछ। हामी लगभग वृक्षरेखा सँगसँगै ठाउँठाउँका माने छोर्तेन ढोग्दै अगाडि बढ्यौँ। शरदको चिसोले घाँसे झाडीहरू खैरा थिए। तल न तल हरिया देवदारका रुखहरू उभिएका थिए। ढुङ्गेनी गोरेटो लामो न लामो देखिन्थ्यो। माथि नीलो आकास र सेता बादलका गुच्छाहरू देखिन्थे।

हामीसँग आएको कुकुर नोस्याम पाटीतिरै छुट्यो। बाटो अप्ठ्यारो थियो जो ठाउँठाउँमा फलामे बारले सुरक्षित बनाइएको थियो। हामी ढुङ्गेनी पहरो र अजङ्गको ढुङ्गाको बीचबाट बनाइएको बाटोबाट अगाडि बढ्यौँ। यस ठाउँलाई धर्मद्वार भन्दा रहेछन्।

तेर्सो बाटो जब उकालो लाग्थ्यो, हाम्रो सम्पूर्ण शक्ति निचोरिन्थ्यो। उचाइका कारण सास फुल्न थाल्थ्यो। पानी, चकलेट र तिपेनीमा किनेको केरा खाँदै हामी उक्लिरहेका थियौँ। काला ढुङ्गाहरूमा अल्झिएका झ्याउ, लेउ र राता पहेँला बुट्यान बिचमा हामीले हिँड्ने बाटो टाढाबाट हेर्दा एउटा दुब्लो धर्सोजस्तो मात्र देखिन्थ्यो। अजङ्गको अजिङ्गरजस्तो पहाडको कुममा हामी लगातार घस्रीरहेका थियौँ।

फनफनी दस बाह्र ठाउँमा घुमाएको बाटो काटेपछि अब त उकालो सकिएला भनेको झन् नाक ठोकिने ठाडो उकालो पो आयो। ठाडो उकालोमा सिँढी बनाएर फलामको बार लगाइएको रहेछ।

त्यही समातेर बिस्तारै उक्लिएर माथि पुग्यौँ। अचम्म यहाँ पनि गोसाइँकुण्डमाजस्तै लौरीबिना रहेछ। मानिसहरू यही ठाउँमा तलबाट टेक्दै आएको लौरी चढाएर अगाडि बढ्दा रहेछन्।

हामी ङिच्च हाँस्यौँ ‘वाकिङ स्टिक’ हावामा हल्लायौँ र ओह्रालो झर्‍यौँ। लौरीबिना तल खर्क रहेछ जहाँ राता काँडेदार झाडीहरू थिए। बिस्तारै हुस्सुले सबै थोक ढाक्दै लगिरहेको थियो। अघि लौरीबिनाबाट तल झर्दा रमाएको अब उकालो उक्लिनुपर्दा निस्किन थाल्यो। दुई पाइला सार्दै बस्दै गर्नुपर्ने अवस्था आयो। ढुङ्गाका सिँढीहरू देख्दा अल्छी लाग्न थाल्यो। हुस्सुले हामीलाई कुहिराको काग बनाएको थियो। केही उकालो उक्लिएपछि बाटो तेर्सो आयो र अलिक टाढा हुस्सु फाटेर सेतो माने देखियो।

हामी उत्साहले आफ्नो चाललाई दोब्बर बनाउँदै बढ्दै गयौँ। नीला जस्ताका घरहरू देखिन थाले। हामी लगभग कुदेरै हुस्सुले ढाकेको पोखरी रहेको स्थानमा गयौँ। तालको केही अंश मात्र हेर्ने सौभाग्य मिल्यो। हुस्सुले सबै दृश्य धमिलो बनाइदिएको थियो। हामी झोला होटलमा राखेर ५ः१५ मा घुम्न निस्कियौँ। हुस्सुको साम्राज्यमा तालको आनन्द लिन सकिएन। हामी सुरेस लामाले चलाएको होटलमा फर्कियौँ।

होटलमा आएपछि आगो ओरिपरि बसेर तातो पानी पिउन थाल्यौँ। मलाई बिस्तारै टाउको दुखेको आभास भयो। सायद धुवाँले होला भनी म बाहिर निस्किएँ र सुत्ने कोठामा गई ओछ्यानमा घुस्रिएँ। निदाउन कोसिस गरेँ। न निद्रा आयो न टाउको दुखेकै कम भयो। खाना खाएपछि दुखाइ कम हुने औषधी खाने सोचेर पल्टिरहेँ। चन्द्रले खाना पाकेको सूचना दिए। खाना खाने ठाउँमा धुवाँ रङमगिरहेको थियो। बल्ल बल्ल हालिदिएको खाना खाइसकेँ। “लेक तिर खाना थपेनौ भने बुझ तिमीलाई लेक लाग्यो।” कुनै बेला घुमन्ते साथीले भनेको सम्झेँ।

खाना खाइओरी टाउको दुखेको कम गर्न औषधी खाएँ र सुत्न गएँ। लहरै भुइँमा लगाइएका ओछ्यानमा साथी चन्द्र र अर्को समूहका केटाहरू आएर सुते। उनीहरू एकैछिनमा घुर्न थाले तर मलाई निद्रा लागेन। उठेर बाहिर निस्किएँ र यताउता हिँड्न थालेँ। आकाश खुलेको थियो टाढा पहाडतिर जुनकीरी बत्तीझैँ देखिन्थे। सुरेस भान्साको काम सकेर बाहिर निस्किए।

अर्को होटलका बुढाबा पनि त्यहाँ आए। पाँचपोखरीमा केवलकार ल्याउने काम भइरहेको कुरा उनीहरूले बताए। कस्तुरी मृग, रतुवा, घोरल, झारल जस्ता वन्यजन्तु र बास्नादार सुनपाती भैरुङ्ग पाती पदमचाल, भूतकेस, पाँचऔँले, यार्सागुम्बा जस्ता झार औषधीको भण्डार पाँच पोखरी क्षेत्र अन्दाधुन्द केवलकारको चापले के पुरानै पाँच पोखरीको वैभव थाम्न सक्ला भनी म गम्न थालेँ।

उनीहरू भने आफ्नै सुरमा पाँचपोखरीको किंवदन्ती सुनाइरहेका थिए। बुम्बा रुवा वाइवाले सिकार खेल्दै पुग्दा महादेव र उनका सहयोगीलाई धान काट्दै गरेको देखेको र नजिक जाँदा महादेवहरू अन्तध्र्यान भएका र तत्काल बुम्बाले आफ्नो सिकारी कुकुरको गलाको घण्टी महादेव अन्तध्र्यान भएको स्थानमा चिनो स्वरूप झुण्ड्याई पूजा गरेका थिए रे।

त्यही ठाउँमा अहिले महादेवको मन्दिर छ। यहाँ रहेका पाँच कुण्ड भैरव, सरस्वती, गणेश, सूर्य र नाग कुण्डलाई स्थानीयहरू शिव पार्वतीका पाँच छोरी मान्दा रहेछन्। तिनीहरूको नाम क्रमशः जेठी, माइली, साँहिली, काँहिली र कान्छी पोखरी भन्ने नाम राखेका रहेछन्।

पाँचपोखरी इन्द्रावती नदीको उद्गम हो। यहाँ राजकाजदेखि वाक्क भएका इन्द्र आई तपस्या गरी शान्ति पाएको पनि किंवदन्ती छ। उनै इन्द्रले तपस्या गरेको ठाउँबाट बग्ने भएकाले नदीको नाम इन्द्रावती राखेको पनि भनिँदो रहेछ। साथै यो पाँच पोखरी क्षेत्र पद्मसंभवको तपोभूमि पनि मानिन्छ। यी यस्तै कुराकानीपछि म पर्याप्त पानी पिएर सुत्न गएँ। टाउको अलिक हलम् भयो तर राम्रो निद्रा परेन। निद्रा र तन्द्राको अवस्थामै रात ढल्यो।

बिहान ४ बजे मोबाइलको अलार्म बज्यो। उठेर शौचालय गएँ र पाँचपोखरी भ्यू पोइन्टका लागि तयार भएँ। टर्च बाली म र चन्द्र हिजो साँझ पाँचपोखरीलाई दायाँ पारेर भ्यू पोइन्ट चढ्ने बाटो बताइए अनुसार हिँड्न थाल्यौँ। बिहानीको प्रकाश क्रमशः पोखरीमा पर्न थाल्दा हामी अजङ्गका पत्थरहरूले भरिएको पहाडको कुमकुम पुगिसकेका थियौँ।

घाम उदाइसकेको थिएन ४४०० मिटर उचाइको भ्यू पोइन्टबाट हेर्दा लाक्पा दोर्जे, जुगल हिमाल आफ्ना सेता दाँत देखाउँदै हाँसिरहेका थिए। यहाँबाट रोलवालिङ र खुम्बु हिमशृङ्खला पनि देखिए। पाँचओटा पोखरीहरू आकासको सेतो टलक आङमा टाँसेर चाँदी वा पारोझैँ टल्किरहेका थिए। फोटो खिच्न खोलेको पन्जा एकैछिनमा लगाएन भने हात कठ्याङ्ग्रिसक्थे।

हामी त्यो उचाइमा अपलक सेता हिमालहरू हेर्दै बस्यौँ। लुङ्दरहरूसँगै हाम्रो मन पनि आनन्दले हल्लिरहेको थियो। आकाश निलो भएसँगै विस्तारै पोखरीहरूले नीलो आकाशको रङ आफूमा पोत्न थाले। अघिसम्म पारो जस्ता पोखरीहरूले अब नीलाभ पिएका थिए। ती निलाम्मे थिए।

उचाइ जहिल्यै मानिसको तिर्खा भएको देखिन्छ तर हामीले उचाइको प्रकृति कत्तिको बुझेका छौँ त्यसमा हाम्रो जीवनको खुसी अडिएको हुन्छ। उचाइ प्राप्त गर्नु क्षणिक हो, उतारचढाव नै वास्तविक जीवन हो भन्ने बुझाउँछ कुनै उच्च पहाड वा त हिमालको चढाइले।

म शिखरमा पुगेपछि ओर्लिनु अटल सत्य रहेको विषयमा गम्दै ओर्लन थालेँ। रातिको मेरो टाउको दुखाइ पनि हराइसकेको थियो। मन त्यसै त्यसै नाचिरहेको थियो। नीला पोखरीहरूमा कुदेर पुगौँ भएको थियो। हाम्रा पाइतालामा जडेर बायुपङ्खी घोडाको गति हामी पद्मसंभवको मन बोकेर निरन्तर झरिरह्यौँ।      

प्रकाशित: २१ चैत्र २०८१ १२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App