जुम्लाबाट खबर आयो– मार्सी चामलभन्दा फापरको पिठो महँगोमा बिक्न थाल्यो। मार्सी उसै पनि जुम्लाको पहिचान हो। राणा तथा शाह शासकहरूले समेत जुम्लाबाट मार्सी चामल मगाउँथे ‘भुजा ज्युनार गर्न’। भलै सर्वसाधारणले त्यसलाई ‘भात खाने’ भन्थे। अहिले जमाना फेरियो। मार्सीलाई फापरले जित्यो। यसको मतलव मार्सीको तह घट्यो वा यो काम नलाग्ने भयो भन्ने हैन, फापर पनि उत्तिकै गुणकारी भएको चेत खुल्यो। जुन नेपालीको खानपानमा आएको सुझबुझपन होभन्दा फरक पर्दैन।
जुम्ली शब्दलाई हेपिएको अर्थमा बुझिन्छ धेरैतिर। तर यही जुम्लाको चन्दननाथ नगरपालिका–७ की जुम्ली मीना महतले फापरको पिठो बेचेरै ८० हजार रूपैयाँ हात पारिन्। यहाँको प्रसिद्ध मार्सी धानको चामल प्रतिकिलोग्राम १२० रूपैयाँमा पाइन्छ तर फापर भने २०० मा बिक्री हुने भएपछि उनी मक्ख छिन्। मीना मात्र हैन, यहाँका धेरै किसानको ध्यान यही कारण फापरले तान्न सकेको छ। यो खबर जुम्लाको भए पनि खुसीचाहिँ सबैतिरका किसानका लागि उत्तिकै लागु हुन्छ।
अहिले बढ्दो मागसँगै फापर धेरैको गुजाराको स्रोत बन्दैछ। जुम्लाकै तातोपानी–५ श्रीनगरका पदम रावत मात्र हैन, उनका आफन्त र छिमेकीसमेत अहिले फापरको पिठोबाटै गर्जो टार्छन्। यो वर्ष मात्र करिब दुई क्विन्टल फापरको पिठो बेचेका उनले त्यसबाट करिब ७० हजार रूपैयाँ हात पारे। एकको कमाइबाट अर्कोले पनि सिक्ने क्रम ह्वात्तै बढेको छ। कतिपयले त बाँझै राखिएको जमिनमा समेत फापर लगाउन थालेका छन्। दिन/प्रतिदिन जग्गा बाँझो रहने र कृषिमा परनिर्भरता बढिरहेका बेला कृषि उपजका दृष्टिले सुखद खबर हो।
चन्दननाथ बहुउद्देश्यीय सहकारीले यसरी फापर खेती प्रबद्र्धनमा निकै सराहनीय गुन लगाएको छ। यही सहकारीले खोलेको अर्गानिक मिनी मार्केट हो जसले किसानका जति पनि फापर किनिदिन्छ। एक किलोग्राम होस् या एक क्विन्टल, कुनै पर्वाह छैन। खासमा नेपाली किसानले कृषि पेसा छाड्दै जानुका विभिन्न कारणमध्ये एउटा मुख्यचाहिँ बजार अभाव हो। यो सहकारीले यही बजार अभाव पूर्ति गरिदिएपछि किसान फापर खेतीतर्फ हौसिएका हुन्। यसका लागि सहकारीको पहलकदमीप्रति आभारी हुनैपर्छ।
सहकारीको मिनी मार्केटबाहेक पनि बजारका अन्य विकल्प उपलब्ध छन् यहाँ। जस्तो– सदरमुकाम खलंगाकै विभिन्न ठाउँमा खुलेका कोसेली घरले पनि यी अर्गानिक उत्पादन किनिदिन्छन्। त्यसबाहेक नेपालगन्ज, सुर्खेतलगायत सहरहरूमा लगेर बिक्री गर्नेलाई पनि बेच्न सकिन्छ। चन्दननाथ सहकारीले मात्र हरेक वर्ष तीन हजार क्विन्टलको हाराहारीमा फापरको पिठो बेच्ने गरेबाट पनि यो बालीप्रति जुम्ली किसानको मोह बढिरहेको पुष्टि हुन्छ। केक र अन्य परिकारसमेत बनाइने भएकाले पनि यस्तो पिठोको माग बढिरहेको हो भन्न सकिन्छ।
पछिल्लोपटक नेपालीहरू पत्रु खाना अर्थात् चलानी खानेकुराप्रति बढी आकर्षित भइरहेका छन्। नपकाइ, नतताइ तत्काल खान सकिने र स्वाद पनि तत्काललाई मीठो हुने भएकाले धेरैको रोजाइमा यस्ता खानेकुरा पर्नु स्वाभाविक हो। तर यस्ता खानेकुराले मानव स्वास्थ्यमा मन्द विषको भूमिका निर्वाह गरिरहेको पक्षबारे भने हामीजसो धेरै प्रयोगकर्ता अनविज्ञ छौँ। यस्तो अवस्थामा जुम्लाका किसानले देखाएको फापर मोहलाई प्रबद्र्धन गर्न ढिला गर्नु हुँदैन।
एकातिर नेपालको कृषियोग्य भूमि बाँझिने क्रम तीव्र छ। अर्कोतर्फ अपुग खाद्यान्न झिकाउन मरुभूमिमा बगाइएको पसिनाको मूल्य चुक्ता गर्नुपरिरहेको छ। वैदेशिक रोजगारीमा गएकाले कष्टसाथ कमाएका पैसा खाद्यान्नमा मात्र खर्च गर्न नपरे यसलाई शिक्षा, स्वास्थ्य तथा उद्यमहरूमा लगाउन सकिन्छ। त्यसैले कृषिमा सम्भावना नदेख्नेहरू मात्र हैन, कृषिमा कुनै भविष्य छैन भन्नेहरूले समेत जुम्लाका किसानले फापरबाट उन्नत बनाएका जीवन स्तर नियाल्न जरुरी छ। राम्रा कुरा जोबाट सिक्दा पनि हुन्छ। शरीरलाई फाइदा हुने, रैथानेपन बच्ने, अर्गानिक हुने भएकाले स्वस्थ खान पाइने तथा आर्थिकरूपमा पनि सन्तुष्ट हुन सकिने र तुलनात्मकरूपमा खेती गर्न पनि सहज हुने फापरलाई प्रवर्द्धन गर्न लागिपरौँ। सम्भव हुनेले आफू गरौँ। आफैँ गर्न सम्भव नहुनेले अरूलाई साथ दिउँ। सुकर्म प्रबद्र्धन गर्नु सरकारको त दायित्व नै हो।
प्रकाशित: २२ चैत्र २०८१ ०५:५७ शुक्रबार