म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर पाँच दिनदेखि बेपत्ता दुई सहयोगीको खोजी कार्य स्थगित भएको छ। अन्नपूर्ण गाउँपालिका-४, नारच्याङस्थित अन्नपूर्ण प्रथम (८,०९१ मिटर) को क्याम्प २ र ३ बीचमा चैत्र २५ गते बिहान हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा सम्पर्कविहीन भएका थिए। सेभेन समिट ट्रेकका अनुसार, खोजी कार्यमा कुनै प्रगति नभएपछि खोजी रोकिएको हो।
‘गहिरो दु:खका साथ हृदयविदारक खवरमार्फत हामीले अथक प्रयास गर्दा पनि फेला पार्न सकेनौ, हिउँ र बरफको ढिस्कोमुनि अब यति लामो समयसम्म बाँच्न सम्भव छैन’ सेभेन समिटले भनेको छ। बेपत्तापछि दुई खोजी हेलिकप्टर र पाँच शेर्पाको टोली परिचालन गरिएको थियो। तर, प्रगति नभएपछि थप जोखिम नउठाउने निर्णय गर्दै रिमा र निमालाई भावपूर्ण विदाइ गरिएको कम्पनीले बतायो। खराब मौसम र निरन्तर हिउँपहिरोका कारण उद्धारमा कठिनाइ भएको थियो। हेलिकप्टर, ड्रोन क्यामेरा र अन्य उपकरण प्रयोग गरिए पनि उनीहरूलाई फेला पार्न सकिएन।
रिमा र निमासँगै क्याम्प ३ मा पुगेका चार आरोहीलाई हेलिकप्टरमार्फत आधार शिविरमा झारिएको छ। हिउँपहिरोले चुचुरोसम्मको बाटो, डोरी, भर्याङ र अन्य संरचना भत्काएकाले पुनः तयारी गर्नुपर्ने अवस्था छ। यही साता सोमबार ३२ जनाले अन्नपूर्णको सफल आरोहण गरेका थिए। आधार शिविरमा रहेका शेर्पा र काठमाडौंबाट गएको उद्धार टोली खोजीमा जुटेका थिए।
पर्यटन विभागका अनुसार, यो वसन्तयाममा चार समूहका ३० पुरुष र १२ महिलाले अन्नपूर्ण आरोहणको अनुमति लिएका छन्। अन्नपूर्ण हिमाल जोखिमपूर्ण मानिन्छ, जहाँ छिनछिनमा हिउँपहिरोको सामना गर्नुपर्छ। सन् १९५० मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले पहिलो पटक यो हिमाल चढेका थिए। विश्वका८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये दशौँ स्थानमा रहेको अन्नपूर्ण प्रथम म्याग्दीको प्रमुख गन्तव्य बन्दै छ।
प्रकाशित: ३० चैत्र २०८१ १२:०२ शनिबार





