१० पुस २०८२ बिहीबार
image/svg+xml
कला/संस्कृति

साकुराको बोटमुन्तिर जापान

प्रकृति

जापान यतिखेर साकुरामय भएको छ। जापानका हरेक गाउँ, नगर र सहरमा मेला लागेको छ। बाक्लै फुलेका साकुराको शितल छायामा युगल जोडी प्रेमिलहरू अँगालोमा बाँधिइरहेका देखिन्छन्। बुढाबुढी टहलिइरहेका भेटिन्छन्। परिवारका सदस्यहरू पिकनिक मनाइरहन्छन्। सामान्य खाले बिरामीहरू रुखको छायामा प्राकृतिक उपचार हुने विश्वासमा रोगको निदान गरिरहेका देखिन्छन्। यो पर्व कतिसम्म लोकप्रिय छ भने सामान्य अफिसको बैठक मात्रै होइन, नयाँ व्यवसायको सम्झौता उत्सव पनि यिनै रुखका फेदमा भइरहेको देखिन्छ।

नेपालमा दसैं जसरी आउँछ, जापानमा साकुरा पर्व त्यसैगरी आउँछ। धुमधामसँग मनाइन्छ। साकुरा पर्व अर्थात् ‘हानामी’को लिखित इतिहास चाहिँ एक हजार दुई सय वर्षअघिको भेटिन्छ। लिखित इतिहासले नै भन्छ, त्यसअघि पनि साकुराको बोटमुनि कृषकहरूको भेटघाट हुन्थ्यो। स्थानीय सरकारको आदेश फरमान हुन्थ्यो र अघिल्लो वर्षको योजना बन्थ्यो। यस अर्थमा जापानी सभ्यता विकास र संस्कारको यो अभिन्न अंग हो भन्दा फरक पर्दैन।

टोकियोभन्दा दुई सय ८८ किलोमिटर टाढा रहेको फुकुसिमा सहरमा साकुराको करिब हजार वर्ष पुरानो एउटा रुख संरक्षित छ। जापानमा यी हजार वर्षमा भूकम्प, सुनामी, ताइफुलगायत अन्य सानाठुला प्राकृतिक प्रकोप आए होलान्। विभिन्न काल खण्डमा आएका अनगिन्ती प्राकृतिक प्रकोपले पनि यो रुखलाई केही गर्न सकेको छैन। यही कारण जापानीहरू यो रुखलाई ‘आशा र पुनरुत्थानकी देवी’का रूपमा पुज्छन्।

यो मौसममा त टोकियोदेखि फुकुसिमासम्म लहरै फुलेको साकुरा र त्यसमुन्तिर हरेक दिन भेला हुने हजारौं रमितेहरूको घुइँचो देख्दा लाग्छ, यो अर्कै दुनिया हो। टोकियो सहरमै सय वर्ष पुग्न लागेका हजारौं साकुरा छन्। जुनसुकै पर्यटकीय केन्द्र, धार्मिक केन्द्र, सांस्कृतिक केन्द्र वा उद्यानलाई साकुराले सुसज्जित बनाएको छ।

टोक्योको इतिहास र शोभा बोकेका सुमिदा खोला, कान्दा खोला, साकुजी खोला, मेगुरो खोला, तामागावा खोला, चुरुमी खोला किनार मात्रै होइन, सफा सडकका छेउछाउमा जब साकुरा फुल्छ, टोकियो यस्तो लाग्छ, मानौं स्वर्गमा गरिएको कल्पना धर्तीमा यथार्थ उत्रिएको होस्। फुल्न थालेपछि पो थाहा हुन्छ, लाखौंलाख बोटहरू जापानभरि रहेछन् भन्ने कुरा। केही दिनअघिसम्म वास्ता नगरिएका बोटहरूले अटेसमटेस गरेर फूल फुलाएपछि मानिस टक्क अडिएर हेर्न बाध्य हुँदोरहेछ।

यसको रङले पनि मानिसलाई मोहनी लगाउँछ। हलुका गुलाबी मोतीजस्ता ससाना फूलहरू सामान्य हावा लहरमा ठक्कर खाएर तल झर्दा त्यसले दिने तरङ्ग कुनै सङ्गीतभन्दा कम हुँदैन। रङ्गीबिरङ्गी साकुराले रोमाञ्चक अनुभव दिन्छ। साकुराको बोटमुनि बसिरहेका नवयौवनामाथि जब हावाको झोक्काले ती फूलहरू झर्छन्, कुनै चलचित्रको कमनीय दृश्यझैं मनलाई एकतमासको बनाइदिन्छ। साकुराको रङ मात्र होइन, यसको कोमलताले पनि धेरै सन्देश दिन्छ। यही कारण साहित्यमा विभिन्न किसिमका बिम्बमा यसको प्रयोग भइरहेको हुन्छ। हाइकु लेखनमा त साकुरा र हानामी पर्वलाई बिम्बका रूपमा अत्यधिक प्रयोग गरेको पाइन्छ।

साहित्यमा साकुरालाई एकातिर प्रेम, यौवन, मधुमास, मधुर मिलनका रूपमा प्रयोग गरिएको पाइन्छ भने अर्कातिर यसको क्षणभङ्गुरताले जीवनको क्षणिकताको बोध गराएको देखिन्छ।

जापानभरि साकुराका करिब ६ सयभन्दा बढी प्रजाति रहेको विश्वास गरिन्छ। सयौं प्रजातिमध्ये मानिसको ध्यान यसका चार प्रजातिमा छ। यी प्रजातिमा योसिनो सोमेई, विपिङ चेरी, याएजाकुरा र खान्जाकुरा प्रमुख हुन्। यी सबै प्रजातिका रङ र फुल्ने शैली अनि समय फरक छन्। यद्यपि अधिकांश साकुरा मार्च–अप्रिलमा फुल्ने भएकाले यी दुई महिनामा पर्वकै रौनक हुने गर्छ।

साकुरा फुल्ने यामलाई पर्वकै स्वरूपमा मान्नु त छँदै छ, साकुरा फूलको चिह्न पनि आफैंमा लोकप्रिय छ। जापानका सरकारी तथा गैरसरकारी संघ–संस्थाहरूको औपचारिक लोगोमा कतै न कतै साकुराको फूल देख्न सकिन्छ। एक सय येनको सिक्का र एक हजार येनको नोटमा पनि साकुरा फूल अङ्कित छ। जापानको रग्बी खेलको राष्ट्रिय टिमको युनिफर्ममा पनि साकुरा अङ्कित छ। यद्यपि नेपालको गुराँसजस्तो साकुरा जापानको राष्ट्रिय फूल भने होइन।

साकुरा फूलको आफ्नै वंशावली जापानीहरूले बनाएका छन्। उक्त पुष्प वंशावलीमा ‘कोनोहाना नो साकुरा’लाई पहिलो साकुराकी रानीका रूपमा व्याख्या गरिएको छ। यिनी स्वर्गकी अप्सरा थिइन्। उक्त राजकुमारीको विवाह सूर्यका नाति राजकुमार निनिगीसँग भएपछि उनीहरू मधुमासका लागि पृथ्वीलोक झर्छन्।

यसरी पृथ्वीमा झर्दा जापानी भूमिमा उनीहरूले साकुरा रोप्छन् र यहीं उनीहरू वर्षौंवर्ष आनन्दको जीवन बिताउँछन्। ‘कोनोहाना नो साकुरा’ नामक राजकुमारीकै कारण यो रुखको नाम साकुरा रहेको विश्वास जापानीहरूको छ। प्राचीन कथाका कारणले पनि यो राजसंस्था र जनतामा प्रिय रह्यो। जसले अघोषित राष्ट्रिय फूल र राष्ट्रिय पर्वको रूप लियो।

यसपटक हामी पनि अनेसास जापानका साथीहरूको साथमा साकुराको रमाइलो हेर्न ठाउँ ठाउँ पुगेका थियौं। हामी नेपाली हौं भन्ने थाहा पाउनेबित्तिकै साकुराको फेदमा आनन्दित भएर एक्लै बसिरहेका एकजना पाका जापानीले नेपाली राजसंस्थाबारे चासो राखे। उनी नेपालमा अझै राजसंस्था छ भन्ने ठान्दा रहेछन्।

सन् १९६२ मा नेपालका तत्कालीन युवराज वीरेन्द्र वीरविक्रम शाह टोकियो विश्वविद्यालयमा पढ्न आएका बेला उनले वीरेन्द्रलाई चिन्ने मौका पाएका रहेछन्। मैले ती पाका व्यक्तिले भनेको कुरा खोजी गर्दा वीरेन्द्रले केही महिना टोकियो विश्वविद्यालयमा अध्ययन गरेको भेटियो। सन् १९७८ सालमा राजाका रूपमा वीरेन्द्रले जापानको भ्रमण गरेको कुरा पनि उनले टेलिभिजनबाट हेरेको बताए।

त्यो बेला जापानका सञ्चार माध्यमले नेपाली राजपरिवारलाई निकै ठुलो महŒव दिएको तत्कालीन दस्तावेजहरूबाट पुस्टि हुन्छ। त्यति मात्र होइन, राजा वीरेन्द्रको राज्याभिषेकमा सहभागी हुन जापानी राजपरिवार पनि नेपाल आएको उनले स्मरण गरे।

उनीसँगको कुराकानीबाटै राजा वीरेन्द्रले जापानलाई हिमालयन साकुरा फूल उपहार दिएको र अझै पनि ती फूलका रुखहरू भएको थाहा भयो। टोकियोबाट दुई घण्टामा पुगिने सिजुओका केनको आतामी सहरमा हिमालयन साकुराको ‘मूल रुख’ अझै देख्न पाइन्छ।

नेपालका लागि पहिलो जापानी राजदूतलाई तत्कालीन युवराज वीरेन्द्रले सन् १९६३ मा जापान फर्कंदा करिब नौ सय थरीका हिमालयन चेरीका बिउ उपहारस्वरूप हस्तान्तरण गरेका थिए। आतामी सहरको सिमोतागाको आतामी म्युनिसिपल फार्ममा छरिएका तीमध्ये तीन सय बिरुवा उम्रेका र ६० बिरुवा अङ्कुरण भएका रहेछन्।

बाँकी ६० मध्ये हाल एउटा मात्र ‘मूल रुख’ अभिभावक साकुरा’का रूपमा आतामी प्रिफेक्चरल हाइस्कुलको गेट अघिल्तिर जीवित छ। बाँकी हजारौं छोरा र नाति पुस्ताका रुखहरू सिजुओका, सिनसुई पार्क, सुकिमिगाओका पार्क, चेरी ब्लोसम ट्रेल, नागाहामा समुद्री किनार, योकोहामा क्र फुजिगाओका पार्कवरिपरि छरिएका छन्। र त्यसका सयौं किलोमिटरसम्म फैलिएका छन्। हिमालयन साकुरा जापानभर विस्तार हुँदै गएको देखिन्छ।

साकुरा पर्व जापानी राजाहरूले सुरु गरेको मानिन्छ। आज पनि जापानी राजपरिवारका सदस्यहरू दरबारपरिसर भित्रको फराकिलो बगैंचामा रहेको साकुराको रुखमुनि बसेर यो पर्व मनाउँछन्। यसको इतिहास १२ सय वर्षभन्दा पुरानो छ।

इतिहासअनुसार सागा (७८६–८४२) नाम गरेका सम्राटले हेइयान काल (७९४—११८५) मा अर्थात् सन् ८१२ सालबाट यो पर्व मनाउने प्रथा थालेका हुन्। तत्कालीन जापानको राजधानी क्योटो सहरमा अवस्थित सिसेनएन मन्दिरमा ‘हानाएन नो सेचु’ नामको औपचारिक कार्यक्रमको आयोजना गरेर सम्राट सागाले साकुरा हेर्ने पर्व हानामीको सुरुवात गरेको इतिहास छ।

जापानी भाषामा ‘हानामी’को अर्थ फूल हेर्नु हो। भावका हिसाबले यसको पूरा अर्थ ‘फूल हेर्ने उत्सव’का रूपमा बुझिन्छ। उमे, किकु र साकुरा मात्रै होइन, अन्य धेरै फूल चिनियाँ तथा कोरियाली प्रायद्वीपबाट जापान भित्रिएका हुन्। निश्चित मिति उल्लेख नभए पनि जापान भित्रिएको सबैभन्दा पुरानो फूलका रूपमा उमेलाई लिइएको कुरा सन् ७७० मा प्रकाशित मानयोसु ग्रन्थमा उल्लेख छ।

साकुराको गरिमा जापानमा मात्रै सीमित छैन। यसप्रतिको आकर्षण र रौनक विश्वभरि फैलिएको छ। हानामी पर्वको संस्कारले पनि युरोप, अमेरिका र अस्ट्रेलियासम्म छिचोलेको धेरै भइसक्यो। जापानमा रहेको नेपाली समुदाय त झन् यो परिवेशमा पूरै परिचित र घुलमिल हुँदै साकुराप्रति अपनत्व महसुस गर्न थालिसकेको छ।

–अनेसासका पूर्वअध्यक्ष पौडेल दुई दशकदेखि जापानमा बसोबास गर्छन्।

प्रकाशित: ३० चैत्र २०८१ ११:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App