२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml १३:१७ अपराह्न
समाज

पूर्वमा ‘बम आतङ्क’ फैलाउने समूहका दुई पक्राउ

सुनसरी र झापामा आतङ्क फैलाउने समूहका दुई जना सक्रिय सदस्यलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापाको कन्काई नगरपालिका-८ का ४६ वर्षीय खगेन्द्र खरेल (सञ्जय) र लक्ष्मीदेवी थापा छन्। भारतमा लुकेर बसेको अवस्थामा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको हो।

गत पुस १६ मा इटहरी उपमहानगरपालिका अगाडि शङ्कास्पद प्रेसर कुकर फेला परेपछि नेपाली सेनाको काली शक्ति गणको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो।

कुकरभित्र राष्ट्रिय सुरक्षा दल (एनडीएस) का केन्द्रीय अध्यक्ष नसिमको नाम लेखिएको पर्चा भेटिएको थियो।

त्यसै दिन सुनसरीको बूढी खोला र धरानको भोटे पुल नजिकै बम राखिएको हल्ला फैलिए पनि सेनाले कुनै वस्तु फेला पारेन। पछि रामधुनीको कारागारमा बम राखेर उडाउने धम्की दिएको पर्चा सञ्चारमाध्यममा फैलिएपछि प्रहरीले निगरानी बढाएको थियो।

पक्राउ परेका खरेलको नेतृत्वमा २०७८ चैतमा इटहरी-२ नवजागृति टोलमा कोठामा बम विस्फोट हुँदा रबिन थापा र शेरजङ्ग गुरुङ घाइते भएका थिए।

घटनास्थलबाट हिमाल सुरक्षा परिषद् नेपालको पर्चा बरामद भएको थियो। खरेलले झापाको बिर्तामोड र दमकमा पनि बम आतङ्क मच्चाएका थिए।

दुई वर्ष पाँच महिना कैद भुक्तान गरेर छुटेपछि उनी पुनः आतङ्ककारी गतिविधिमा संलग्न भएको सुनसरीका एसपी तिम्सिनाले जानकारी दिए। प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।

प्रकाशित: २१ चैत्र २०८१ २०:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App