"छोराछोरी त बराबर नै हुन्छन्।"विमलाले आफ्नी छोरीको कपाल समासमाउँदै भनिन्।
"हो नि बहिना हामीले पनि छोराछोरी बिच कत्ति पनि फरक देख्दैनौं। तर मानिसहरू छोरा भनेपछि खुत्रुक्कै पारान हाल्छन्। छोरा त नभै नहुने सबैलाई।" जम्कलीले पनि समर्थन गर्दै भनी।
"कुरा नगरौँ दिदी तल्ला घरेले सात बहीना छोरी जन्माए छोराको चक्रमा, फेरि पनि छोरा नभएपछि अर्की ल्याए त्योबाट पनि छोरी नै भइ भन्छन्।"-विमलाले नाक मुख बिगार्दै भनी।
"यही त हो नि पुरूष प्रधान समाज भनेको उनीहरूले जे गरे पनि सही भयो तर महिला भने सधैँ पीडित नै छन्। के छोरा जन्माउने र नजन्माउने महिलाको हातमा हुन्छ? धेरैको यस्तै छ। हाम्रै जेठाजुको तीन विवाह भैसक्यो तर छोरा अहिले पनि थाहा छैन, हुन्छ कि हुँदैन।"जम्कलीले पनि निदार खुम्चाउँदै दुखेसो पोखी।
"केसरी जाउ त छोरी भित्र किचनमा खानपिनको व्यवस्था गर। अहिले तिम्रो दाइ थाकेर आउँछ।"-विमलाले आफ्नो छोरीलाई अह्राइन्।
जम्कलीले सोधी, "काँ गयो र लाले?"
विमलाले भनी,"खेल्न जान्छु भन्थ्यो कता गयो कुन्नि कहिल्यै सही भन्ने भापो!"
"हेर्नु न् ठुली आमा, छोराछोरी बराबरी अरे! दादा सधैं खेल्न जान्छ। मैले किचनमा भान्छा पकाउनुपर्छ। अनि सम्पत्ति पनि दादाकै नाममा होला? आफूले त सधैँ भाँडा माझ्नपर्छ होला।"केसरी आफ्नो आमातिर हेर्दै प्याच भनी र भित्रतिर गई।
प्रकाशित: २४ फाल्गुन २०८१ १३:५४ शनिबार