ओर्लेर पनि त पुगिन्छ उचाइको गन्तव्यमा! उक्लनु मात्रै यात्रा होइन है विष्णु सर ओर्लन सिकेपछि मात्रै यात्राको सुखानुभूति अनुभूत हुन सक्छ। मैले गाडीभित्र एक फाँकी आवाज फ्याँकें।
ओर्लने बेला यो दर्शन कहाँबाट फुर्यो? विष्णु सरको जवाफ थियो यो। गाडीभित्रका केही साथी हाँस्नुभयो। ओेर्लने चाह नभएकाहरू बसिरहन सक्नुहुन्छ रातभरि भन्दै म पनि हाँसिदिएँ र अगाडिअगाडि पाइला चालें।
झण्डै ४ डिग्रीबाट ओर्लंदै गरेको तापक्रममा स्युस्युस्यु गर्दै साथीहरू पोकापुन्तुरा गाडीबाट खसाल्न लाग्नुभयो।
यतिबेला हामी रुवीभ्यालीको पुरु गाउँमा थियौं र साँझ थपक्क धर्तीमा ओर्लिएर छपक्क अँध्यारोले जमिन छोप्दै थियो।
म पुड्के झोला मिलाउँदै ओर्लिएर लमकलमक गर्दै पहिलो पाइलो प्रकाश घलेको घरतिर उचाल्दै के थिएँ बाघजत्रो कुकुर ढसमस्स तँगारोमै देखें। उसले ह्वाङ्ह्वाङ् गर्दा त मेरो सातो डगमगायो।
मलाई अगाडि नै जानु किन पनि थियो भने संसार समयमा ओर्लनेहरूले नै जित्छन् भन्ने देखाउनु थियो।
लाग्यो- जित्नु भनेको पहिलो पुग्नु मात्रै पनि त होइन। म पहिलो हुन हच्किएँ।
कुकुरको डरले पहिलो हुने चाहनामा तुषारात भयो। डरपोकहरूलाई कहाँ प्रथम हुने छुट छ र?
संसार जित्नु छ भने पहिला आफैंलाई जित्नुपर्छ। मनको डर त्याग्नुपर्छ। जितको पहिलो तयारी नै आफूभित्रको त्रासमाथिको विजय हो। यही शिक्षा अरूलाई कति पटक दिइयो होला तर आफूलाई पर्दा कहाँ काम लाग्दोरहेछ र? त्यसैले त भनिन्छ: मान्छेको ज्ञान आफूलाई पर्दा काम लाग्दैन। अर्कालाई उपदेश दिन मात्रै। चुपचाप लुरुक्क लाग्नुको अर्को उपाय पनि त थिएन।
एउटा प्रसङ्ग जसरी आयो त्यसरी नै त्यही सकियो। हाम्रा मन्त्रालयहरूमा मौसमी र मनसुनी मन्त्रीका भाइभारदारले निकालेका मनमौजी योजना सिध्दान्त जस्तै।
सहर, बजार र सुगममा माया, प्रेम र आतिथ्यका कुरा धेरै हुन्छन्,सत्कार र संस्कृतिका प्रसङ्ग धेरै उठ्छन्। सिध्दान्तका फलाको पनि कति हो कति सुनिन्छन्। मात्रै सुन्नका लागि। जसले मायाका कुरा धेरै जान्दछ उसले नै घृणा पनि सिकिरहेको हुँदोरहेछ, जसले सत्कारको पाठ धेरै सिकेको छ उसले तिरस्कार पनि सिक्दोरहेछ। जहाँ अतिथि देवो भवः का सप्रसङ्ग व्याख्याहरू हुन्छन् त्यहाँ अतिथि लुट संस्कृति पनि त मौलाउँदोरहेछ।
व्यवहारतः त्यसको प्रयोग भने सिध्दान्त नसुनेका, नबुझेका र नजानेको घर दैलोमा पुग्नुपर्दो रहेछ।
हो, हामीले त्यही त पायौं पुरुको प्रकाश घलेजीको घरमा पुगेपछि। घर पुग्नु अगाडि नै रस्यौटोमा हाम्रा लागि धुनी बालेर प्यारको न्यानो घरभरि फिजाइएको रहेछ। भर्खर भुटेको तात्तातो लेकाली मकै र भटमास थालभरि बनाएर राखिएका थिए। हामी पुग्नासाथ लेकाली आलु भुङ्ग्रामा हालेर पाकेपछि आफैं झिकेर खान सुझाव प्राप्त भयो।
कस्तो आत्मीय! कति विचित्र सत्कार! जाडोले सबै कठ्याङ्ग्रिएकाले मनग्ये तातोपानी र इच्छाअनुसार चिया पिउन पनि थर्मस र किट्लीहरू तयार थिए। न उनीहरूलाई परोपकार पुण्याय पापाय परपीडनम् थाहा छ। न अतिथि देवो भवः र यसको दार्शनिक मूल्य ज्ञान छ।
उनीहरूलाई यति थाहा छ कि घरमा पाइला टेक्नेहरूको भोक, प्यास शान्त गरिदिनुपर्छ, दुःखदर्द सम्हालिदिनुपर्छ। प्रेम, श्रध्दा र आत्मीयले छुर्लुप्प बनाइदिनुपर्छ। उनका दर्दहरू आफ्नै हुन्, तृष्णा, क्षुधा र अशक्ततामा हामी आफ्नै जस्तै दुख्नुपर्छ।
वेदनामा सँगै रुने र खुशीमा सँगै हाँस्ने मन त्यहाँका नागरिकहरूमा छ। धन्न पैसाका लागि आफू, आफ्ना र आफन्तहरूमा छुरा चलाउने वर्तमानमा त्यहाँ पुगसकेको रहेनछ।
त्यति पायौं त्यहाँ। हाम्रा लागि त्योभन्दा दिव्य व्यवहार अर्को थिएन। अपेक्षा पनि थिएन।
साँझ ७: ३० बजेको हुँदो हो हामी त्यहाँ पुग्दा। आगोले मनग्ये सेकिएर कहिले पोलेको आलु र कहिले भुटेको मकै मुर्क्याउनुको मजा त्यहाँ बेग्लै थियो। सम्झदा पनि आनन्दले दिल रसाउँछ।
बेलुका २८ जनाका लागि एकै घरमा पूर्ण बन्दोवस्तीका साथ सुत्ने प्रबन्ध भयो। लगलग कँपाउने जाडोमा सबैलाई बलिया सिरक डसना र कम्वलले सुस्वागत गर्नु सजिलो थिएन उहाँले गर्नुभयो।
हामी कृतार्थ भयाैं।
बिहान उज्यालोले पुरुको माटोलाई स्पर्श गर्नासाथ यात्रादल ब्युँझियो। मानवीय नित्यकर्मसँगै चियाको चुस्की लिएर लिङ्जाोतर्फ उकालियौं। हिंड्ने बेला प्रकाशजीले गोजीमा भुटेको मकै र भटमासले भरिदिनुभएको थियो। चपाउँदै उकालो चढ्नुको आनन्द छुट्टै हुँदो रहेछ।
समय र कुहिरोको बिछट्टको लुकामारी त्यहाँ देखिन्थ्यो। किन उषाको सौन्दर्य खोस्न खोज्छ हँ यो चुलबुले कुहिरो? छपक्कै ढाकेर यहाँका बोट बिरुवा र कालिन सूर्यरश्मिसँग केको पौंठेजोरी खेल्न खोज्दैछ यो हुस्सू?
मलाई एक प्रकारको झोक चल्छ तर हुस्सुले बोकेर ल्याएको मुटु कमाउने सिरेटोबाट वचन लुगामाथि लुगा खाप्नु वा सिरकभित्रै आफूलाई दम्पच बनाउनुबाहेक अर्को कुनै विकल्प थिएन। हामीलाई ती विकल्पको कुनै काम थिएनन्। तेस्रो विकल्प हाम्रो लागि तयार थियो - उत्तिष्ठत जाग्रत।
हामी उठिसकेका थियौं र जागिसकेका थियौं। हाम्रो लागि जाडो धपाउने एकै विकल्प थियो - चरैवेति-चरैवेति।
हामी हिड्यौं। प्रकाशजीको परिवारको माया स्पन्दनको ढुकढुकीमा लुकाएर उकालो बाटो उक्लिरह्यो। तैपनि कुहिरो त्यहाँ किन अटेर बसिरहन चाहन्छ हँ! मलाई सोध्न मन थियो तर कसलाई सोध्ने? कलिलो प्रभातको आभालाई ९ बजेसम्म स्यूस्यूमा रूपान्तरण गरेर कुहिरोले ज्यादती गरेको थियो त्यो दिन। २३ कार्तिकको बिहान उकालिनु नै थियो। पुरुबाट ३ घण्टा करिब हिंडेपछि लिङ्जो पुगिन्थ्यो र त्यहाँ पनि अर्का सज्जनले बिहानको खाना समर्पण गरेका थिए। संयोगले उनको नाम पनि पुरुका प्रकाश घलेको सँग नाम थरसमेत मिल्ने- प्रकाश घले।
उनी रहेछन् जडिबुटीका पनि मर्मज्ञ र सामुदायिक वनका अध्यक्ष पनि। उनले पनि मांसाहार समेत मिलाएर आतिथ्य सत्कार गरे। आफूलाई त्यसको आदत नभए पनि हुनेहरूका लागि सम्झना भयो। प्रकाशजीले पनि भोजनका निः शुल्क व्यवस्था गर्नुभयो। उहाँ हामीसँगै गणेश हिमाल वेस क्याम्प तथा गणेशकुण्डसम्म जान पनि तयार हुनुभयो। बाटोमा अनेक जडीवुटी र बाेट वनस्पतिको जानकारी पाइने सुखद् आनन्दले म फुलेल भएँ।
कुहिरोले जतिसुकै ढिट गरे पनि र अटेरी भए पनि सूर्यको प्रकाशसँग उसको केही लाग्दो रहेनछ। ९ बजेतिर हामी लिङ्जो अर्थात् तिप्लिङकाे मात्रै नभएर धादिङकाे सुदूर उत्तरी वस्तीमा पुगेका थियौं। ७०/८० घर रहेको लिङ्जो रमाइलो वस्ती रहेछ। वनको पुछारमा रहेको यो लेकाली गाउँको मूल पेशा भेडाबाख्रा पालन, चौरी पालन, जडिबुटी सङ्कलन, काठका फर्निचरहरू निर्माण रहेछ। २/४ वर्ष यता लिङ्जोमा स्याउ, ओखर तथा हाडे बदामका बिरुवाहरू पनि हुर्किरहेका छन्। कस्तो श्रमशील पाखुरी लिएर जन्मिएका बासिन्दाहरू कति विचित्र उर्वरशील माटो।
फलेर, फलाएर नथाक्ने, उम्रिएर उमारेर नसकिने माटो र परिश्रमी नागरिकहरूको बस्ती रहेछ लिङ्जो। जहाँ बाह्रै महिना हरियो भरिलो र खेतीपातीले ढाकेको जमिन मात्रै देख्न पाइन्छ। कतै अहिले जौ र गहुँका टुसाले भरिएको बारी छ। मकै र आलु उतारेर कतै भ्याइनभ्याइ लेकाली सिमी उठाउन बितिसकेको पनि आँखाले देख्न पाइन्छ। कतै कोदो र त्यसको भित्री बालीसँगै जुनेलोले ढाकेका कान्लाहरू पनि रङ्गमय लाग्छन्।
यस्तो लाग्छ, लिङ्जोको माटोमा जादु छ, जहाँ जे चितायो त्यही फल्न सक्छ। जुनेलो, मकै, सिमी, कोदो, आलु,जौ, लसुन, प्याज, जडिबुटीहरू निर्मसीहरू पनि खेती गरिएका रहेछन्। फापर भने कम उत्पादन हुने भएकाले छोड्दै गएको देखियो। कहीं कतै सानो टुक्रा जग्गा पनि खाली छैनन्। उखान जस्ताः मान्छे हँसिला,ज्यान कसिला जग्गा रसिला।
हामीलाई लोभ्याउनु लोभ्यायो लिङ्जोको गाउँले। लिङ्जो पनि अनौठो प्रकृतिको अर्थयुक्त रहेछ। प्रारम्भमा आउने पुर्खाहरू लिङ्जोको तल्लो गाउँमा बसेका रहेछन्। केही सेपिलो र घाम ताप्न कतै ठाउँ नभएपछि अहिले विद्यालय भएको ठाउँमा ठूलो ढुङ्गा रहेछ। अग्लो र फराकिलो। त्यही ढुङ्गामा लिस्नो (भरयाङ) हालेर चढ्ने घाम ताप्ने चलन रहेछ। (लिङ्ंजो) त्यसैबाट लिङ्जो शब्दोद्भव भएको रहेछ। अहिले भने त्यो घामताप्ने ठूलो ढुङ्गा विद्यालय बनाउन हाम्रो यात्रा र यात्रीहरूको चरैवेति चिन्तन देखेर हो कि किन हो पाविलको टुप्पाबाट सूर्यरश्मिको सुटुक्क आगमन भयो। जाँड धोकेका जँड्याहा लर्खराउँदै पुलिसलाई देखेपछि भागाभाग भए जस्तै पाविलको थाप्लाबाट उम्रिएका सुकुमार सूर्यप्रसाद देखेपछि भुइँकुहिराका मुस्लाहरू अलप हुन थाले। उज्यालोमा बल्ल ९ बजेपछि लिङ्जोको सफेद स्निग्ध अनुहार जगमगाउन थाल्यो। हाम्रो यात्रादलमा केही साथी पुरुबाट र केही साथी लिङ्जोबाट थपिएका थिए।
मर्कुस तामाङ, राजु तामाङहरू पुरुबाट नै थिए जो हाम्रा पथप्रदर्शक पनि थिए। वीरबहादुर तामाङ, प्रकाश तामाङहरू लिङ्जोबाट थपिए जसले हामीलाई यात्राभर साथ आँट र विश्वासको भरथेग गर्नेछन्।
बेस्करी मस्किंदै थियो घामको चहकमा लिङ्जो। थाप्लामा हिउँको फेटा गुथेको पाविल, हाँखर्क र सेरोफेरोको हिमानी प्रतिबिम्ब। रगरगती हिंडिरहेका थिए वन लैजान बाटै छेकेर कुदिरहेका भेडा बाख्राका बकुद्र हुलहरू। ९ बजेतिर हामी लिङ्जो छोडेर उचालियौं। अब केही दिनका लागि मानव वस्तीविहीन क्षेत्रतर्फ उचालिंदै थियौं। गोठहरू, चौंरीहरू तथा भेडाबाख्राहरू र तिनलाई ख्याल गर्ने फाट्ट फुट्ट गोठालाहरू मात्रै भेटिन्थे।
उचालिंदै जाँदा एउटा अनौठो गुफा भेटियो। त्यस गुफालाई कामधेनु गुफा र कसैले कामधेन गुफा पनि भनेको सुनियो। त्यस गुफामा गाईको एउटा पाइलाको आकृति पनि थियो। कसैले यो महादेवको बसाहाको पाइला पनि भनें। त्यससँग जोडिएका केही किस्सा पनि थिए।
हामीले पहिलो पटक नुमसिग खर्क भेट्यौं। मोटाघाटा र सिधा बलिया ३०/४० चौरीका बथान थिए। त्यहाँ भेटिएका सज्जनले केही छुर्पी कोसेली दिनुभयो। चौरीको स्वादिलो दुधपान गराउनुभयो र हाम्रो यात्राको सफलताका लागि कामना पनि गर्नुभयो। बेलुका मध्यसाँझमा हामी सिन्दुरखर्कका रित्ता गोठतिर पुग्यौं।
रिमरिम अध्याँरोमा पनि साथीहरू कोही पानी लिन कुवातिर, कोही दाउरा भाँच्न वन वनेलीतिर र कोही चुलो तताउनतिर लागे। आज अलिअलि टेलिफोन टावर मोवाइलमा देखिएकाले हामीले आउँदो ७ दिनको अपडेट हेर्यौं। पानीको सम्भावना देखिएन। बदली हुने सम्भावना पनि थिएन। थाकेको शरीरभित्रको मन चङ्गा भइरह्यो। करिब १० बजेतिर आआफ्ना सुत्ने थैलाभित्र छिरेर धुर्न लाग्यौैं।
भोलि त हिमाल छेक्ने बादल हामीबाट हारेर पर हुनेछ। एकसिर्को खुशी यसै पलाइदियो। अनुहारबाट पाँजिएर फैलियो। भुईकुहिरो पनि नआइदिए कति रमाइलो हुँदो हो बिहानको हिमाल! मन कल्पँदै थियो।
चिसो सिरेटो मुटुमा चस्स घोच्ने गरेर बगिरह्यो। आकाशतिर बादलका घेरा डम्म लागिरह्यो र हिमाललाई छेकेर बस्न खोजिरहेका जब्बर बादललाई उडाउने गरेर हावा नचलेपछि भोलि हामीलाई रमाइलोसँग गिज्जाइरहने हिमाल छेकिने छैन। भुँई कुहिरोको तुँवालोले पनि हामीलाई बाधा गर्ने छैन। खुला धर्ती पर्दारहित हिमाल देख्नेछौं।
मात्रै चौरी हामीबिच हुनेछैन किनकि चौरीहरु हिउँ पर्न थालेपछि वनको तल्लो भेगतर्फ झरिसकेका छन्। जसलाई हामीले छोडेर आइसकेका छौं। उनीहरू बसाइँ सरेको गोठमा आज हाम्रो बास परेको छ। त्यसैले अब हाम्रो साथी भुइँकुहिरो र बादल मात्रै हुने छन्। चौरीहरु त बेसीतिर झरिसकेका छन्।
प्रकाशित: ४ फाल्गुन २०८१ १०:५२ आइतबार