११ मंसिर २०८१ मंगलबार
image/svg+xml
ग्राहक विशेष

खेलकुदमा महिला : अन्तर्राष्ट्रिय साख बचाउँदै खेलाडी

सीमित अवसरका बाबजुद महिलाले हरेक क्षेत्रमा सुनौला अक्षरले गर्विलो इतिहास लेखेका उदाहरण प्रशस्तै छन् । नेपालको राजनीति, सामाजिक, आर्थिक र खेलकुद जुनसुकै क्षेत्रमा  तुलनात्मकरूपमा महिलाको सहभागिता न्यून छ । यति हुँदाहुँदै पनि समाजमा आफ्ना कामले उनीहरू स्थापित छन् । राष्ट्रपति, प्रधानन्यायाधीश, मुख्य सचिव र अन्य प्रशासनिक क्षेत्रका सर्वोच्च पदमा उनीहरू पुगिसकेका छन् । यी जिम्मेवारीमा  उनीहरूको प्रदर्शन पनि अब्बल छ ।  

गर्विलो इतिहासको यो शृंखलामा खेलकुद क्षेत्र पनि पर्छ । विशेषगरी नेपाली खेलकुदले हासिल गरेका ऐतिहासिक सफलतामा महिला अग्रपंक्तिमा देखिन्छन् । दीर्घकालीन योजना, न्यून लगानी र प्रोत्साहनबिना पनि अन्तर्राष्ट्रिय स्तरमा महिलाको प्रदर्शन सदैव सम्झनलायक छन् । राज्यले महिलालाई खेलप्रति आकर्षित गराउन कुनै योजना या लगानी नगर्दा पनि स्वःस्फूर्त सहभागिता भएको छ । दक्षिण एसियाली राष्ट्रहरूको प्रतिस्पर्धा एसियाली खेलकुद (साग) होस् वा ओलम्पिकमा नेपाली महिला खेलाडीले इतिहास रचेका छन् ।  

ओलम्पिक, एसियन गेम्स (एसियाड) र दक्षिण एसियाली खेलकुद (साग) यी तीनै विश्व खेलकुद मञ्चहरूमा पुरुषको तुलनामा नेपालका महिलाले इतिहास रच्दै आएका छन् ।  ओलम्पिक खेल्न छनोट यात्रा होस् वा एसियाड र सागका नतिजा, यी तीनै प्रतियोगितामा महिला खेलाडीको सहभागिता अर्थपूर्ण छ ।

त्यसो त, महिलाको मात्र होइन, व्यावसायिकरूपमा नेपाली खेलकुदकै इतिहास लामो छैन । २०२८ सालमा नयाँ शिक्षा लागु भएसँगै वीरेन्द्र सिल्ड प्रतियोगिता सुरु भएको थियो । त्यसपछि २०३८ सालमा पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । यी प्रतिस्पर्धा सुरु भएसँगै केही मात्रामा महिला खेलाडीको सक्रियता बढ्न थाल्यो । विशेषगरी ब्याडमिन्टन, टेबलटेनिस र भलिबलमा उनीहरूको सहभागिता हुन्थ्यो ।  

‘नयाँ शिक्षा लागुपछि वीरेन्द्र सिल्ड प्रतियोगिता सुरु हुन थाल्यो । त्यसपछि पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता २०३८ सालमा भयो । यसमा महिला खेलाडीको पनि सक्रिय सहभागिता थियो । भलिबल, ब्याडमिन्टन र टेबलटेनिसमा महिलाको सहभागिता हुन्थ्यो’– खेल अनुसन्धानकर्ता दिवाकरलाल अमात्य भन्छन् । तर संस्थागतरूपमा नै खेल आयोजना हुन थाले पनि महिला सहभागिता सन्तोषजनक हुन सकेन । उनीहरूलाई प्रोत्साहित गर्ने योजना र अपेक्षित लगानी आउन नसक्दा खेलप्रति महिलाको आकर्षण बढेन । त्यो अवस्था अहिले पनि छ । लगानी र प्रोत्साहनका पनि पुरुषको तुलनामा महिला खेलाडीलाई कम छ ।

तस्बिर : श्याम चित्रकार

 अचम्मलाग्दो पक्ष के छ भने पुरस्कार रकम वा विभिन्न संघले दिने तलब र सबैखाले सेवा÷सुविधामा महिला खेलाडी पछाडि छन् । निजी क्षेत्र र विभिन्न संस्थाले व्यावसायिकरूपमा महिला खेल आयोजना गर्दैनन् । कहीँ कतै प्रयास भए पनि त्यसले निरन्तरता पाएको छैन । व्यावसायिक फ्रेन्चाइज लिग होस् वा घरेलु प्रतियोगिता, पुरुषको तुलनामा महिलाको कमै आयोजना हुन्छ । नेपालमा फ्रेन्चाइज लिग सुरुआतको पनि एक दशक भैसकेको छ । यसबीच क्रिकेट, फुटबल र भलिबलका फ्रेन्चाइज लिग भएका छन् । दशकभित्र क्रिकेट र भलिबलमा एक संस्करण महिलाको फ्रेन्चाइज लिग भए । केही वर्षअगाडि क्रिकेटमा पहिलो संस्करण आयोजना गरिएको थियो तर त्यसले निरन्तरता पाउन सकेन ।

फ्रान्समा सम्पन्न पेरिस पारालिम्पिकमा पलेशाले ऐतिहासिक कास्य पदक जितिन् । काठमाडौँ डिल्लीबजारकी पलेशाले पारा तेक्वान्दोको के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनि तौलबाट कास्य जितेकी हुन् । चीनमै सम्पन्न एसियाली पारालिम्पिक छनोटमा स्वर्ण जित्दै पलेशाले पेरिसका लागि स्थान बनाएकी हुन् ।

महिला भलिबलमा यसै वर्षदेखि फ्रेन्चाइज लिग सुरु भएको छ । तर यसको निरन्तरतामा पनि प्रश्न उठ्न थालिसकेको छ । महिला खेलकुद पूर्णरूपमा व्यावसायिक बन्न नसक्दा उनीहरू आकर्षित हुने वातावरण बनेको छैन । न निजी क्षेत्र न त सरकारले नै महिलालाई खेलकुदमा प्रोत्साहित गर्न सकेको छ । खासमा, अहिलेसम्म महिलालाई खेलमा प्रोत्साहन गर्ने कुनै योजना आएका छैनन् । यसो हुँदाहुँदै पनि स्वःस्फुर्तरूपमा खेलकुदमा समर्पित नेपाली महिलाले गर्विलो इतिहास बनाएका छन् । 

यो पनि पढ्नुहोस्

लिलाम बढाबढमा पार्टी : प्रजापरिषद्को हालतमा सद्‍भावना

खेल अनुसन्धानकर्ता दिवाकरलाल अमात्यका अनुसार २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि खेल मैदानमा महिला संख्या अधिक देखिन थालेको हो ।  त्यसअघि वीरेन्द्र सिल्ड प्रतियोगिताका कारण नेपाली खेलकुदमा महिला सहभागिता देखिन थालेको उनी  बताउँछन् ।

प्रतिकूलताबीच सफलता

ओलम्पिक, एसियन गेम्स (एसियाड) र दक्षिण एसियाली खेलकुद (साग) यी तीनै विश्व खेलकुद मञ्चहरूमा पुरुषको तुलनामा नेपालका महिलाले इतिहास रच्दै आएका छन् ।  ओलम्पिक खेल्न छनोट यात्रा होस् वा एसियाड र सागका नतिजा, यी तीनै प्रतियोगितामा महिला खेलाडीको सहभागिता अर्थपूर्ण छ । नेपालका लागि पुरुषको तुलनामा महिलाको प्रदर्शन दरिलो रहँदै आएको छ । महिलाले एसियाडका कुनै संस्करणमा पदकबिहीन हुनबाट जोगाएका छन् भने दक्षिण एसियाली खेलकुदमा स्वर्णबिहीन हुन दिएका छैनन् । साथै नेपाली खेलकुदका उपलब्धि र महिलाबीच घनिष्ठ सम्बन्ध देखिन्छ ।

अधिकांश ऐतिहासिक सफलतामा महिला खेलाडीकै विशेष योगदान छ । सीता राई, सविता राजभण्डारी, संगीना वैद्य, आयसा शाक्य, गौरिका सिंह, एरिका गुरुङ, पलेशा गोवर्धन र सावित्रा भण्डारी नेपाली खेलकुदले सदैव सम्झने नाम हुन् । यीबाहेक अन्य खेलाडीको योगदान पनि उत्तिकै सराहनीय छ ।  

कराते खेलाडी सीता राई

करातेकी सीता राई

सन् १९५१ मा नयाँ दिल्लीमा भएको पहिलो एसियाडदेखि नै नेपाल सहभागी हुन थालेको हो । तर पदक जित्न भने सन् १९८६ को दसौँ संस्करणसम्म कुर्नुपर्‍यो । यसपल्ट नेपालका ८ खेलाडीले ८ कास्य पदक जितेका थिए । यो संस्करण अहिले पनि नेपाली खेलकुदका लागि यादगार छ किनकि एसियाडको ७२ वर्षे इतिहासमा नेपालले कहिल्यै पनि यो सफलता पाउन सकेन र पदक पाउने सम्भावनको नजिक पनि पुगेन । नेपालका लागि महिला खेलाडीले पहिलोपल्ट सन् १९९४ को एसियाडमा पदक जिते । करातेकी सीता राईले जितेको पदक नै नेपाली महिला खेलाडीले यति ठूलो प्रतिस्पर्धा जितेको पहिलो र ठूलो सफलता रह्यो । त्यसपछि भने महिला खेलाडीको प्रदर्शन सदैव अब्बल रहँदै आएको छ ।

तेक्वान्दो खेलाडी सविता राजभण्डारी । तस्बिर : श्याम चित्रकार

ऐतिहासिक पदक विजेता सविता

तेक्वान्दोकै खेलाडी सविता राजभण्डारी पनि नेपाली खेलकुदले सदैव गर्व गर्ने खेलाडी हुन् किनकि उनले नेपाली खेलकुदलाई सबै भन्दा ठूलो सफलता पहिलोपल्ट दिलाएकी थिइन् । जसले नेपाली खेलकुदकै सबै भन्दा ठूलो सफलता सन् १९९८ मा दिलाइन् । थाइल्यान्डको बैंककमा सम्पन्न १३औँ एसियाडमा सविताले रजत जितेकी थिइन् । यो नै एसियाली खेलकुदमा नेपालले जितेको पहिलो रजत हो । हालसम्म नेपालले एसियाडमा तीन रजत जितेको छ । त्यसमध्ये दुई रजत पदक नै महिला खेलाडीले दिलाएका हुन् । करातेकी एरिका गुरुङले सन् २०२३ मा चीनको हानझाउमा सम्पन्न एसियन गेम्समा रजत पदक प्राप्त गरेकी थिइन् । सन् १९९८ पछि नेपालले व्यक्तिगत स्पर्धामा जितेको यो दोस्रो रजत थियो ।  

तेक्वान्दो खेलाडी संगिना वैद्य । तस्बिर : श्याम चित्रकार

ओलम्पिक छनोट जित्ने संगिना वैद्य

ओलम्पिक यात्रामा पनि नेपालका महिला खेलाडीले नै इतिहास बनाएका छन् । नेपाली खेलकुदले पाएको सबै भन्दा ठूलो नाममध्ये एक हो– तेक्वान्दोकी संगिना । उनी छनोट पार गरेर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुन् । नेपालको खेल इतिहास सन् २००४ को एथेन्स ओलम्पिकअगाडि यिनै बहादुर महिलाले यो सफलता दिलाइन् । एथेन्स ओलम्पिकअघि नेपालले छनोट पार गरेर ओलम्पिक खेलेको थिएन ।  ओलम्पिकमा छनोट भएर नेपालले खेल्न सक्दैन भन्ने विश्लेषण हुन्थ्यो । तर संगिनाले सबै अनुमान गलत सावित गरिदिइन् र नयाँ इतिहास रचिन् । संगिनाको यो सफलतापछि खेलकुदमा महिलाको सहभागिता पनि बढेको पाइन्छ । उनीपछि तेक्वान्दोकै दीपक विष्ट, टेबलटेनिसका स्यान्टु श्रेष्ठ र तेक्वान्दोकै पलेशा गोवर्धनले छनोट चरण पार गर्दै ओलम्पिक खेलेका हुन् । 

यो पनि पढ्नुहोस्

अख्तियारबाट जोगिन अदालतमा ‘लेनदेन’ मुद्दा

त्यसबाहेक ओलम्पिक खेल्न नेपालले वाइल्ड कार्ड (अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले बिना छनोट खेलमा सहभागी गराउने प्रक्रिया) सहारा लिने गरेको छ । तर संगिनाले नयाँ इतिहास कोरिन् । त्यसपछि मात्र खेलकुदको ठूलो मेला मानिने ओलम्पिकमा नेपालका कुनै पनि खेलाडीले पहिलोपल्ट बलियो आत्मविश्वाससाथ खेलेको थिए । यो सफलतापछि संगिनाले नेपाली खेलकुदलाई नयाँ उचाइमा पुर्‍याइन् । त्यसैले त नेपाली खेलकुदकै सफल खेलाडीको चर्चा हुँदा संगिनाकै नाम अगाडि आउँछ । २००४ को फेब्रुअरीमा थाइल्यान्डमा भएको एसियन ओलम्पिक क्वालिफाइङ च्याम्पियनसिपमा तेस्रो हुँदै संगिना ओलम्पिकमा छनोट भएकी हुन् । उनले सन् १९९६ मा अस्ट्रेलियामा सम्पन्न एसियन तेक्वान्दो च्याम्पियनसिपमा पनि स्वर्ण जितेकी थिइन् ।

नेपालमा करातेका २ समानान्तर संघ अस्तित्वमा थिए । त्यसैले एउटा कराते टोली राज्यको लगानीमा कोरिया पुगेको थियो । ध्रुवविक्रम मल्लको नेतृत्वमा रहेको अर्को टोली भने आफ्नै लगानीमा त्यहाँ पुगेको थियो । मल्लको टोलीमध्ये विमला तामाङले मात्र कातामा नेपालको तर्पmबाट चुनौती दिन पाइन् ।

कुनै पनि नेपाली खेलाडीले एसियन च्याम्पियनसिपमा जितेको यो नै पहिलो स्वर्ण थियो ।  अहिलेसम्म कुनै पनि नेपाली तेक्वान्दो खेलाडीले यो सफलता प्राप्त गर्न सकेका छैनन् । संगिनाले साग र एसियन च्याम्पियनसिपमा पनि स्वर्ण दिलाएकी छन् । उनले सन् १९९४ र २००२ को एसियन च्याम्पियनसिपमा पनि रजत र कास्य पदक जितेकी थिइन् ।  संगिनाको यो सफलतापछि नेपाली खेलाडीलाई ब्रान्ड एम्बासडर बनाउने परम्परा नै सुरु भयो । ६-७ वटा विभिन्न संस्थाले लगातार संगिनालाई ब्रान्ड एम्बासडर बनाए । यिनै संगिना अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पुरुषको तुलनामा सहभागिता कमै भए पनि महिला खेलाडीले धेरै राम्रा नतिजा दिएको स्वीकार्छिन् ।  

‘हामीले खेल्ने समयमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका क्रममा महिला भन्दा पुरुष खेलाडी नै धेरै हुन्थे । अहिले पनि त्यही स्थिति छ । पुरुषलाई नै प्राथमिकतामा राखेको देखिन्छ । तर अहिलेसम्मको नतिजा हेर्दा महिलाले नै नेपाली खेलकुदमा ऐतिहासिक नतिजा दिएका सत्य हो’– संंगिनाले भनिन् । उनले भने जस्तै ओलम्पिक छनोटदेखि पाराओलम्पिक, एसियन च्याम्पियनसिप र एसियाडमा ठूलो सफलता र सागमा धेरै पदक ल्याउने महिला खेलाडी नै हुन् ।

कराते खेलाडी एरिका गुरुङ । तस्बिर : लोकेन्द्रकुमार बस्‍नेत

  २५ वर्षपछि एरिकाले दोहोर्‍याएको इतिहास

एसियन गेम्समा २५ वर्षपछि अर्थात् सन् २०२३ मा व्यक्तिगत स्पर्धातर्फ सबैभन्दा ठूलो सफलता दोहोरिँदा त्यसमा पनि महिला खेलाडीकै योगदान रह्यो । करातेकी एरिका गुरुङले एसियाली राष्ट्रबीचको प्रतिस्पर्धाको फाइनल दोस्रोपल्ट नेपाली झण्डा फर्फराइन् । सम्भवत् एरिका नेपाली खेलकुदले पाएको सबै भन्दा उत्कृष्टमध्येकी खेलाडी हुन् किनकि एरिकाले पनि एकपछि अर्को ऐतिहासिक सफलताको सूचीमा आफूलाई उभ्याइन् । उनले देशलाई एसियाली खेलकुदमा करातेबाट पहिलो रजत पदक दिलाएकी छिन् । समग्रमा भन्नुपर्दा यो नेपालले एसियाडमा पाएको तेस्रो सफलता हो । चीनमा भएको यस एसियाडमा नेपालले सन् २००६ पछि दुई संख्यामा पदक जितेको थियो । यसमा पनि महिला खेलाडीकै योगदान रह्यो ।

यो पनि पढ्नुहोस्

हिमाली भूमिको मोहनी

एरिकासँगै नेपाली महिला कबड्डी टोलीले कास्य पदक जित्यो । पछि एरिकाले एसियन च्याम्पियनसिपमा पनि इतिहास रचिन् । उनी एसियन च्याम्पियनसिपमा रजत पदक दिलाउने पहिलो कराते खेलाडी बनिन् । नेपाली कराते खेलाडीले एसियन च्याम्पियनसिपमा जितेको यो पहिलो रजत पदक हो । उनले यो सफलता एकै वर्षको अन्तरालमा पाएकी हुन् ।

पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन 

पलेशा गोवर्धनको सनसनी

यसै वर्ष नेपाली खेलकुदकै सबै भन्दा ठूलो पदक प्राप्त भयो । गत भदौमा नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पेरिस पारालिम्पिक कास्य पदक जितिन् । यो नै नेपाली खेलकुदले पाएको सबै भन्दा ठूलो सफलता हो । ओलम्पिक स्तरमा नेपालले पदक जित्ने सपना जस्तै थियो । तर,. चीनमा आर्टिटेक्चर विषयमा अध्ययनरत पलेशाले त्यो सपना साकार पारिन् ।

कुनै दिन नेपाली खेलाडी समय छनोट भएर ओलम्पिक खेल्ने सपना मानिन्थ्यो । संगिनाले त्यसलाई सार्थकतामा बदलिन् । तर पलेशाले पदक नै जितेर संगिनाको सफलतामा इँटा थप्दै इतिहास रचिन् । ओलम्पिक स्तरमा पदक जित्ने पहिलो नेपाली खेलाडी पनि महिला बने । त्यसअघि चीनकै पारा एसियन गेम्समा पनि पलेशाले इतिहास बनाएकी थिइन् । पलेशाले गत वर्ष त्यस पारा एसियन गेम्समा कास्य पदक जितेकी हुन । त्यो पदक नेपालले पारा खेलकुदमा ल्याएको पहिलो पदक थियो । नेपालका महिला खेलाडीले नै दिलाएको एकपछि अर्को ऐतिहासिक सफलतामा पलेशाले पनि ठूलो योगदान दिइन् ।

२०३४ सालमा शरदचन्द्र शाह नेपाली खेलकुदको कार्यकारी निकाय खेलकुद परिषद् (राखेप) को सदस्यसचिव भए । त्यतिबेला पनि महिलालाई खेलकुदमा सहभागिता गराउन हुँदैन भन्ने मान्यता थियो । तर शाहले महिला सहभागितालाई प्राथमिकता दिन थाले ।

फ्रान्समा सम्पन्न पेरिस पारालिम्पिकमा पलेशाले ऐतिहासिक कास्य पदक जितिन् । काठमाडौँ डिल्लीबजारकी पलेशाले पारा तेक्वान्दोको के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनि तौलबाट कास्य जितेकी हुन् । चीनमै सम्पन्न एसियाली पारालिम्पिक छनोटमा स्वर्ण जित्दै पलेशाले पेरिसका लागि स्थान बनाएकी हुन् । त्यससँगै उनी छनोट भएर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडीसमेत बनिन् । पलेशाले टोकियो पारालिम्पिकमा पनि सहभागिता जनाएकी थिइन् । त्यहाँ उनी कास्य पदक भिडन्तमा पराजित भएकी थिइन् । यद्यपि २ खेल जितेर इतिहास रचेकी थिइन् तर दोस्रो प्रयासमा भने उनले सफलता पाइन् ।  

एसियाडमा इज्जत  

यसबाहेक एसियाडमा पनि नेपाल पदकबिहीन हुने अवस्थाबाट महिला खेलाडीले नै जोगाएका छन् । त्यो पनि राज्यको लगानीबिनाको सहभागिताबाट । सन् २०१६ को इन्चोन एसियाडमा नेपालले एकपछि अर्को खराब नतिजा दिइरहेको थियो । देशको लगानी शून्य जस्तै हुने अवस्थामा दक्षिण कोरिया पुगेका नेपालका खेल पदाधिकारी पनि आलोचित बनिरहेका थिए ।

यो पनि पढ्नुहोस्

विदेशमा डोजर बेच्दै नेपाल

त्यतिबेला नेपालमा करातेका २ समानान्तर संघ अस्तित्वमा थिए । त्यसैले एउटा कराते टोली राज्यको लगानीमा कोरिया पुगेको थियो । ध्रुवविक्रम मल्लको नेतृत्वमा रहेको अर्को टोली भने आफ्नै लगानीमा त्यहाँ पुगेको थियो । मल्लको टोलीमध्ये विमला तामाङले मात्र कातामा नेपालको तर्पmबाट चुनौती दिन पाइन् । मल्लकै प्रशिक्षणमा विमलाले कास्य पदक जित्दा देशमा ठूलो हलचल मच्चिएको थियो । राज्यको लगानीबाट नतिजा शून्य हुँदा प्रशिक्षक मल्लले आफ्नो मोटरसाइकल बेचेर गरेको सहभागिताबाट पदक दिलाएको भन्दै तत्कालीन खेल नेतृत्व आलोचित बन्नुपरेको थियो ।

तस्बिर : श्याम चित्रकार

सागमा महिलाको सनसनी

एसियाडबाहेक सागमा पनि नेपालका महिला खेलाडीले इतिहास रचेका छन् । पौडीकै गौरिका सिंहले एकै संस्करण (सन् २०१९ को १३औँ साग) मा ४ स्वर्ण, २ रजत र ३ कास्य पदक जित्दै सनसनी मच्चाइन् । नेपालले सागमा पहिलोपल्ट एकै संस्करणमा यति धेरै स्वर्ण जितेको हो । यसअघि तेक्वान्दोका दीपक विष्टले ४ संस्करण (आठौँ, नवौँ, दसौँ र ११औँ) मा गरेर सागमा ३ स्वर्ण जित्दै कीर्तिमान रचेका थिए तर गौरिकाले एकै संस्करणमा ४ स्वर्ण जित्दै नयाँ इतिहास रचिन् ।  

पौडी खेलाडी गौरिका सिंह

गौरिकाले सन् २०१६ मा भारतमा भएको १२औँ सागमा १ रजत र ३ कास्य जितेकी थिइन् । व्यक्तिगततर्फ पहिलोपल्ट उनले नै हो सागको पौडीबाट पदक दिलाएको । रियो ओलम्पिक २०१६ मा विश्वकै सबै भन्दा कम उमेरकी खेलाडी बनेर चर्चा बटुलेकी गौरिकाले टोकियो ओलम्पिक पनि खेलिन् । वर्ष २०७६ को नेपाली खेलकुद गौरिकामय भएको थियो । नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदमा पनि कीर्तिमान रच्दै उनले १० स्वर्ण जितेकी थिइन् । हाल उनी नेपाली खेलकुदमा टाढिएकी छन् । उनी अमेरिकामा प्रशिक्षण र पढाइलाई अगाडि बढाइरहेकी छन् ।

उनकै पहलमा रमा सिंहको कप्तानीमा नेपालको महिला टिम बन्यो । त्यो टोलीमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरी र कमला हिराचन थिए । नेपाल टेलिभिजनको समाचार वाचिकासमेत रहेकी सिंहको कप्तानीमा नेपालले २०४३ मंसिरमा हङकङसँग पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।

३५ वर्षे सागको इतिहासमा नेपालले टेबल टेनिसमा एक मात्र स्वर्ण जित्न सकेको छ । त्यो सफलता नेपालको महिला टोली (सिजरिन शाह, गीता क्षत्री) ले सन् १९९१ मा भएको पाँचौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (त्यतिबेला साफ, हाल साग) मा जितेका थिए । त्यसपछि नेपालको टेबल टेनिसले सागमा स्वर्ण जित्न सकेको छैन ।

फुटबल खेलाडी सावित्रा भण्डारी 'साम्बा'

युरोपसम्म नेपाली महिला खेलाडीको पाइला  

नेपाली खेलकुदमा महिला खेलाडीको चर्चा हुँदा आउने नाममध्ये एक सावित्रा भण्डारी अर्थात् साम्बा हुन् । उनी नेपाली खेलकुदमा युरोपको लिग खेल्ने सफल खेलाडी हुन् । भारत, इजरायलदेखि युरोपसम्म उनले सफलता हात पारेकी छिन् । साम्बा युरोपमा खेल्ने पहिलो नेपाली महिला फुटबलर हुन् । हरेक खेलाडीको सपना युरोपमा खेल्ने हुन्छ । तर अवसर भने कमैले पाउँछन् । यस्तै भाग्यमानी सावित्रा भएकी छिन् । हाल उनी विश्वकै प्रख्यात फ्रेन्च लिग खेलिरहेकी छिन् । उनी एनइभान्टे गुएनगाम्पमा दोस्रो सिजन बिताइरहेकी छन्, त्यसअघि उनी इजरायलको क्लबमा थिइन् । भारतको लिग ३ सिजन खेलेपछि उनको यात्रा युरोपमा पुगेको थियो । उनी नेपालका लागि सर्वाधिक (५५) गोल गर्ने महिला खेलाडी हुन् ।

तेक्वान्दो खेलाडी आयशा शाक्य 

आयशा शाक्य (तेक्वान्दो)

नेपाली महिला खेलाडीको नाम लिँदा छुटाउनै नहुने नाम हो आयशा शाक्य । नेपालको तेक्वान्दोले पाएका स्टारमध्ये एक उनी पनि हुन् । उनले एसियाडमा १ कास्य र सागमा ३ स्वर्ण पदक दिलाएकी छन् । बिरलै कुनै पुरुष या महिला खेलाडी यो सफलताको सूचीमा उभिन सकेका छन् । उनले नेपालमै आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण पदक जितिन् । तेक्वान्दो खेलाडीले एकै प्रतियोगितामा जितेको यो पहिलो २ स्वर्ण थियो । ललितपुर पाटनकी आयशाले ११औँ सागमा स्वर्ण तथा १२औँ सागमा रजत जितेकी थिइन् । २ छोराकी आमा बनेर देशलाई १३औँ सागमा २ स्वर्ण दिलाएपछि आयशाको चर्चा थप चुलिएको थियो । उनी तेक्वान्दोकै सागका ४ स्वर्णधारी दीपक विष्टकी धर्मपत्नीसमेत हुन् ।

भविष्यको बाटो

खेलकुदमा नेपाली महिलाको करिब ८ दशकको यात्रामा उनीहरूको सहभागिता उब्बल रहेकामा दुई मत छैन । खेलकुदमा राज्यको लगानी त्यसै पनि न्यून छ । खेल क्षेत्रमा आउने बजेटको झण्डै ८० प्रतिशत भन्दा बढी तलब, भत्ता र प्रशासनिक क्षेत्रमा खर्च हुन्छ । यस्तो स्थितिमा तल्लो तह (ग्रासरुट) खेलकुदका लागि उचित वातावरण र प्रोत्साहित गर्ने कार्य न्यून देखिन्छ । त्यसमाथि पनि महिलाको सहभागितालाई प्रोत्साहित गर्ने कार्यक्रम आउन सकेका छैनन् । महिलाहरू सुरुआतमा खेलप्रति लाग्दा नेपाली समाजले पनि उनीहरूलाई प्रोत्साहित गरेको पाइँदैन । कमजोर खेलकुद संरचनाको पृष्ठभूमिबाट नेपाली महिलाले नतिजा दिइरहेका छन् ।

तस्बिर : श्याम चित्रकार

संघर्ष गर्दै उनीहरू स्वःस्पूmर्तरूपमा आए पनि केही वर्षपछि महिला खेल क्षेत्रबाट पलायन भएका अवस्था छ । राज्यले र अन्य सरोकारवाला निकायले उनीहरूलाई प्राथमिकताका साथ प्रोत्साहन गर्ने हो भने एक दिन पारालिम्पिक मात्र होइन, ओलम्पिकमा पनि पदक टाढा छैन । यो कुरालाई पलेशा गोवर्धनले नै प्रमाणित गरिदिएकी छन् । नेपाली खेलकुदमा महिला खेलाडीको सफलता पुरुषको भन्दा उच्च छ । नेपाली महिला खेलाडी देशका ऐतिहासिक सफलतामा मुख्य नायक बन्दै आएका छन् । नेपालको महिला फुटबलमा पहिलो अन्तर्राष्ट्रिय गोलकर्ता पेमा लामा महिलालाई प्रोत्साहित गर्ने राम्रा योजना आउन नसकेको बताउँछिन् ।  

करातेकी एरिका गुरुङले एसियाली राष्ट्रबीचको प्रतिस्पर्धाको फाइनल दोस्रोपल्ट नेपाली झण्डा फर्फराइन् । सम्भवत् एरिका नेपाली खेलकुदले पाएको सबै भन्दा उत्कृष्टमध्येकी खेलाडी हुन् किनकि एरिकाले पनि एकपछि अर्को ऐतिहासिक सफलताको सूचीमा आफूलाई उभ्याइन् । 

‘हामीले खेल्दा पनि महिला खेलाडीको सहभागिता राम्रै थियो तर नयाँलाई आकर्षित र  पुरानालाई प्रोत्साहित गर्ने काम हुन सकेन । थप राम्रा नतिजा महिला खेलाडीबाट पाउन सक्थ्यो । ‘पुरुष खेलाडीले पनि नतिजा दिएका छन् तर महिलाको अली बढी उत्साहपूर्ण छ’, लामाले भनिन्– ‘महिलाहरू पाएका जिम्मेवारीमा अनुशासित भएर निर्वाह गर्नुहुन्छ । त्यसैले पनि होला राम्रो नतिजा पाएका छौँ ।’ जिम्मेवारी र कर्तव्यका ठूला भारीसँगै सीमित अवसरबाट ऐतिहासिक नतिजा सहज छैन । तर सर्वोच्च शिखर आरोहण वा जुनसुकै जिम्मेवारीमा, जहिल्यै महिला अग्रस्थानमा छन् ।

त्यसो त नेपाल जस्तो पितृसत्तात्मक देशमा महिलाको सहभागिता नै चुनौतीपूर्ण छ । त्यसमाथि चुलोचौका सबैमा महिला उत्तिकै व्यस्त रहन्छन् । तर पनि सीमित अवसरबाटै किन नहोस्, महिलाको योगदान सराहानीय छ । खेलको इतिहासबारे अनुसन्धान गर्दै आएका नवीन अर्याल नेपाली महिला खेलाडीका लागि अहिलेसम्म कुनै पनि योजना आउन नसक्दा पनि यो नतिजा प्राप्त गर्नुले उनीहरूबाट धेरै ठूलो सम्भावना देखिएको बताउँछन् ।

यो पनि पढ्नुहोस्

नेपालको नयाँ चुनौती : दैनिक ५०० मेगावाट विद्युत् खेर

‘जति नेपाली पुरुष खेलाडीमा लगानी गरिएको छ, त्यसको आधा मात्र महिला खेलाडीका लागि लगानी गर्ने हो भने उनीहरूले नतिजा दिन सक्छन् । त्यो उनीहरूले अहिलेसम्म दिएको नतिजाले पनि प्रमाणित भैसकेको छ’, उनले भने– विकसित राष्ट्रबाहेक अरूको अवस्था पनि हाम्रो जस्तै छ । यस्तो अवस्थामा हामीले दीर्घकालीन सोच राखेर लगानी गर्ने हो भने अहिलेसम्मकै ठूलो नतिजा नेपाली महिला खेलाडीले हासिल गर्न सक्छन् ।  

इतिहासतर्फ फर्कँदा

इतिहास हेर्ने हो भने राणा शासनदेखि नै महिला खेल गतिविधिमा सहभागी भएका पाइन्छ । २००७ सालको क्रान्तिपछि महिला केही खेलमा देखिए । महिला सहभागिता टेबलटेनिस र ब्याडमिन्टनबाट सुरु भयो । राणा कालमा महिलाहरू टेबलटेनिस र ब्याडमिन्टन खेल्थे । तर दरबार निकटले मात्र खेल्ने, त्यो पनि खुला आकाशमा थिएन । सर्वसाधारण खेलबारे अनविज्ञ हुन्थे । २००८ सालमा नै महिला खेलमा सहभागी भएका पाइन्छ । त्यस साल पहिलोपल्ट टेबलटेनिसको महिला राष्ट्रिय प्रतियोगिता भएको थियो । पहिलो च्याम्पियन थिइन्, गीता राणा ।  

पछि ब्याडमिन्टनको महिला प्रतिस्पर्धा २००९ सालमा भयो । रिता थापाले त्यो उपाधि जितेकी थिइन् । टेबलटेनिस च्याम्पियन राणा नेपालको पहिलो गभर्नर हिमालय शमशेरकी आमा हुन् । हिमालयकी आमा गीताले त्रिचन्द्र कलेजभित्र रहेको सरस्वती सदनमा त्यो प्रतिस्पर्धा गरेकी थिइन् । उक्त खेलमा गीताले साडी नै लगाएर खेलेको पुराना खेलकर्मी बताउँछन् । उनको प्रतिद्वन्द्वी पनि दरबार निकट नै थिए । २००७ सालको प्रजातन्त्रपछि केही खेल संघ गठन भए । डिल्लीबजारमा रहेको नेपाल सांस्कृतिका भवनमा भएको बैठकपछि लोकप्रिय खेलहरू फुटबल, ब्याडमिन्टन, टेबल टेनिसलगायत खेल संघ गठन भएका थिए ।

ब्याडमिन्टन खेलाडी रिता थापा । तस्बिर : श्याम चित्र्कार

२००८ सालमा नेपाल प्रहरी प्रमुख नरशमशेर राणा थिए । राणाकै नेतृत्वमा फुटबल संघ गठन भयो । त्यसपछि खुला मैदानमा खेल्न थालियो । तर त्यतिबेला महिलाको सहभागिता थिएन । यो दरबारको चार पर्खालभित्रै सीमित हुन्थ्यो । २०३४ सालमा शरदचन्द्र शाह नेपाली खेलकुदको कार्यकारी निकाय खेलकुद परिषद् (राखेप) को सदस्यसचिव भए । त्यतिबेला पनि महिलालाई खेलकुदमा सहभागिता गराउन हुँदैन भन्ने मान्यता थियो । तर शाहले महिला सहभागितालाई प्राथमिकता दिन थाले । उनले नै महिलालाई खेलमा आकर्षित गर्न लगानी पनि बढाए । त्यसपछि बल्ल महिला भलिबल र फुटबल टिम बन्यो ।  

उनकै पहलमा रमा सिंहको कप्तानीमा नेपालको महिला टिम बन्यो । त्यो टोलीमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरी र कमला हिराचन थिए । नेपाल टेलिभिजनको समाचार वाचिकासमेत रहेकी सिंहको कप्तानीमा नेपालले २०४३ मंसिरमा हङकङसँग पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो । त्यो खेलमा नेपाल १–० ले पराजित भएको थियो । शरदचन्द्र शाहको पालामा महिला खेलकुद बढ्न थाल्यो । तर स्वतन्त्ररूपमा महिलाको सहभागिता भने थिएन । व्यावसायिक खेलमा उनीहरूको उपस्थिति खासै राम्रो देखिँदैन । 

तस्बिर : श्याम चित्रकार

रोचक प्रसंग

सन् १९६१ मा नेपालको टेबलटेनिस टोली चीनमा खेल्न जाँदा एउटा रोचक घटना भयो जुन नेपालको पहिलो अन्तर्राष्ट्रिय सहभागिता पनि थियो । टेबलटेनिसको आफ्नै पोशाक छ । तर नेपालका महिला त्यतिबेला साडी लगाएर गएका थिए । डे«स कोडमा नै खेल्नुपर्ने भएपछि नेपाली महिलाले कुर्ता सुरुवालमा खेल्न स्वीकृति पाएका थिए । त्यो टिमको सदस्य थिइन्, परासिया राणा र कमल राणा । त्यो नै नेपाली महिलाले खेलेको पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा थियो । खेल इतिहासबारे लेख्दै नवीन अर्याल नेपाली महिलाको खेलप्रति लगाव राणाकालदेखि भए पनि आममानिसमाझ आउन भने समय लागेको बताउँछन् ।

‘पहिले महिलाले टेबलटेनिस र ब्याडमिन्टन खेल्न सुरु गरे । टेबलटेनिस त साडी नै लगाएर खेलेका पाइयो । पछि महिलाले फुटबल खेल्न थाले’, नेपाली खेलकुदको वृत्तान्तका लेखक अर्यालले भने– उनीहरूका प्रतिद्वन्द्वी दरबार निकटका नै हुन्थे । आममानिस माझ आउन भने समय लाग्यो ।

प्रकाशित: ११ मंसिर २०८१ १३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App