स्वर साम्राज्ञी अरुणा लामा र स्वर किन्नरी तारादेवीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शनिबार पोखरा कालजयी गीतहरूमा गुञ्जियो।
पोखरेली महिला कलाकारहरूको साझा संस्था ‘हार्मोनी’ र एभरेस्ट एफएम ९३ मेगाहर्जको सहकार्यमा आयोजित ‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ मा पोखराका चर्चित कलाकारहरूले उनीहरूलाई स्वरमार्फत सम्झिए।

कार्यक्रमको सुरुवात कला, साहित्यका अध्येता तथा अन्वेषक प्रकाश सायमीले अरुणा लामा र तारादेवीका जीवनका आरोह-अवरोह र तिनसँग जोडिएका अनकहा कथाहरू सुनाएर गरे।
त्यसपछि हार्मोनीका कलाकारहरूले सामूहिक देवी वन्दनासँगै औपचारिक रुपमा सांगीतिक यात्रा आरम्भ गरे।
त्यसपछिका प्रस्तुतिहरूले माहोल झनै जीवित बनाउँदै लगे। देवी गुरुङले ‘उडी जाउँ भने’, लक्ष्मी गिरीले ‘काली पारे दाइ कति राम्रो’ र एलिना गुरुङले ‘भेटिनु छुटिनु त के हो र’ जस्ता गीत गाउँदा दर्शकहरू ताली र उत्साहले गुञ्जिए।

रजनी ऋदम राईले ‘फूलै फूलको मौसम तिमीलाई’ गाउनेबेला होस् या कौशल्या गुरुङले ‘यति धेरै माया दिई’ सुनाउँदा दर्शकहरू विगतका मीठा सम्झनामा हराए।
रातभरि कलाकारहरूको एकपछि अर्को प्रस्तुतिले सांगीतिक न्यानोपन थप्दै गयो। राष्ट्रिय रूपमा समेत परिचित पोखरेली गायिका ईतु जोजिजूले ‘उकाली ओरालीहरूमा’ प्रस्तुत गर्दा र श्रीमान् रामभक्त जोजिजूसँग ‘लुकुँ लुकुँ लाग्यो मलाई’ गाउनेबेला दर्शकहरू ताली बजाउन रोकिएनन्।
सितल थापाले ‘सागुरी बारी नि है’ र रामभक्तसँग युगल गीत ‘ए कान्छा मलाई सुनको तारा’ प्रस्तुत गर्दा माहोल थप झङ्कारियो। मितु पालले ‘तिम्रा पाउहरूमा म’ गाउँदा सिंगो हल मन्त्रमुग्ध बन्यो।
काठमाण्डौंबाट आएकी सुरशक्ति नारी समूहकी अध्यक्ष तथा वरिष्ठ गायिका संगीता राना प्रधानले ‘फूललाई सोधें’ गाउनासाथ सांगीतिक वातावरणमा सुनमा सुगन्ध थपिएको अनुभूति भयो।

त्यस्तै बोबी सुनारले ‘पोहोर साल’ को बोलमा आफ्नै शैलीमा प्रस्तुति दिँदा दर्शकहरू भावविभोर बने।
सांगीतिक साँझमा समूहगान ‘यो मायालाई भरोसा छैन’, ‘हाम्रो साहेब’ (माया प्रीति चलचित्रबाट) र ‘सुङावा जस्तो जीवन’ (शान्तिदीप चलचित्रबाट) प्रस्तुत गर्दै कार्यक्रमलाई अझै भव्य बनाइयो।
एभरेस्ट मिडिया हाउस प्रालिकी अध्यक्ष कर्मा तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एभरेस्ट एफएमका सम्पादक दीपेन्द्र श्रेष्ठले एफएमले २०७९ सालदेखि माघ तेस्रो शनिबार स्वर साम्राज्ञीहरूलाई सम्झँदै कार्यक्रम गर्दै आएको जानकारी दिए।
यसपटक हार्मोनीका सदस्य सञ्जिव पालको असामयिक निधनका कारण कार्यक्रम चैत अन्तिम शनिबार सारिएको उनले स्पष्ट पारे।
कार्यक्रमको अवसरमा स्वर साम्राज्ञी अरुणा लामा, स्वर किन्नरी तारादेवी र तबला वादक सञ्जिव पालप्रति श्रद्धाञ्जली अर्पण गर्दै तस्बिरमा माल्यार्पण गरिएको थियो।
प्रकाशित: ३० चैत्र २०८१ २०:०२ शनिबार