मंगलबार बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भोलिलाई सारिएको छ। विशेष महाधिवेशन पक्षधरसँग संवाद जारी रहेकाले आज बैठक बस्न नसकेको हो।
यद्यपि दिनभर संस्थापन पक्षका नेताहरू पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेका थिए। ‘कार्यवाहक सभापति(पूर्णबहादुर खड्का) संवादमै हुनुहुन्छ। त्यसैले आज बैठक बसेन,’ केन्द्रीय कार्यालयबाट बाहिरिँदै सहमहामन्त्री किशोरसिंह राठौरले भने, ‘अर्का उपसभापति धनराज गुरुङले छलफल सकारात्मक रहेको बताउनुभएको छ। हेरौँ के हुन्छ?’
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी अझै पनि एकताको प्रयासमा रहेको बताए। ‘हामी पार्टी नफुटोस्, एकताबद्ध रहोस् भन्नेमै प्रयासरत् छौँ। हाम्रो प्रयासले सकारात्मक नतिजा दिने विश्वास छ,’ उनले भने। अनौपचारिक छलफलमा केही सकारात्मक परिणाम आउने आशाका साथ भोलि बैठक सारिएको उनले बताए।
प्रकाशित: २९ पुस २०८२ १९:४० मंगलबार





