गाडीमा शंकास्पद वस्तु फेला परेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पर्सा क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मनोजकुमार चौधरीसहित चार जनालाई प्रहरीले मंगलबार राति नियन्त्रणमा लिएको छ।
पर्सागढी नगरपालिका–३ बड्नियार चोकमा चेकजाँचका क्रममा चौधरी सवार गाडीमा शंकास्पद वस्तु फेला परेको थियो। शंकास्पद वस्तु भेटिएपछि गाडीसहित गाडीमा सवार सबै जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।
राति करिब ११ बजे चेकजाँचका क्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार चौधरी सवार गाडीको डिक्कीबाट बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको पर्सा प्रहरी प्रमुख नरेश राज सुबेदीले बताएका छ्न्। भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीको निगरानीमा राखिएको र त्यसलाई डिस्पोजल गर्ने तयारी गरिएको सुबेदीले बताए। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त क्षेत्रलाई घेराबन्दी गरिएको छ।
उक्त गाडीमा उम्मेदवार चौधरीसँगै नेकपाका नेता सत्यनारायण चौधरी, रामेश्वर मण्डल र सुरज कार्की सवार रहेको जनाइएको छ। गाडी चालक वीरगञ्ज–छपकैया निवासी मुन्ना अन्सारी रहेको प्रहरीले जनाएको छ। हाल गाडीमा सवार सबै व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ।
प्रकाशित: २० फाल्गुन २०८२ ०७:३० बुधबार





