२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

खाडी मुलुकमा कार्यरत नेपाली त्रसित: सरकारद्वारा आपत्कालीन उद्धार र व्यवस्थापन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन

अमेरिका–इजरायल र इरानबिच चर्केको द्वन्दका कारण एक नेपालीको ज्यान गएपछि खाडी मुलुकमा रहेका नेपाली श्रमिकमा त्रास उत्पन्न भएको छ। इजरायल र अमेरिकाले शनिबार इरानमाथि हवाई आक्रमण गरेयता स्थिति तनावपूर्ण छ। आक्रमणमा इरानका सर्वोच्च धार्मिक नेता अलि खामेनी मारिएका छन्। प्रतिकारमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा, त्यहाँका विमानस्थल, आवासीय भवन, होटेल, बन्दरगाह र तेल खानीलक्षित आक्रमण गरेको छ। यसै कारण खाडी मुलुकमा कार्यरत लाखौं नेपालीमा सन्त्रास पैदा भएको हो।

इरानले युएई, कतार, ओमान र कुवेतलगायत देशमा अमेरिकी सैन्य अखडामा आक्रमण गरिरहेको छ। अमेरिका र इजरायले पनि इरानमा आक्रमण गरिरहेका छन्। त्यहाँ कार्यरत नेपाली श्रमिकको सुरक्षामा सरोकारवालाले चासो राख्दै आवश्यक पहल गर्न सरकारलगायतको ध्यानाकर्षण गराएका छन्।

मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण असुरक्षित बनेका नेपाली श्रमिकको सुरक्षाका लागि सरकार सचेत र सक्रिय रहेको जानकारी रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले दिएका छन्। उनका अनुसार खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकको प्रारम्भिक विवरण संकलन गर्ने काम सुरु गरिएको छ। नेपालीको सुरक्षाका लागि श्रम मन्त्रालयले सम्बन्धित मुलुकहरूमा रहेका श्रम सहचारी र नेपाली दूतावाससँग निरन्तर सम्पर्कमा रही समन्वय गरिरहेको जनाएको छ।

जोखिममा परेका श्रमिकलाई सुरक्षित आश्रय स्थलमा स्थानान्तरण गर्न उच्च प्राथमिकता दिइएको मन्त्री भण्डारीले बताए। यसका लागि श्रम मन्त्रालयले कल सेन्टर स्थापना गरी २४ सै घण्टा जानकारी गराउन सकिने व्यवस्था मिलाएको छ। आपत्कालीन उद्धार व्यवस्था र योजना बनाइएको उनले जानकारी दिए। ‘आपत्कालीन अवस्थालाई ध्यानमा राखेर र्‍यापिड एक्सन टिम गठन गरिएको छ,’ मन्त्री भण्डारीले भने, ‘उक्त टिमले आवश्यकता अनुसार उद्धार, व्यवस्थापन र समन्वय गर्नेछ।’

परराष्ट्र मन्त्रीस्तरीय निर्णयबाट परराष्ट्र सचिवको संयोजकत्वमा गठन भएको र्‍यापिड एक्सन टिमले त्यस प्रयोजनका लागि मित्रराष्ट्र तथा अन्य अन्तर्राष्ट्रिय संस्थासँग समन्वय गर्ने छ। टिममा परराष्ट्र, गृह, अर्थ, कानुन, न्याय तथा संसदीय मामिला, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा विज्ञान प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रायललगायत निकायका प्रतिनिधि रहने व्यवस्था छ।

परराष्ट्रले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनमा सो टिम गठन, कार्यान्वयन र पश्चिम एसियाको पछिल्लो अवस्थाबारे जानकारी दिएको हो। मन्त्रालयको मध्यएसिया, पश्चिमएसिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी खड्काले उक्त टिमले कार्यादेशानुसार काम गर्न सुरु गरिसकेको जानकारी दिए। उनले सो क्षेत्रका ट्रान्जिट विमानस्थलमा रहेका नेपालीलाई खानेबस्ने प्रबन्धका लागि सम्बन्धित विमान कम्पनी र निकायलाई आग्रह गरी समन्वय भइरहेको बताए।

मन्त्री भण्डारीका अनुसार द्वन्द्व प्रभावित मुलुकहरूमा श्रमका लागि जान चाहनेका लागि नयाँ श्रम स्वीकृति दिने प्रक्रिया हाललाई स्थगित गरिएको छ। उनले युद्ध कति समयसम्म लम्बिन्छ र यसले निम्त्याउने थप सुरक्षा चुनौतीबारे अहिले नै यकिन गर्न गाह्रो रहेको बताए।

विशेषगरी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लिने निर्णयमा यो कुरा भर पर्ने उनले बताए। परराष्ट्र मन्त्रालयका अनुसार युद्धका कारण खाडी क्षेत्रमा कार्यरत करिब १९ लाख नेपाली जोखिममा छन्। इरान, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरेबिया, कतार, कुवेत, इराक, बहराइन, ओमान, साइप्रस, इजरायल, लेबनान र इजिप्टमा नेपाली छन्।

युएईको अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको ज्यान गएको छ। मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत श्रेष्ठले दुई दिनअघि मात्रै सामाजिक सञ्जालमा मध्यपूर्वको अवस्थाबारे टिप्पणी गरेका थिए। ‘समाचार हेरेपछि मेरो ध्यानाकर्षण भयो, केही रिपोर्टहरू बढाइचढाइ भएका छन्,’ उनले लेखेका थिए।

सरकारले ती देशमा रहेका नेपालीलाई सतर्क रहन, स्थानीय प्रशासन र नेपाली दूतावाससँग सम्पर्कमा बस्न तथा आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गरेको छ। युद्धको दिशा र अवधि अनिश्चित रहेकाले आगामी दिनहरू झनै चुनौतीपूर्ण हुन सक्ने देखिएको छ।

प्रकाशित: २० फाल्गुन २०८२ ०७:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App