१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्यकर्मी चुनावतिर, अस्पताल बन्द

आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरि कर्मचारी परिचालन भइरहँदा निर्वाचन आयोगले अत्यावश्यक स्वास्थ्य सेवा सञ्चालनमा राख्न निर्देशन दिएको थियो। आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै निर्वाचन अवधिमा अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न आग्रह गरेको थियो।

तर कोहलपुरस्थित कोहलपुर नगर अस्पताल भने पूर्ण रूपमा बन्दजस्तै बनेको छ। अस्पतालका कार्यालय प्रमुखसहित सबै स्वास्थ्यकर्मी निर्वाचन कार्यमा खटिएपछि दैनिक उपचार सेवा अवरुद्ध भएको हो। नगर अस्पतालले सूचना प्रकाशन गर्दै फागुन २२ सम्म प्रसूति सेवा बन्द रहने जनाएको छ, तर व्यवहारमा प्रसूति मात्र होइन, अन्य नियमित स्वास्थ्य सेवासमेत प्रभावित भएका छन्।

हाल अस्पतालपरिसरमा एकजना कार्यालय सहयोगीबाहेक अन्य कुनै स्वास्थ्यकर्मी उपस्थित छैनन्। बिरामी उपचारका लागि आए पनि सेवा पाउने अवस्था नरहेको स्थानीयबासी बताउँछन्।

अस्पताल स्रोतका अनुसार यहाँ दुईजना चिकित्सक र करिब ५५ जना स्वास्थ्यकर्मी कार्यरत छन्। तीमध्ये केही मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य निर्वाचन कर्मचारीका रूपमा विभिन्न मतदान केन्द्रमा खटिएका छन्। स्वास्थ्य क्षेत्रकै कर्मचारी निर्वाचनमा व्यापकरूपमा परिचालन गरिँदा अस्पतालको सेवा ठप्प बन्न पुगेको हो।

अस्पतालद्वारा प्रकाशित सूचनामा उल्लेख छ, ‘सुत्केरी हुनका लागि सेवा दिँदै आइरहेको सन्दर्भमा हाल प्रतिनिधिसभा निर्वाचन भएकाले सम्पूर्ण स्वास्थ्यकर्मी निर्वाचनमा खटिएकाले फागुन २२ सम्मका लागि प्रसूति सेवा बन्द गरिएको छ।’

अस्पतालले प्रसूति सेवा अस्थायी रूपमा बन्द गरिएको जनाए पनि अन्य सेवा सञ्चालनबारे कुनै स्पष्ट व्यवस्था नहुँदा बिरामी अन्यत्र जान बाध्य भएका छन्।

कोहलपुर नगरपालिका क्षेत्रका निम्न तथा मध्यम आयस्तरका नागरिकका लागि नगर अस्पताल नै प्रमुख उपचार केन्द्र हो। सामान्य ज्वरो, सर्दीखोकीदेखि गर्भवती महिलाको नियमित जाँचसम्मका सेवा यहींबाट प्रदान हुँदै आएको थियो।

अस्पताल बन्दजस्तै भएपछि आकस्मिक अवस्थाका बिरामी निजी अस्पताल वा नेपालगन्जतर्फ जानुपर्ने अवस्था सिर्जना भएको छ। यसले आर्थिकरूपमा कमजोर बिरामीलाई थप मार परेको स्थानीयको गुनासो छ।

स्वास्थ्यकर्मीलाई निर्वाचनमा खटाइएको विषयमा अस्पतालका चिकित्सक डा. आनन्दकुमार चोरवारले राज्यको निर्णयअनुसार आफूहरू परिचालित भएको बताए। ‘हामीलाई यतिबेला राज्यले निर्वाचनको जिम्मेवारी दिएको छ’, उनले भने, ‘राज्यले खटाएपछि खटाएको ठाउँमा जिम्मेवारी निर्वाह गर्नु हाम्रो दायित्व हो। हामी निर्वाचन सम्पन्न गर्छौं।’

उनका अनुसार स्वास्थ्य सेवा प्रभावित नहोस् भन्ने चाहना हुँदाहुँदै पनि उपलब्ध जनशक्ति पूर्णरूपमा निर्वाचनमा परिचालन भएपछि विकल्प नरहेको अवस्था आएको हो। ‘सीमित जनशक्तिमा काम गर्दै आएका छौं। एकैपटक सबैलाई खटाउँदा अस्पताल सञ्चालनमा समस्या देखिएको हो’, उनले थपे।

यता, स्थानीयवासीले भने निर्वाचन जति महत्त्वपूर्ण भए पनि स्वास्थ्य सेवाजस्तो अत्यावश्यक क्षेत्र पूर्णरूपमा बन्द हुनु उचित नभएको टिप्पणी गरेका छन्।

विशेषगरी प्रसूति सेवा बन्द हुँदा गर्भवती महिला जोखिममा पर्ने चिन्ता व्यक्त गरिएको छ। निर्वाचन आयोगले अत्यावश्यक सेवा प्रभावित नहुने गरी व्यवस्था मिलाउन निर्देशन दिएको भए पनि कार्यान्वयन तहमा समन्वय अभाव देखिएको छ।

स्वास्थ्य संस्थाबाट न्यूनतम आकस्मिक सेवा सञ्चालनका लागि वैकल्पिक व्यवस्था नगरी एकैपटक सबै स्वास्थ्यकर्मी परिचालन गरिँदा सेवा अवरुद्ध भएको देखिन्छ।

प्रकाशित: १९ फाल्गुन २०८२ ११:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App