जेन-जी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित आज चारजनालाई नियन्त्रणमा लिइएको छ।
सशस्त्र प्रहरी बल नेपालले सुनसरीको धरान उपमहानगरपालिका–१३ बस्ने ३३ वर्षीय थापालाई भक्तपुरको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट पक्राउ गरिएको जनाएको छ।
लागुऔषध कारोबार मुद्दामा कैद भुक्तानी गरिरहेका थापा जेन-जी आन्दोलनका क्रममा फरार भएका सशस्त्रका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिए।
निजसँगै लागुऔषध कारोबारमा संलग्न भक्तपुरको लोकन्थली घर बताउने ३३ वर्षीय आशिष पाण्डे, इमाडोल घर बताउने २१ वर्षीया राशी गौतम र काठमाडौंको नक्साल घर बताउने २१ वर्षीय युनिक पोखरेललाई समेत नियन्त्रणमा लिइएको उनले बताए।
उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स व्यूरोको विशेष टोलीले आज अपरान्न लोकन्थलीको एक गल्लीमा जस्ताको टहरामा डेरा गरी लागुऔषध कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो।
उनीहरूको साथबाट १५ ग्राम लागुऔषध ब्राउन सुगर र ५० वटा ट्याब्लेटसमेत फेला बरामद गरिएको छ।
नियन्त्रणमा लिइएका चारै जनालाई आवश्यक कारबाहीका लागि प्रहरीलाई बुझाइएको प्रवक्ता भट्टले बताए।
प्रकाशित: १९ फाल्गुन २०८२ २१:०६ मंगलबार





