७ वैशाख २०८१ शुक्रबार

सबै नेता छन् काम गर्न कोही अघि सर्दैनन्!

सबै नेता छन् काम गर्न कोही अघि सर्दैनन्, नेतालाई अरूले गरेको काम मन पर्दैनन्। हाम्रो देश पछाडि परिसक्यो सारा उठौं भाइ हो, को पछि छ यहाँ नारा लगाउन कोही पछि पर्दैनन्।

फूलले आँखा छोपेर हेर्दैन, मुस्कुराएर हेर्छ!

फूलले आँखा छोपेर हेर्दैन, मुस्कुराएर हेर्छ, निर्धोको संगत गर्छौ, तिमीलाई कल्ले टेर्छ। के रोप्ने बगैंचामा घरको सुन्दरता निखार्न, थाहा नै होला लहराले सधैं रुखलाई बेर्छ।

हितैषी टाढै बसून् बरु, आलोचक वरिपरि हुनुपर्छ!

पक्कै, जीवनका अनुभव सबैका थरिथरि हुनुपर्छ, दिन र रात जसरी सुख र दुख घरिघरि हुनुपर्छ। अनि पो जिउनुको छुट्टै आनन्द मिल्दछ त, हितैषी टाढै बसून् बरु, आलोचक वरिपरि हुनुपर्छ।

पानी नहिंड्ने मात्रै,कागजमा खनिएको पनि कुलो हुन्छ

तिम्रो हृदय पत्थरको पनि पत्थर हो प्रेमले धुलो हुन्छ,पानी नहिंड्ने मात्रै कागजमा खनिएको पनि कुलो हुन्छ। विदेशमा प्यासी दिल बोकिरहेको मजदुरलाई सोध त, विपद कि मृत्युको क्षण पैसा कि घर ठूलो हुन्छ।

ढुंगालाई देउता भनी पुज्नु गल्ती थियो!

ढुङ्गालाई देउता भनी पुज्नु गल्ती थियो, तिमी एउटा संसारमा बुझ्नु गल्ती थियो। रोइरहेँ तिम्रा अघि, खुल्यो आँखा आज, तिमी भेट्न मन्दिरमा कुद्नु गल्ती थियो!

जीवनसाथी भन्छौ, दासको जस्तो व्यवहार किन गर्छौ?

तिम्रा पाउमा मेरा यी निधार पर्दा तिमी मक्ख पर्छौ, कहिले कुनै काम विशेषले भुलेछु भने आँखा तर्छौ। यी दासताका अवशेष हुन् भोलि पक्कै रहने छैनन्,जीवनसाथी भन्छौ, दासको जस्तो व्यवहार किन गर्छौ?

बाउ उता खाली खुट्टा आफू गाडी गुडाउँछन्!

ठुल्दाजुका गोडा मोल्छन् बाको धोती उडाउँछ्न्, बाउ उता खाली खुट्टा आफू गाडी गुडाउँछन्। कुजातका निस्के पुत्र सक्नै लागे बाको खायल, केही बोल्नै हुन्न बाउले पार्छन् उल्टै हायलकायल।

तस्वीरमा देखिएझैं कहाँ हुन्छ र जिन्दगी!

जिन्दगी ओठको मुस्कानभित्र छुपेको हुन्छ, भन्नुपर्दा आँखाको आँसुभित्र लुकेको हुन्छ। तस्वीरमा देखिएझैं कहाँ हुन्छ र जिन्दगी, बोकेर पीरव्यथा दिलभित्र दुखेको हुन्छ।

सरुभक्तलाई भीमदर्शन मुक्तक पुरस्कार

नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौंले मुक्तक दिवसको अवसर पारेर पाँच दशकदेखि मुक्तक साहित्यमा कलम चलाउँदै आएका प्रसिद्ध साहित्यकार सरुभक्तलाई ५१ हजार रुपैयाँको ‘भीमदर्शन मुक्तक पुरस्कार २०८०’ ले सम्मान गर्ने भएकाे छ।

सिद्धबाबा सडक खण्ड, एम्बुस जस्तै लाग्छ अझै!

त्यतिका यात्रु निले पनि, उत्तिकै बलि माग्छ अझै, घटना हुँदा थैया कठै, उत्तिकै करुणा जाग्छ अझै। कतिको काल बनिसक्यो, कतिको गाल बनिसक्यो, सिद्धबाबा सडक खण्ड, एम्बुस जस्तै लाग्छ अझै।

प्रेम विशेषज्ञ कृष्ण छँदैछन् पिटर किन चाहिन्थ्यो!

माया नाप्न याद चाहिन्छ मिटर किन चाहिन्थ्यो, सम्झनाले नै तातो दिने भए हिटर किन चाहिथ्यो। माघ लागेपछि पो बल्ल बढ्दैछ त चिसोको ग्राफ, प्रेम विशेषज्ञ कृष्ण छँदैछन् पिटर किन चाहिन्थ्यो।

अझ रामायणमा रामकै नाम बदल्न पाए हुन्थ्यो!

जून बदल्न पाए हुन्थ्यो घाम बदल्न पाए हुन्थ्यो,अझ रामायणमा रामकै नाम बदल्न पाए हुन्थ्यो।कोसिस खुब गरियो आएको खाम खोतल्न हजुर, खै कस्तो छ चिठी हेर्न खाम बदल्न पाए हुन्थ्यो।

तस्करलाई छाता ओढाएर भन्छ, यहाँ तस्कर आउँदैन!

पत्करमाथि बसेर भन्छ, अब पत्कर आउँदैन,तस्करलाई छाता ओढाएर भन्छ, यहाँ तस्कर आउँदैन। जुन चश्माले हेरे पनि आफ्नै अनुहार मात्र देखिन्छ, हिसाब त मिलाउन खोजेखोजेझैं गर्छ, तर उत्तर आउँदैन।

कहिले सडक कहिले सदनमा नाटक देखाउँछन् चटकेहरू!

कहिले सडक कहिले सदनमा नाटक देखाउँछन् चटकेहरू, ढाँटको गिनिज वल्र्डमा नाम लेखाउँछन चटकेहरू। जब हात लाग्दैन सत्ता भित्री दाउपेच र तिकडमले, बाह्य प्रभुको पाउमा माथ टेकाउँछन् चटकेहरू।

चुम्बनको चोट हो,धोएर के गर्नु!

अँगालो मारिदेऊ छोएर के गर्नु, चुम्बनको चोट हो धोएर के गर्नु। हाँस, हँसाऊ जीवन छोटो नै छ, आत्माको व्यथामा रोएर के गर्नु।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्