अरू खुशी हुने त तपाईं रुँदासम्म न हो!
कुर्सीको आयु पद, शक्ति हुँदासम्म न हो,अरू खुशी हुने त तपाईं रूँदासम्म न हो। सिँगारपटार जति गरे नि आखिर के गर्नु, सौन्दर्य रहने त पानीले नधुँदासम्म न हो।
कुर्सीको आयु पद, शक्ति हुँदासम्म न हो,अरू खुशी हुने त तपाईं रूँदासम्म न हो। सिँगारपटार जति गरे नि आखिर के गर्नु, सौन्दर्य रहने त पानीले नधुँदासम्म न हो।
बगिरहन्छ नदी, कुनै दिन अनि रात हुँदैन,मान्छे मान्छे नै हो, कुनै अरू जात हुँदैन। थाहा हुँदैन अघाएकालाई भोकाको पीडा, साथी के साथी, जब अप्ठेरोमा साथ हुँदैन।
कैयौं चोट सहीसही मीठो धुन दिन्छ मादलले,आफू रोएर अरूलाई शीतलता दिन्छ बादलले। अरूलाई खुशी पार्न मूल्य चुकाउनुपर्छ हजुर, आफू खिएरै भए पनि सुन्दरता भर्छ गाजलले।
धानको रोपाइँ जारी छ यहाँ,बोरा चामलको पारी छ यहाँ। आवादी भए सामाजिक सञ्जाल,बाँझो खेत अनि बारी छ यहाँ।
आउँदैन काममा मज्जा, जस नपाएपछि, मौरीले पनि छोड्छ, फूल रस नपाएपछि।यथास्थितिबाट समस्याको समाधान हुन्न, पैदलै पनि गर्नुपर्छ यात्रा, बस नपाएपछि।
बसेका सबै थाकेका हुँदैनन्, आउने सबै डाकेका हुँदैनन्। भेट्दैमा क्याप्प खानु हुँदैन, पहेंला सबै पाकेका हुँदैनन्।
हजारौ मान्छेहरूमा चिनेको एउटा थिएन, निस्वार्थ थियो माया कुनै सम्झौता थिएन। माग्नेले मागिरहें पाउनलाई केही पाएनन, मन्दिर त थियो त्यहाँ दिने देउता थिएन।
गुनभन्दा तिम्रो बैगुन झन रमाइलो लाग्छ, एकान्तमा जब तिमी र म मात्र हुन्छौं प्रिय, घामभन्दा मलाई जून झन् रमाइलो लाग्छ।
सोच उहीँ नहोस् मति, गति फेरियोस्,नियत बदलियोस्, नियति फेरियोस्। केही त नयाँ हुनै पर्छ नयाँ वर्षमा, पात्र नफेरिए पनि प्रवृत्ति फेरियोस्।
भूईं मान्छेका विचार पनि चासो बन्छ कहिलेकाहीँ, यथार्थ ओकल्यो तर रूञ्चे हाँसो बन्छ कहिलेकाहीँ। आफू र आफ्ना पनि सधैं अनुकूल हुँदैनन् महाशय, आफ्नो बोली आफैंलाई गलपासो बन्छ कहिलेकाहीँ।
बन्दा बन्दैको पुल नै ढल्छ,मन्त्रीकै गाडी सडकमा जल्छ। त्यही हो शान्ति क्षेत्र मेरो देश, जहाँ बेलाबखत गोली चल्छ।
सिक्का उहीं हो कहिले टिला हुन्छ कहिले भेटी हुन्छ, तर्किदै भाग्नुपर्नेसँग कहिलेकाही भेट्न मरिमेटी हुन्छ। परिवर्तन शाश्वत सत्य हो रोकिन्न, छेकिन्न चलिरहन्छ, उहीं मान्छे, तर कहिले डेरावाल कहिले घरबेटी हुन्छ।
अँगालो मारिदेऊ छोएर के गर्नु, चुम्बनको चोट हो धोएर के गर्नु। हाँस, हँसाऊ जीवन छोटो नै छ, आत्माको व्यथामा रोएर के गर्नु।
कहिले क्रिसमस लोसार, कहिले बकर आउँछ, कतै माघे, कतै माघी अनि कतै मकर आउँछ। महँगीको हिसाब नगरौं, नेटो काटिसक्यो,कहाँ हजारले घिउ,चाकु,तरूल,सख्खर आउँछ।
नटिपी फूल, माला गाँस्न पनि त सकिंदैन, अरू रूवाई आफू हाँस्न पनि त सकिंदैन। ऐंजेरू पाल्न त कस्लाई मन हुँदो हो र! चाहँदैमा एकैचोटि मास्न पनि त सकिंदैन।