२४ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

नीलहीरा भेटिएपछि त सुनलाई पनि बिर्सिदियौ,

मुक्तक

१) मुक्तक

न त वारमा अल्झेको छ, न त पारमा अल्झेको छ,

अहिलेसम्म जीवन यात्रा मझधारमा अल्झेको छ।

कसैसँग भेट भएको त्यो पल सम्झिदै पछुताउँदा,

यस्तो लाग्दैछ, यो जिन्दगी बेकारमा अल्झेको छ!

२) मुक्तक

न त वारको बनाइदियौ, न त पारको बनाइदियौ,

जिन्दगीलाई अहिलेसम्म मझधारको बनाइदियौ।  

तिमीले जेजे भनेकी थियौ, मैले त्यही गरेको थिए,

म सोझो मान्छेलाई आखिर बेकारको बनाइदियौ!

३) मुक्तक

नीलहीरा भेटिएपछि त सुनलाई पनि बिर्सिदियौ,

उज्यालो देखिएपछि त जूनलाई पनि बिर्सिदियौ।

मलाई मात्रै होइन तिमीले अरु कसैलाई भेटेपछि,

दुःख पर्दा मैले लगाएको गुनलाई पनि बिर्सिदियौ!

४) मुक्तक

धरोधर्म! गफ लाएको हुँदै होइन मैले,

त्यसपछि त केही पनि छँुदै छोइन मैले।

तिम्रो ओठको छाप फेरि मेटिन्छ कि भन्ने,

पिरै पिरले महिनौंसम्म मुखै धोइन मैले!

५) मुक्तक

हेरे तापनि सुख छैन, एकोहोरो हेर्‍यौ भन्छन्,

नहेरी झन् सुखै छैन, तिमीले मन फेर्‍यौ भन्छन्।

आफैं आउँछन् टाँसिन र मलाई दोषी देखाउँदै,

सफा सेतो कागजमा दाग लगाई केर्‍यौ भन्छन्।

६) मुक्तक

कर्मै खोट भएपछि केही लाग्दो रहेनछ,

मुटुमै चोट भएपछि केही लाग्दो रहेनछ।

साढे सातको दशासँगै चन्द्र देब्रे भए पनि,

दृढ अठोट भएपछि केही लाग्दो रहेनछ!

७) मुक्तक

जोखिमहरु मोल्नैपर्ने बानी लागेको छ,

मनका कुरा खोल्नैपर्ने बानी लागेको छ।

दुनियाँको आँखा छली फुर्सद निकालेर,

कसैसँग त बोल्नैपर्ने बानी लागेको छ!

८) मुक्तक

आँसु लुकाएरै हाँस्नुपर्ने हाँसो भयो जिन्दगी यो,

अहिलेसम्म अरु कसैको नासो भयो जिन्दगी यो।

उडानको कुरा गर्छ्यौ मेरी प्रिय तिमीले त सधैंभरि,

कोप्चेरोभित्रै अल्झिएको पासो भयो जिन्दगी यो!

९) मुक्तक

मन हुनेहरूसँग धन हुँदो रहेनछ,

धन हुनेहरूसँग मन हुँदो रहेनछ।

यो संसारमा कोही कसैको पनि,

सोचेको झै जीवन हुँदो रहेनछ!

१०) मुक्तक

अविरल दुई आँखाको बाटो हुँदै झर्छु होला,

जिन्दगीको सबैभन्दा अफ्ठ्यारोमा पर्छु होला।

मैले तिमीलाई छोडे भने के गर्छ्यौ खै थाहा छैन,

तिमीले मलाई छोड्यौ भने म त ज्युदै मर्छु होला। 

प्रकाशित: १२ फाल्गुन २०८० १२:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App