२४ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

उषा प्रहरमा मुक्तक उद्गार

पुस्तक

मुक्तकसङ्ग्रह यो। हस्तगत रहेको मेरो। उषा नामैले दिवस जन्माउन। मातृ–हृदय कोषकी वयस्क युवती। मुक्तकसङ्ग्रहकी अधिष्ठात्री। कोषको भावार्थ गर्भगृहकी धनधान्यशाली। नारी मातृ घरानाकी भकारी। भकारी धानका धन्सार।

अन्नभण्डार-परिवार, समाज, राष्ट्र पालनकर्तृ। उषाको प्रहर। एकै होइन, युगयुगान्तकारी। हंसमुख चेहेरा आकृति। सुन्दरी कवयित्री अहोरात्र । वयस्क जीवनका तन्नेरी साथी गुलाबी चेहरा बान्की। मुक्तकसङ्ग्रहका उमङ्ग तरानी। मुक्तक बसैउसै मुक्तक।

मुक्तक भन्नु मुक्त मन। उन्मुक्त कण्ठनाद। बुद्धिविनोद। मस्तिष्कका भावाभिव्यक्ति। लिपिबद्ध छपाइ। मुद्रित बुद्धिविनोदका तराना सङ्गृहीत। छन् दुई सय बाईस मुक्तक सङ्गृहीत यसमा। जन्मदातृ माता माकुरी पौडेलप्रति समर्पित मुक्तक। मुक्त कण्ठकै उन्मुक्त नाद ठानेको छु–मनोविनोद, बुद्धि विनोद, विवेककै सीमान्त प्रकटीकरण।

 शुभकामना सन्देशका क्रममा तत्कालीन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, प्रकाशक वशिष्ठ अधिकारी, जितेन्द्र रसिक, राजन कार्की, मञ्जुश्री गिरी, मित्रव्य ज्ञानुवाकर पौडेल, मित्रवर उषा शेरचन।

माकुरी पौडेल-मुक्तककर्तृ उषा केसी बहिनी जन्मदातृ माता–जननी समूहका उद्गारले उद्वेलित तुल्याउँदो कमलकुण्डमा चोपलिएको कलम कस्तो हुँदो हो? पाठकवर्ग स्वयम् अधिकारी होऊन्। कामनासहित मनको अन्तराल पोख्ने धृष्टता चाहें प्रक्षेपण गर्न। भन्छु अनि, ‘क्षमस्व माम्। सरसवती सरस्वती माता...।’

उषा केसी सिलवाल गोदावरी साहित्य परिषद् कार्य समितिका कर्मठ सदस्य रहनुभएको चाल पाएँ। म पढी नजानिने भएझैंं मुक्तकका भाव विन्यासमाथि न्यास ध्यान गर्न नसकिने अनुभूत गरें। प्रकाशकीय अनुकम्पाले एक मुक्तक समाहित गरेको पाएँ।

अनिकाल आइपर्दा मानो जोगाउनुपर्छ,

हुरी बतास आउँदा छानो जोगाउनुपर्छ,

भोकमरीको चपेटामा परी जिउँदै मर्नुभन्दा

कन्दमूल र कर्कलोकै गानो जोगाउनुपर्छ।

सरलतम अक्षरमा व्यक्त यी पङ्क्तिहरू सहज रूपमा बुझिने। आत्मसात गरिने अपेक्षात्मक उद्गार व्यक्त्याइएको पाएँ। सामान्य पाठक वर्गका लागि दुरुह नबनाउने प्रयास सह्राहनीय भए अरू के बन्नु।

मुक्तक मुक्तकण्ठको स्वस्फूर्त आशय त बन्छ यसैउसै। मुक्तक मुक्तकण्ठनाद पनि हो भन्छु। बिनारोकतोक स्वच्छन्द तबरले व्यक्तिने हर्ष, बिस्मात, क्रोध, सन्देह, अलमल, दोधार, यस मुक्त कण्ठको प्रज्ञापनमूलक उमङ्ग, बिस्मात, विस्मय यी मुक्तक खेती त्यक्त।

मनभित्रका कुनै पनि तरङ्गका तरानालाई समयको कुनै मुहूर्तमा अभिमुखीकरण गर्न सकिने भाव तरङ्ग मुक्तकै। कुनै प्रकारका कुण्ठा मुक्त राख्ने उद्गार यथा अर्थ/यथार्थमा मुक्तक छ।

उषा केसीका असम्भार मनमुटुका तरङ्ग मुक्तक बनेर मुखरित भएको मनमनै जपेँ। घतलाग्दो मुखरित मनका उद्वेलन भित्रभित्रै मुखरण वाचन गर्दै उफ्रँदै रमाएँ। उनान्नब्बेका शिथिल अङ्गहरू तङ्गिँ्रदै जुर्मुराएको अनुभूति आर्जें। हृष्टपुष्ट लालिमाका जलपले मुस्कानभरिका आकर्षक चेहराका मधुरिमाका चुम्बकीय आकर्षण मानें।

मुक्तकका अन्तरालभरिका संकेत सङ्कीर्तन नै मानें। मुक्तकारिता उषाका मुक्तकभरि टनाटन भरिएका तालतलैयामा चुर्लुम्मिँदै स्नान गर्दा माघ महिनाको कठ्याङ्ग्रिँदो चिस्यान पनि पौडी खेल्ने सिकारुका मोहक स्विमिङ पुलझैं अजमाए। मुक्तकसङ्ग्रहभित्र सँगालिएका मुक्तक मुटुका व्यथा व्यवधानका एक्सरे हो कि आर्जें मनज्ञ।

बिनानिद्रा रात ढल्दैछ म के गरूँ?

बिनाआगो जीवन जल्दैछ म के गरूँ?

कर्कलाको पानीझैं पोखिएर जिन्दगी

आफैंलाई बारबार छल्दैछ म के गरूँ?

मुक्तकका यी पंक्तिले बरबादीले लखेटेको विवशताको संकेत गर्छ। यिनैलाई पढ्दै गर्दा उषाको जीवन उदयाचलबाट अस्ताचलको टुप्पो चढेको भान पर्छ। सम्हाल्न सकून् आफूले आफैंलाई। नत्र धकेलिन्छ बेसम्भार आफूलाई आफैंले। सम्हाल्नु आफूले आफैंलाई नै रहेछ जीवन भरोसा। आफ्नै मनलाई बुझाई सम्झाएँ।

अमेरिकाको मेसिगन सिटी विश्वविद्यालयका प्राध्यापक, एकेडेमिक एड्भाइजर ‘जो लिभिन’लाई नेपाली हस्तकला उपहार दिँदा उहाँले पोख्नुभएको उद्गार ‘कन्सोलेसन इज द ग्रेट प्राइज’ सम्झें। मुक्तककार युवती उषालाई ती शब्दहरू उपहार भन्न रुचाएँ। सान्त्वना आत्मबलकै जरोकिलो बन्छ।

मुक्तक मनका भावनात्मक आवेग। उर्लन्छ आवेग बनेर छाल तरङ्ग। पटवारी आत्मसंयम। सम्हाल्ने चेत मनोविज्ञान आफैंभित्रको खुबी। यस्तै मनोज्ञान–विज्ञान मुक्तकको पनि आत्मा अमरत्व बन्छ। यिनै धारणा आराधनारत रहँदा दीर्घायु जीवनको फक्रँदो सँगालेर फक्रेका यी ओठहरू भन्न रुचाएँ, उषाको प्रहर मुक्तक प्रसङ्गमा !

म त नारी हुँ आफ्नै घरमा बाँच्न मन छ,

जस्तो जे भए पनि कर्म घरमा हाँस्न मन छ,

आफ्नो छाया आफ्नै भाग्यको साथ हिँड्छ

पौरखी भएर आफ्नै घरमा नाच्न मन छ।

यी पङ्क्तिका माध्यम मुक्तककार उषाले नारी अस्मिताप्रतिका आस्था व्यक्त गर्न चाहेकी छन्। नारीवादकै इन्क्लाव भने होइन लाग्छ। यो चेतलाई चेतका चेहराभित्र ठेग्रिएका ओजन र भोजनका पौष्टिक स्वाद मानें।

आफ्नो छाया र भाग्यको साथमा जीवनदायी यात्रा लम्काउन चाहने मुक्तक चेतका मनलाई सँगाली लम्कन आत्म भरोसा जगाउन चाहेकी अनुभूति सँगाल्छु। ‘भाग्यम भवति सर्वत्र, नच विद्या नपौरुषम्’ गीताका यी पङ्क्ति नपछ्याई कर्मयोगमै लागिरहने आत्मधारणाका स्वर्ण किरण छर्कनु हुन्छु। चित्तवृत्ति पूर्ण रहून्, शुभकामना, शुभचिन्तन!

प्रकाशित: १९ फाल्गुन २०८० ०८:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App