नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको अस्तित्व स्वीकार नगरी सरकार बनाउने सपना देख्नु भ्रम मात्र हुने बताएका छन्।
मंगलबार मदन भण्डारी स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नयाँ तथा साना दलहरूतर्फ लक्षित गर्दै एमाले र कांग्रेसलाई बाइपास गरेर सरकार बन्छ भन्नु अपत्यारिलो कुरा भएको टिप्पणी गरे।
विशेष गरि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाण्डाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उर्जामन्त्री बीच राजनीतिक सहकार्य गर्ने गरी भएको सहमति प्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन्।
अध्यक्ष ओलीले वर्तमान संसदीय गणित र राजनीतिक धरातल बिर्सेर केही व्यक्तिहरू प्रधानमन्त्रीको सपना देखिरहेको बताए। उनले प्रश्न गरे, ‘एमाले–कांग्रेस बाहेक अरुले सरकार बनाउँछ ? सम्भव छ यो कुरा ? यस्ता कुरा पत्याएर म प्रधानमन्त्री हुन्छु भनेर कोही हिँड्छ भने त्यो अनौठो हो।’
अध्यक्ष ओलीले नयाँ दलहरूले आपसमा पदीय भागबण्डा गरेको विषयमा पनि व्यंग्य गरे। उनले पार्टीको अध्यक्ष एउटालाई, उपाध्यक्ष अर्कोलाई र प्रधानमन्त्री अर्कैलाई दिने भन्दै बाटोमै पद बाँडिएको बताए।
‘यहाँ त मान्छेलाई बाटोमै छानीछानी पद बाँडिएको छ। अध्यक्ष अर्कैलाई, उपाध्यक्ष अर्कैलाई, अनि प्रधानमन्त्री तिमी खाउला भनेर बाँडिएको छ,’ ओलीले व्यंग्य गर्दै भने, ‘यस्तो कुरा पत्याएर कोही मख्ख परिरहेका छन्। तर, यथार्थ अर्कै छ।’
ओलीले राजनीतिक स्थिरता र निकासका लागि एमाले र कांग्रेसजस्ता स्थापित र जिम्मेवार शक्तिहरूको भूमिका अपरिहार्य रहेको संकेत गर्दै हावाको भरमा सरकार नबन्ने जिकिर गरे।
प्रकाशित: १५ पुस २०८२ १६:३९ मंगलबार





