नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरूकै कारण देश ठूलो दुर्घटनाबाट जोगिएको दाबी गरेका छन्।
मंगलबार मदन भण्डारी स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देशमा अराजकता मच्चाउन खोज्ने समूहहरू सक्रिय भए पनि कांग्रेस र एमाले जस्ता जिम्मेवार शक्तिहरू भएकाले देश श्रीलङ्का हुनबाट जोगिएको बताए।
उनले अहिलेको व्यवस्था र शान्तिविरुद्ध आगो लगाउन खोज्नेहरूलाई बलियो राजनीतिक शक्तिहरूले रोकिराखेको बताए।
‘अराजकता मच्चाउन खोज्नेहरूले यसो हेर्छन्, विशाल एमाले देख्छन्, अनि अर्कोतिर हेर्छन् नेपाली कांग्रेस देख्छन्,’ ओलीले भने, ‘छेउमा गएपछि गाह्रो पर्छ भन्ने उनीहरूलाई थाहा छ। त्यसैले यी शक्तिहरू रहुन्जेल देश बिग्रन पाउँदैन।’
अध्यक्ष ओलीले गत भदाैं २४ गते देशमा आगो लगाउन खोज्नेहरू राष्ट्रियता र शान्तिका विरोधी भएको बताए। उनले भने, ‘२४ गते आगो लगाउनेहरू, देशलाई झुक्याएर आगो लगाउनेहरू कसैका विरुद्ध होइन, देशका विरुद्ध, शान्तिका विरुद्ध र विकासका विरुद्ध लागिपरेका छन्।’
उनले लोकतन्त्रका विरुद्ध रचिने कुनै पनि षड्यन्त्र सफल नहुने जिकिर गरे। लोकतन्त्र अजय रहेको भन्दै उनले कसैले चाहँदैमा यो व्यवस्था नढल्ने स्पष्ट पारे।
ओलीले एमालेसँग एक्लै चुवान लड्ने आँट नभएपछि साना दल र शक्तिहरूले मोर्चाबन्दी गरेको टिप्पणी गरे। उनले जतिसुकै दलहरू मिले पनि एमालेलाई कमजोर बनाउन नसक्ने दाबी गरे।
‘स्याल र बाख्राहरूले जति नै मोर्चाबन्दी गरे पनि सिंहको सिकार गर्न सक्दैनन्,’ ओलीले भने, ‘अन्तिममा जित उत्कृष्ट खेलाडीकै हुन्छ, लोकतन्त्रकै हुन्छ।’
उनले नयाँ भनिएका शक्तिहरूतर्फ लक्षित गर्दै काम गरेर देखाउन चुनौती समेत दिए।
प्रकाशित: १५ पुस २०८२ १६:१९ मंगलबार





