उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो।
त्रिशूली नदी किनारमा रहेका उपल्लो पैरेबेँसी, तल्लो पैरेबेँसी, खाल्टे, नौबिसे, कैदलेटार र बेत्रावतीलगायतका अति उर्वर खेतीयोग्य फाँटहरू बाढीसँगै आएको बालुवा र ढुङ्गाले ढाकिएका छन्।
वर्षभरि खाने धान पाक्ने बेला हुन लागेका फाँटहरू एकाएक बगर बनेपछि स्थानीय बासिन्दाको खाद्य सुरक्षा र जीविकोपार्जनमा गम्भीर सङ्कट उत्पन्न भएको छ।
उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालका अनुसार बाढीले गाउँपालिकाभित्रका ठूलो परिमाणको खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ।
अध्यक्ष अर्यालले भने, ‘भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले गाउँपालिकाका मुख्य धान उत्पादन हुने फाँट बाढीले पुरिदियो।’
वर्षभरि खाने अन्न फल्ने जमिन बगर बनेपछि किसानहरू ठूलो सङ्कटमा परेका छन्। गाउँपालिकाले क्षतिको पूर्ण विवरण सङ्कलन गरिरहेको छ।
पालिकाले पीडित किसानलाई तत्काल राहत प्रदान गर्न र उचित क्षतिपूर्तिको व्यवस्थाका लागि प्रदेश र सङ्घीय सरकारसँग आवश्यक समन्वय गरिरहेको छ।
बाढीका कारण रसुवा जिल्लामा मात्रै अनुमानित एक हजार ८०६ हेक्टर खेतीयोग्य जमिनमा क्षति पुगेको अनुमान छ।
धान थन्क्याउने मुख्य सिजनमा खेतीयोग्य जमिन नै सखाप भएपछि पीडित किसान चिन्तित छन्। रासस
प्रकाशित: ११ कार्तिक २०८३ १५:०३ बुधबार





