११ कार्तिक २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विद्यार्थी आन्दोलनको जितपछि सरकारी टिभीले माफी माग्दै भन्यो : वर्षौंदेखि एकपक्षीय समाचार दियौं

सर्बियाको सार्वजनिक टेलिभिजन रेडियो टेलिभिजन अफ भोज्वोडिनाले वर्षौंदेखि निष्पक्ष समाचार दिन नसकेको स्वीकार गर्दै दर्शकसँग माफी मागेको छ। 

विद्यार्थी आन्दोलनबाट बनेको समूह ‘स्टुडेन्ट्स लिस्ट’ले चुनावमा सफलता हासिल गरेपछि सरकारी प्रसारकले आफ्नो समाचार प्रस्तुतिमा कमजोरी रहेको स्वीकार गरेको हो।

आरटीभीका समाचार प्रस्तोता गोरान एरोरले साँझको समाचार बुलेटिन सुरु गर्दै प्रसारकले वर्षौंदेखि आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको बताए। ‘हामी मौन बस्यौं, आँखा चिम्लियौं, घटनाको एकपक्षीय समाचार दियौं र आवश्यक प्रश्नसमेत सोध्न सकेनौं। त्यसका लागि दर्शकसँग माफी माग्छौं,’ उनले भने।

उनका अनुसार केही पत्रकार र सम्पादकले स्वतन्त्र रूपमा काम गर्न र पत्रकारिताको आचारसंहिता पालना गर्न प्रयास गरेका थिए। तर उनीहरूको प्रयास समयमै सफल हुन सकेन। उनले अब पनि स्वतन्त्र पत्रकारिताका लागि संघर्ष जारी राख्नुपर्ने बताए।

प्रसारकले आफ्नो नेतृत्वमा पनि परिवर्तन गरेको छ। मुख्य टेलिभिजन कार्यक्रमका प्रस्तोता नेनाद कासिकले पदबाट राजीनामा दिएका छन्। उनको स्थानमा ब्लाजो पोपोभिक नियुक्त भएका छन् भने प्रेड्राग नोभकोभिकलाई नयाँ कार्यक्रम निर्देशक बनाइएको छ। आरटीभीको स्वतन्त्र ट्रेड युनियनले यसअघि नै समाचार सम्पादनमा सुधार र नेतृत्व परिवर्तनको माग गर्दै आएको थियो। उसले प्रसारकले स्वतन्त्र रूपमा समाचार प्रस्तुत गर्न नसकेको र सरकारको पक्षलाई बढी प्राथमिकता दिएको आरोप लगाएको थियो।

सर्बियामा विद्यार्थी आन्दोलन भ्रष्टाचार र सरकारी संस्थामा राजनीतिक प्रभाव रहेको आरोपविरुद्ध भएका प्रदर्शनबाट अघि बढेको हो। सन् २०२४ मा नोभी साद सहरको रेलवे स्टेसनको छाना खस्दा १६ जनाको मृत्यु भएपछि देशभर विरोध प्रदर्शन चर्किएको थियो। त्यसपछि विद्यार्थीहरूले सरकारी सञ्चारमाध्यमले आन्दोलनका गतिविधिलाई पर्याप्त स्थान नदिएको र उनीहरूका मागलाई निष्पक्ष रूपमा प्रस्तुत नगरेको आरोप लगाउँदै आएका थिए।

चुनावपछि सरकारी सञ्चारमाध्यमको भूमिकाबारे बहस थप चर्किएको छ। सोमबार साँझ करिब ३० जना प्रदर्शनकारी राष्ट्रपति अलेक्जान्डर भुचिकलाई समर्थन गर्ने इन्फर्मर टिभीको समाचार कक्षमा प्रवेश गरेका थिए। उनीहरूले च्यानलका सम्पादक ड्रागन भुचिकेभिचलाई पक्राउ गर्न माग गर्दै नारा लगाएका थिए। इन्फर्मर टिभीका सम्पादकले भने नयाँ राजनीतिक नेतृत्वले सञ्चारमाध्यमलाई दबाउन खोजेको आरोप लगाएका छन्। सर्बियाको स्वतन्त्र पत्रकार संघले इन्फर्मर टिभीले कानुन र प्रसारणसम्बन्धी नियम उल्लंघन गरेको आरोप लगाउँदै यसको प्रसारण इजाजतपत्र रद्द गर्न पहल गर्ने जनाएको छ।

रिपोर्टर्स विदाउट बोर्डर्सले सार्वजनिक गरेको सन् २०२६ को विश्व प्रेस स्वतन्त्रता सूचकांकमा सर्बिया १८० देशमध्ये १०४औं स्थानमा परेको थियो। यो देशको अहिलेसम्मकै सबैभन्दा कमजोर स्थान हो। एजेन्सीको सहयोगमा

प्रकाशित: ११ कार्तिक २०८३ १५:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App