११ कार्तिक २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चुनाव हारेपछि बोल्सोनारो परिवारलाई अमेरिकी भिसा दिइने

ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो बोल्सोनारो र उनको परिवारलाई अमेरिकाले भिसा दिने भएको छ। 

अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र कर छलीसम्बन्धी अनुसन्धानमा रहेका बोल्सोनारोलाई ब्राजिलको अदालतले राहदानी बुझाउन आदेश दिएको छ। 

बोल्सोनारो कहाँ छन् भन्ने स्पष्ट छैन। राष्ट्रपति लुलाले उनले देश छाडेको जानकारी पाए पनि गन्तव्यबारे थाहा नभएको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोल्सोनारो परिवारलाई ‘असल मानिस’ भन्दै अमेरिकामा स्वागत गर्ने बताएका छन्। 

बोल्सोनारोले निर्वाचनमा भएको हार स्वीकार गरेका छैनन्। उनले धाँधलीको आरोप लगाउँदै निर्वाचन परिणाम उल्ट्याउन माग गरेका छन्। लुलाले ६ करोड ४० लाखभन्दा बढी मत प्राप्त गर्दा बोल्सोनारोले ६ करोडभन्दा कम मत पाएका थिए। निर्वाचन परिणाम उल्ट्याउन ४४ लाख मतको अन्तरलाई प्रभावित पार्ने धाँधली भएको प्रमाण पेस गर्नुपर्नेछ। 

बोल्सोनारोका भाइ एडुआर्डो टेक्सासमा बस्दै आएका छन्। ट्रम्प प्रशासनसँग सम्बन्धित गैरकानुनी पैरवी गरेको अभियोगमा उनलाई अनुपस्थितिमै चार वर्षको जेल सजाय सुनाइएको छ। बोल्सोनारोले भने राहदानी बुझाएर आफूमाथि चालिएका कदमको सामना गर्ने बताएका थिए। 

बोल्सोनारोका पिता तथा पूर्वराष्ट्रपति जायर बोल्सोनारो सन् २०२२ को निर्वाचनमा पराजित भएपछि विद्रोहको प्रयास गरेको अभियोगमा २७ वर्षको जेल सजाय भोगिरहेका छन्। 

फ्लेभियोमाथि सरकारी निवृत्तिभरणबाट ठगीपूर्ण कटौती गरेको र विवादास्पद बैंकरबाट लाखौँ डलर लिएको आरोपमा अनुसन्धान भइरहेको छ। उनले आफूले कुनै गलत काम नगरेको दाबी गर्दै अनुसन्धानको नेतृत्व गरिरहेका न्यायाधीशको निष्पक्षतामाथि प्रश्न उठाएका छन्। 

बोल्सोनारोको सिनेटरका रूपमा कार्यकाल सन् २०२७ जनवरी ३१ मा सकिँदैछ। त्यसपछि उनले सर्वोच्च अदालतमा प्राप्त विशेष क्षेत्राधिकार गुमाउनेछन्। 

रासस 

प्रकाशित: ११ कार्तिक २०८३ १५:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App