२४ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

भ्रष्टलाई सधैं मोज भो जिन्दगी!

मुक्तक

१) मुक्तक

लाग्छ बाढी ठुलै भेल हो जिन्दगी,

बन्द कोठा भए जेल हो जिन्दगी।

हुन्छ जित्ने कुरा हार रोज्ने छ को,

लिन्छ हेर्ने मजा खेल हो जिन्दगी।

२) मुक्तक

भ्रष्टलाई सधैं मोज भो जिन्दगी,

लुट्न पाए मिली भोज भो जिन्दगी।

गर्छु केही भनी अल्झिने देशमा,

ठान्दछन् भाग्यको खोज भो जिन्दगी।

३) मुक्तक

गर्न सक्ने जुटौं कर्म हो जिन्दगी,

बुझ्नुपर्ने कुरा मर्म हो जिन्दगी।

नित्य धाई तिनै पुग्दछन् मन्दिर,

ठान्दछन् प्रेमले धर्म हो जिन्दगी।

४) मुक्तक

दुःखपीडा ठुलै चोट हो जिन्दगी,

भित्र कालो भए खोट हो जिन्दगी।

देशमा आउँदा आम निर्वाचन,

ठान्छ नेतो सधैं भोट हो जिन्दगी।

५) मुक्तक

हुन्छ पूरा भनी आसमा जिन्दगी,

एक मुठ्ठी झिनो सासमा जिन्दगी।

अल्झियो ठान्दछन् वृद्ध आमाबुवा,

काट्दछन् कालको त्रासमा जिन्दगी।

६) मुक्तक

भाँच औंला गनी साल हो जिन्दगी,

माकुराझैं बुनौं जाल हो जिन्दगी।

जन्मने मर्दछन् रीत यो सर्वथा,

टार्न कोही सकोस् काल हो जिन्दगी।

७) मुक्तक

चढ्छ अग्लो बनी माथमा जिन्दगी,

रोज्छ आराम यो गाथमा जिन्दगी।

प्रेमको आसमा बाँच्छ विश्वासमा,

रम्छ तिम्रो मिले साथमा जिन्दगी।

८) मुक्तक

भेट्न चाह्यो झनै भाग्छ यो जिन्दगी,

हैन आफ्नो कतै लाग्छ यो जिन्दगी।

तेल थप्दै गरौं दीपमा प्रेमले,

निभ्न बाँकी छँदा जाग्छ यो जिन्दगी।

९) मुक्तक

ढल्न बाँकी छँदा रात हुन् जिन्दगी,

सुन्न पाए मिठा बात हुन् जिन्दगी।

रोजगारीविना जिन्दगी चल्छ के,

कर्ममा बाँधिने हात हुन् जिन्दगी।

१०) मुक्तक

लाग्छ रारा बनूँ ताल होस् जिन्दगी,

ठान्छ गोली सधैं नाल होस् जिन्दगी।

बाह्रेमासे बस्यो खेल्नलाई भने,

ठान्छ त्यो तासको खाल होस् जिन्दगी।

प्रकाशित: १२ फाल्गुन २०८० ११:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App