२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
स्वास्थ्य

कुष्ठरोगीको सङ्ख्या शून्यमा झार्न सचेतना आवश्यक

कुष्ठरोगीको सङ्ख्या शून्यमा झार्न व्यापक सचेतना आवश्यक रहेकोमा जोड दिइएको छ। जनकपुरधाममा ७३औँ विश्व कुष्ठरोग दिवसका अवसरमा स्वास्थ्य कार्यालयले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका कुष्ठरोग अधिकृत राजवीर यादवले कुष्ठरोगको अवस्था, लक्षण, उपचार तथा रोकथामका उपायबारे जानकारी दिए।

उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा प्रतिएक लाख जनसङ्ख्यामा नयाँ कुष्ठरोगीको दर ८ दशमलव १६ रहेको छ भने मधेस प्रदेशमा यो दर १३ दशमलव ६७ रहेको छ, जुन राष्ट्रिय औसतभन्दा बढी हो।

यस्तै, प्रति १० हजार जनसङ्ख्यामा वर्षको अन्त्यमा उपचारमा रहेका बिरामीको प्रकोप दर नेपालमा शून्य दशमलव ८८ र मधेस प्रदेशमा एक दशमलव २८ रहेको तथ्याङ्क प्रस्तुत गरिएको थियो। नयाँ बिरामीमध्ये ०–१४ वर्ष उमेर समूहका बालबालिकाको अनुपात नेपालमा तीन दशमलव ७८ प्रतिशत र मधेस प्रदेशमा चार दशमलव ६७ प्रतिशत रहेको जानकारी दिइयो।

कार्यक्रममा प्रस्तुत तथ्याङ्कअनुसार नयाँ बिरामीमध्ये तह–२ असमर्थता भएका बिरामीको अनुपात नेपालमा छ दशमलव ३९ प्रतिशत र मधेस प्रदेशमा छ दशमलव ७७ प्रतिशत रहेको छ। यद्यपि, मधेस प्रदेशमा ०–१४ वर्ष उमेर समूहका तह–२ असमर्थता भएका नयाँ बिरामी शून्य रहेका छन्। नयाँ बिरामीमध्ये महिलाको अनुपात नेपालमा ४२ दशमलव ०१ प्रतिशत र मधेस प्रदेशमा ४४ दशमलव ११ प्रतिशत रहेको छ भने एमबी (मल्टिबेसिलरी) बिरामीको अनुपात नेपालमा ८१ दशमलव १५ र मधेस प्रदेशमा ६९ दशमलव ६६ प्रतिशत रहेको बताइयो।

यसैगरी, आव २०८१/८२ मा नेपालभर दुई हजार ४०९ नयाँ कुष्ठरोगी पत्ता लागेका छन् भने मधेस प्रदेशमा ८५७ जना नयाँ बिरामी फेला परेका छन्। आवको अन्त्यसम्म नेपालमा दुई हजार ६०८ र मधेस प्रदेशमा ८०५ बिरामी उपचारमा रहेका छन्। नयाँ बिरामीमध्ये १४ वर्षमुनिका बालबालिका नेपालमा ९९ र मधेस प्रदेशमा ४० जना रहेका छन्। तह–२ असमर्थता भएका नयाँ बिरामीको सङ्ख्या नेपालमा १५४ र मधेस प्रदेशमा ५८ रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ।

स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेशकुमार यादवले कुष्ठरोग न्यूनीकरणका लागि स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीच सहकार्य आवश्यक रहेको बताए। उनले समयमै रोग पहिचान र उपचार सेवामा पहुँच विस्तार गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा अरविन्द साहले प्रशिक्षक प्रशिक्षण दिएका थिए भने मनोज साहले कुष्ठरोगविरुद्ध सामूहिक प्रयास अपरिहार्य रहेको धारणा राखे। रासस

प्रकाशित: १० माघ २०८२ २१:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App