आसन्न प्रतिनिधिसभा सदस्य नर्वाचनका लागि झापाका पाँच वटा निर्वाचन क्षेत्रमा ८९ जनाले उम्मेदवार मैदानमा छन्। ती मध्ये १७ जना स्वतन्त्र उम्मेदवार रहेका छन् भने बाँकी ७२ जना दलका उम्मेदवार छन्।
देशभर सबैभन्दा बढी चासो र चर्चा रहेको निर्वाचन क्षेत्र पनि झापा जिल्लामै छ। त्यो हो, झापा–५। यो क्षेत्र यो यसपटकको निर्वाचनको ‘इपिसेन्टर’ नै मानिएको छ।
यहाँ लामो समयदेखि पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लड्दै आएका छन्। ओलीसँग भिड्न यसपटक काठमाडौं महानगर पालिकाका पूर्वमेयर बालेन्द्र साह (बालेन) पुगेका छन्।
आगामी प्रधानमन्त्रीको उम्मेदवार बनेर पार्टी प्रवेश गरेका बालेनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता पनि बनाएको छ। ओली–बालेनको यो टक्करलाई देशभित्र र देशबाहिर ठुलो जमातले रुचिपूर्वक हेरेका छन्। यहीकारण यहाँको माहोल दिनप्रतिदिन तात्दैगएको छ।
यहाँ प्रतिस्पर्धा द्विपक्षीय देखिए पनि अन्य दल र स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा छन्। ओली–बालेनसहित झापा–५ को ब्याटलग्राउन्डमा २४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। जसमा १५ जना जना दलीय र ९ जना स्वतन्त्र उम्मेदवार छन्।
यो क्षेत्रमा नेपाली कांग्रेसले मन्धरा चिमरियालाई उठाएको छ भने, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट रञ्जित तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट लक्ष्मीप्रसाद संग्रौला, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट धिरेन सुब्बा, जनमत पार्टीबाट अमृतलाल महतो उम्मेदवार छन्।
यस्तै, मंगोल नेसनल अर्गनाइजेसनका सानबहादुर मेचे, नेपाल जनमुक्ति पार्टीका पदमबहादुर जवेगु, राष्ट्रिय परिवर्तन पार्टीका सविन राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुशान्त साम्पाङ राई, श्रम संस्कृति पार्टीका समिर तामाङ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सञ्जय राई, राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकल चिन्ह) अमृत रसाइली, पिपुल फस्र्ट पार्टीका धर्मराज गुरागाईँ दलीय उम्मेदवार छन्।
यस्तै अर्जुन सापकोटा, खेमनाथ सिवाकोटी, डम्बर शाहु, पुस्कर खतिवडा, प्रकाश नेपाल, मातृका भट्टराई, रञ्जना गौतम, विपुल गुरागाईँ र शोभा भण्डारी स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका छन्।
यो क्षेत्रमा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले अध्यक्ष ओलीले ५२ हजार ३१९ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारी २३ हजार ७४३ मत प्राप्त गर्दा रास्वपाका सुरेशकुमार पोखरेलले ११ हजार ७५९ मत ल्याएका थिए।
विश्वप्रकाशले छाडेको झापा–१ मा १५ उम्मेदवार
झापा–१ मा गत निर्वाचनमा कांग्रेसका विश्वप्रकाश शर्माले ३९ हजार ६२४ मतसहित जित निकालेका थिए। एमालेका अग्निप्रसाद खरेलले २५ हजार ३४९ मत पाउँदा रास्वपाका ओमनाथ भण्डारीले ८ हजार ५६४ मत ल्याएका थिए।
यसपटक विश्वप्रकाशले चुनाव नलड्ने घोषणा गरेर मैदान खाली गरेका छन्। उनले छाडेको सिटमा अहिले १३ दलीय र दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार छन्।
जसमा कांग्रेसले केशवराज पाण्डेलाई अघि सार्दा एमालेले रामचन्द्र उप्रेती, नेकपाले अशेष घिमिरे, रास्वपाले निशा डाँगी, राप्रपाले हेमराज कार्की, जसपा नेपालले रमा मेचे, नेमकिपाले हिरण्यप्रसाद भट्टराई, मंगोल नेसनल अर्गनाइजेसनले सन्तोष तामाङ, नेपाल सद्भावना पार्टीले ओलिन राजवंशी, नेपाल जनमुक्ति पार्टी खान्द्रु करुवा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले मानबहादुर साँवा (लिम्बु), श्रम संस्कृति पार्टीले केवलराम राई, उज्यालो नेपाल पार्टीले नरेशकुमार लावतीलाई उम्मेदवार बनाएको छ। यस्तै गणेशकुमार खरेल र दुर्गाप्रसाद साँवा लिम्बु स्वतन्त्र उम्मेदवार छन्।
झापा–२ मा निवर्तमान सभामुख–उपसभामुख
झापा–२ मा यसपटक विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगर आमने–सामने देखिएका छन्। घिमिरेलाई एमालेले मैदानमा उतार्दा रास्वपाले रानामगरलाई प्रत्यक्ष लडाएको हो।
यो क्षेत्रमा उनीहरूबाहके १५ दलीय र तीनजना स्वतन्त्र उम्मेदवार छन्। जसमा कांग्रेसबाट सरिता प्रसाईँ, नेकपाबा धर्मशिला चापागाईँ, राप्रपाबाट भद्रप्रसाद (स्वागत) नेपाल, जनमत पार्टीबाट रमेशकुमार राजवंशी, नेमकिपाका चन्द्रकुमारी गारु, मंगोल नेसनल अर्गनाइजेसन अकलबहादुर तामाङ, नेपाल जनमुक्ति पार्टीका मानबहादुर पुलामीमगर, नेकपा (संयुक्त) का श्रीप्रसाद सिटौला, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमृता लावती, श्रम संस्कृति पार्टीबाट केशवकुमार भण्डारी, नेकपा माओवादीबाट अर्जुनकुमार पाण्डे, उज्यालो नेपाल पार्टीबाट चुँडाकर्ण बेघा, जसपाबाट तिलबहादुर राई उम्मेदवार छन्।
यस्तै पुण्यप्रसाद आचार्य, युवराज संग्रौला र रमेशकुमार कार्की स्वतन्त्र उम्मेदवार छन्।
यो क्षेत्रमा पूर्व सभामुख घिमिरे एमालेबाट गत निर्वाचनमा २८ हजार ७१६ मतसहित विजयी भएका थिए। स्वतन्त्र उमेदवार भद्रप्रसाद नेपालले २६ हजार ४५५ मतसहित दोस्रो हुँदा तत्कालीन माओवादी केन्द्रका हरिकुमार राना मगरले १३ हजार ९३० मत पाएका थिए।
झापा–३ मा लिङ्देनका १६ प्रतिस्पर्धी
झापा–३ मा यसपटक १५ दलीय र स्वतन्त्र दुई जना गरी १७ जना उम्मेदवार छन्। जसमा एमालेबाट हरिबहादुर राजवंशी, कांग्रेसबाट राजेन्द्रकुमार घिमिरे, नेकपाबाट डिल्लीराम घिमिरे, रास्वपाबाट प्रकाश पाठक, राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन, जसपाबाट कर्णलाल राजवंशी, जनमत पार्टीबाट हरसलाल राजवंशी, नेमकिपाबाट धर्मलक्ष्मी दुवाल, मंगोल नेसनल अर्गनाइजेसनबाट यामकुमार श्रेष्ठ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट चन्द्रकला सावा, नेसनल रिपब्लिक नेपालबाट जयन मगर, श्रम संस्कृति पार्टीबाट दीपक तिम्सिना, नेकपा माओवादीबाट सन्तोष कटवाल, उज्यालो नेपाल पार्टीबाट श्यामकृष्ण पाठक, जसपाबाट विनिताकुमारी राजवंशी उम्मेदवार छन्। यस्तै अभय राजवंशी र मानप्रकाश संग्रौला स्वतन्त्र उम्मेदवार छन्।
यो क्षेत्रमा २०७९ को निर्वाचनमा राप्रपाका अध्यक्ष लिङदेन ४० हजार ६६२ मतसहित विजयी हुँदा कांग्रेसमा कृष्णप्रसाद सिटौलाले ३७ हजार ३८६ मतसहित दोस्रो भएका थिए। यसैगरी रास्वपाका प्रकाश पाठकले ३ हजार ४६१ मत पाएका थिए।
झापा–४ मा १६ उम्मेदवार
झापा–४ मा १५ राजनीतिक दल र एक स्वतन्त्रसहित १६ जना चुनावी मैदानमा छन्। जसमा एमालेबाट लालप्रसाद साँवा लिम्बु, कांग्रेसबाट देउकुमार थेवे, नेकपाबाट पुरुषोत्तम चुडाल, रास्वपाबाट शम्भुप्रसाद ढकाल, राप्रपाबाट भक्तिप्रसाद सिटौला, जसपाबाट पल्टन ताजपुरिया, जनमत पार्टीबाट लोथ्रो हेमरम, नेमकिपाबाट तुल्सीलक्ष्मी दुमरु, मंगोल नेसनल अर्गनाइजेसनबाट दिलीप धिमाल, नेकपा माक्र्सवादी (पुष्पलाल) बाट टेकबहादुर अधिकारी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट किरण लिम्बु लिङ्देन, श्रम संस्कृति पार्टीबाट अमृतादेवी राई, नेकपा माओवादीबाट ताराबहादुर थापा, उज्यालो नेपाल पार्टीबाट सन्तोष तामाङ, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट त्रिनारायण राजवंशी र स्वतन्त्र साजन माझी उम्मेदवार छन्।
यो क्षेत्रमा गत निर्वाचनमा एमालेका साँवा लिम्बुले २९ हजारतीन सय मतसहित जित निकाल्दा कांग्रेसका थेवेले २२ हजार ४४८ मत ल्याएका थिए। रास्वपाका शम्भुप्रसाद ढकालले १४ हजार ६९ मत ल्याएका थिए।
प्रकाशित: १० माघ २०८२ २१:०६ शनिबार





