४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

नदी दायाँबायाँ भवन निर्माणबारे अदालतको आदेशलाई महानगरको सम्मान

काठमाडौं महानगरपालिकाले नदीको दायाँबायाँ क्षेत्रमा भवन निर्माणसम्बन्धी मापदण्डका विषयमा सर्वोच्च अदालतको आदेश र निर्णयलाई सम्मान गर्ने जनाएको छ।

उपत्यकाका १९ वटा नदी सङ्घर्ष समितिका पदाधिकारीसँग भएको भेटमा कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अदालतको आदेशको सम्मान गर्दै महानगरले नदीको दायाँबायाँ क्षेत्रमा भवन निर्माणका लागि लगाइएको रोक्का फुकुवासम्बन्धी सार्वजनिक सूचना जारी गरिसकेको जानकारी दिइन्।

सर्वोच्च अदालतले यही माघ ४ गते जारी गरेको आदेश र महानगरले गरेको निर्माण रोक्का फुकुवाप्रति आभार व्यक्त गर्न आएका समितिका पदाधिकारीसँगको छलफलमा डङ्गोलले बासिन्दालाई विस्थापित गराउनेभन्दा पनि उनीहरूको जायज माग सम्बोधन गर्दै सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिइन्।

उनले नदी किनारामा बसोबास गर्ने उपत्यकावासीले विभिन्न समयमा अदालत, सडक र सम्बन्धित कार्यालयमार्फत एकता र सहकार्यका साथ आफ्ना समस्या उठाइरहेकामा धन्यवाद दिइन्। उनले अन्योल र अनिर्णयको अवस्थामा पनि देखाइएको सहकार्य, समन्वय, एकता र संयमको प्रशंसा गरिन्।

भेटपछि नदी सरोकार सङ्घर्ष समितिका संयोजक ऋषि बस्यालले डङ्गोललाई कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेकोमा बधाई दिँदै नागरिकको रक्षा र नगरवासीका समस्या समाधानमा निरन्तर लाग्न आग्रह गरे। अभियन्ता राजाराम तण्डुकारलगायतले पनि सकारात्मक पहलका लागि धन्यवाद व्यक्त गरे।

 

प्रकाशित: १० माघ २०८२ २१:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App