२४ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

रामको नाम जप्नेहरू नै बगलीमा छुरा बोक्छन्!

मुक्तक

१) मुक्तक

हामीलाई निचोरेर तिमी विलासितामा बाँच,

हाम्रो मन रोएको छ तैपनि तिमी खुब हाँस।  

मुखमा जनता अनि बगलीमा छुरा बोकेर,

दाँत देखाउँदै नकचरो बनेर बाँदरे नाच नाच।

२) मुक्तक

उन्नाइस नै छु म बीस भन्न सक्दिनँ,

तिमी लाखौंमा एक छौ गन्न म सक्दिनँ।

तर हार्दिन म अझै जारी राख्छु प्रयास,

बन्छु म असल, खराब बन्न म सक्दिनँ।

३) मुक्तक

तिमीलाई बसाउन दिलमा शहर छ मेरो,

मायाको फूल फुल्ने प्रत्येक प्रहर छ मेरो।

भनिदेऊ एकपल्ट हुन्छ भनेर ए प्रिय!

तिमीसँगै जीवन बिताउने रहर छ मेरो।

४) मुक्तक

भो ननिकाल मनबाट तिमीले घृणाको आगो,

जराबिना कहाँ बाँच्छ र फल लाग्ने हाँगो।

सोच, सम्झ र बुझ सदैव तिमीले यो कुरा,

फाटेको मन जोड्न चाहिन्छ प्रेमको सियोधागो।

५) मुक्तक

आशा र निराशा त जीवनको खेल हो,

लोभ र लालच त जीवनको जेल हो।

माया र मोह, रिस र राग त्याग्न सके,

यो जीवन परमात्मासँगको मेल हो।

६) मुक्तक

फाली बनेर निस्कनुअघि सियो बनी पसेका थियौ,

झुठा मिठा कुरा गरेर मेरो मनमा बसेका थियौ।

अभिनय कस्तो गर्न जानेको झुक्किएछु मै पनि,

नाग भन्दै पूजा गरेको सर्प बनी डसेका थियौ।

७) मुक्तक

मेरो मनको रामले भन्छ तिम्रो माया मार्दिन म,

आँधी आओस् हुरी चलोस् आँसु कतै झार्दिन म।

दुख पनि सुखै लाग्छ तिमी मेरो साथ भए,

सुनकै लङ्का भए पनि मनको राजधानी सार्दिन म।

८) मुक्तक

आफू पनि अघि बढ्दैनन् अरूको बाटो नि छेक्छन्,

केही गर्दैन जो उहीँ नै आकाशपाताल खोक्छन्।

यस्तै छ यहाँ काम गर्नेको नाम कालू चलेको छ,

रामको नाम जप्नेहरू नै बगलीमा छुरा बोक्छन्।

९) मुक्तक

घृणालाई फाल्न पाए जीवन सधैं माथि हुन्थ्यो,

प्रेमको सुवास छर्न पाए सारा जगत साथी हुन्थ्यो।

कसैको दुख नदेखीकन कसैलाई दुख नदिईकन,

असल मान्छे बन्न पाए जीवन कति जाति हुन्थ्यो।

१०) मुक्तक

नओकल भो घृणाको आगो यसले आफैलाई जलाउँछ,

आफ्नो मनभित्र हुर्केको पीडाले आफ्नै शरीर गलाउँछ।

नगर भो कुरा त्यसको जसले तिमीलाई यो चोट दियो,

पक्कै एकदिन त्यसको मनमा मयाको विरूवा पलाउँछ।

प्रकाशित: १ चैत्र २०८० १०:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App