२४ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

पारिजातको जस्तै सुगन्ध आउँछ तिमी नजिक हुँदा!

मुक्तक

१) मुक्तक

यात्रा गर्नेहरू क्रमशः खोला तरिरहन्छन्,

खुट्टा समात्नेहरू औकातमा झरिरहन्छन्।

सगरमाथा चढ्नेहरू चुपचाप चढिरहे,

नाथे फेदी देख्नेहरू हल्ला गरिरहन्छन्।

२) मुक्तक

प्रश्नभित्रै उत्तर र समस्याभित्र समाधान हुन्छ यत्ति बुझ्नू,

तिमीभित्रको मान्छेलाई चिन्नू, पहिचान हुन्छ यत्ति बुझ्नू।

बाहिरी संसारमा शान्ति खोज्दै रमाउने आदत भयो भने,

तिम्रो घर; घर रहदैंन अकस्मात मुग्लान बन्छ यत्ति बुझ्नू।

३) मुक्तक

थपेर टाउकामा ओजन, यो बाटो कहाँसम्म पुग्छ होला?

दिएर पीडा र जलन, यो बाटो कहाँसम्म पुग्छ होला?

केही थान आँखा थाकें, कसैको प्रतिबिम्ब खोज्दा खोज्दै,

जान्छन् मात्रै, फर्कदैनन्, यो बाटो कहाँसम्म पुग्छ होला?

४) मुक्तक

पारिजातको जस्तै सुगन्ध आउँछ तिमी नजिक हुँदा,

मातले धर्तीभन्दा माथि पुर्‍याउँछ तिमी नजिक हुँदा।

आकाशमा बसेर चन्द्रमा हेर्दै मुखले शिखर चुम्ने गर्छु,

हृदयमा प्रेमको ब्रह्माण्ड अटाउँंछ तिमी नजिक हुँदा।

५) मुक्तक

खुकुरी चाहिन्न मन दुख्न मात्र तिम्रो मौनता भए पुग्छ,

खुसी हुन ऐश्वर्य खोज्दिन म तिम्रो मादकता भए पुग्छ।

बगोस्, पानीमै लेखिदिन्छु नाम, देख्नु पर्दैन दुनियाँले,

सागर पुगी मोती भेटोस् बस तिम्रो सफलता भए पुग्छ।

६) मुक्तक

शरदको महक फैलदा हृदय पग्लिएर प्रेमिल भइदिन्छु,

वसन्तमा ‘तिमी’ देख्छु अनि सम्झिएर प्रेमिल भइदिन्छु।

हरेक पल आँखामा टाँसिएको तस्बिर अगाडि आउँदा,

‘पागल म’ अनवरत हाँसो खुस्किएर प्रेमिल भइदिन्छु।

७) मुक्तक

कहिले मुस्कुराउँछु कहिले खित्का छोडेर हाँस्छु,

अक्सर आँखा रित्तो भएपछि मुख छोपेर हाँस्छु।

हाँस्नेहरू आहत र रुवाइ देखेर पनि हाँस्ने गर्छन्,

म एउटा पागल हूँ जो आफू आफैंलाई हेरेर हाँस्छु।

८) मुक्तक

आँखामा आक्रोश देखिन्छ, मन कठोर छ,

ए द्रष्टा, कता जादैंछौ? विचार घनघोर छ।

गंगास्नान गरेर मात्रै  चोखिन्छ सोच्छौ?

शरीरभित्र पीप छ, फोहोर नै फोहोर छ।

९) मुक्तक

अरूलाई काट्ने तरवार नचाउँदा तपाईंलाई काट्न सक्छ,

तपाईंकै दाँतले परिकार चपाउँदा तपाईंलाई काट्न सक्छ।

सधैं प्रयोगलाई मात्रै उद्देश्य बनाउँदा घातक हुन्छ बुझ्नोस्,

तपाईंले काटेको चोया खेलाउँदा तपाईंलाई काट्न सक्छ।

१०) मुक्तक

कैद गर्छु आँखाको झ्यालखाना मभित्र छँदैछ,

नजिक ल्याउने हजारौं बहाना मभित्र छँदैछ।

गाजलको पर्खाल लगाऊ आखाँका डिलमा,

यत्ति भए पुग्यो डुब्ने चाहना मभित्र छँदैछ।                  

प्रकाशित: १४ फाल्गुन २०८० १३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App