२३ पुस २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

१८०० किमी साइकल यात्रासँगै क्यान्सर सचेतना अभियान : पाँचथरदेखि धनकुटासम्म कार्यक्रम

अंग्रेजी नयाँ वर्ष (सन् २०२६) को अवसर पारेर पाँचथरको चिवाभञ्ज्याङबाट सुरु भएको मध्यपहाडी लोकमार्ग साइकल यात्रा अन्तर्गत विभिन्न जिल्लामा क्यान्सर सचेतना कार्यक्रमहरू सम्पन्न भएका छन्।

साइकल कल्चर कम्युनिटी र धुलिखेल अस्पतालको सहकार्यमा पाँचथरको चिवाभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्मको १८०० किलोमिटर दुरी पार गर्ने एक महिना लामो यो अभियान गत पुस १७ गते (जनवरी १) देखि सुरु भएको हो।

अभियानका क्रममा पाँचथर, तेह्रथुम र धनकुटाका विभिन्न शैक्षिक संस्था तथा समुदायमा पाठेघर तथा स्तन क्यान्सरबारे सचेतना जगाइएको छ।

यात्राको दोस्रो दिन पाँचथरको फिदिम आइपुगेको टोलीले फिदिमस्थित विद्या वरदान स्कुलका करिब २५० विद्यार्थीमाझ सचेतना कार्यक्रम गरेको थियो।

कार्यक्रममा टोलीमा सहभागी वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा.डा. सुमनराज ताम्राकारले पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरका लक्षण तथा बच्ने उपायबारे प्रस्तुतीकरण दिएका थिए।

उक्त अन्तरक्रियात्मक कार्यक्रममा विद्यार्थीहरूले राखेको जिज्ञासामा डा. ताम्राकारले प्रष्ट पारेका थियो। कार्यक्रममा स्कुलका प्रिन्सिपल गजेन्द्र माबो, ईन्चार्ज अनोज भट्टराई, नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष भीम बास्कोटा लगायतको उपस्थिति थियो।

यसैगरी, पुस १९ गते तेह्रथुमको चुहानडाँडास्थित काजीमान कन्दङ्वा पार्कमा ग्रामीण महिला जागरण समूहका करिब ५० जना महिलालाई लक्षित गरी सचेतना कार्यक्रम गरियो।

सो अवसरमा प्रा.डा. ताम्राकारले पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरबाट बच्न समय–समयमा ‘प्याप स्मेयर’ (पाठेघरको मुखको पानीको जाँच) र ‘म्यामोग्राम’ गराउनुपर्नेमा जोड दिए।

सचेतना अभियानकै क्रममा पुस २० गते तेह्रथुमको म्याङ्लुङस्थित दिपज्योती इङ्गलिस बोर्डिङ स्कुलमा र पुस २१ गते म्याङ्लुङ क्याम्पसमा कार्यक्रम सम्पन्न भएको छ।

स्कुलका करिब ६० विद्यार्थी र शिक्षिकाहरु तथा क्याम्पसका प्राध्यापक र विद्यार्थी गरी ६० जनाको सहभागिता रहेको कार्यक्रममा अभियानका संयोजक एवं राइडर डा. तारालाल श्रेष्ठले यात्राको उद्देश्यमाथि प्रकाश पारेका थिए।

सोही क्रममा क्यान्सर विजेता एवं मुख्य राइडर कविता चित्रकारले आफ्नो क्यान्सर उपचारका क्रममा भोगेका अनुभव र संघर्षको कथा सुनाउँदै आत्मबल बढाउन प्रेरित गरे।

दिपज्योती स्कुलकी प्रिन्सिपल सेविका कार्की र म्याङ्लुङ क्याम्पसका प्राचार्य प्रकाश ढुंगानाको संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो।

यस्तै, अभियान टोलीले आज (सोमबार) नै धनकुटाको लेगुवामा स्थानीय २५ जना महिला दिदीबहिनीहरूसँग क्यान्सर सचेतनासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। पूर्वको चिवाभञ्ज्याङबाट सुरु भएको यो साइकल यात्रा पश्चिमको झुलाघाट पुगेर समापन हुनेछ।

प्रकाशित: २१ पुस २०८२ २१:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App