राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुई उपसमिति गठन गरेसँगै उम्मेदवारको टुंगो लगाउने गृहकार्य सुरु भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला तहबाट उम्मेदवार छनोटका लागि सिफारिस गरेर पठाइरहँदा रास्वपाले उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा सिफारिस समिति गठन गरेको हो ।
रास्वपाबाट प्रधानमन्त्रीका रूपमा अघि सारिएका काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन) कुन क्षेत्रबाट उम्मेदवार सिफारिस होलान् भन्ने कौतूहलता आजजनमानसमा उत्पन्न भएको छ । सामाजिक सञ्जालहरूमा झापा–५ बाट उम्मेदवारी दिने चर्चा चले पनि उनी चुनाव लड्न त्यहाँ भने नजाने भएका छन् । उनले काठमाडौको कुनै एक क्षेत्रबाट उम्मेदवारी दिने बताइएको छ । काठमाडौंबाट उम्मेदवारी दिने अवस्था नबने उनले महोत्तरीलाई रोज्ने उनीनिकट युवाहरूले बताएका छन् ।
बालेनका तर्फबाट रास्वपा केन्द्रीय सदस्य बनेका पुरुषोत्तम यादवलाई मधेसको कुनै एक जिल्लाबाट उम्मेदवारी दिन लगाउने बताइएको छ । तर बालेन आफैंले भने यसबारे मुख खोलेका छैनन् । काठमाडौंमा बालेनको घर क्षेत्र नं. २ मा पर्छ । यसअघि सो क्षेत्रमा रास्वपाबाट सोबिता गौतमले चुनाव जितेकी थिइन् । अहिले सो क्षेत्रमा सोबिताको छवि राम्रो छैन । यसपटक उनले चितवन–३ रोज्ने सम्भावना छ । चितवन ३ उनको घर भएको क्षेत्र हो । चितवन २ मा रास्वपा सभापति रवि लामिछाने उम्मेदवारी दिने बताइएको छ । उनले यसअघि पनि सोही क्षेत्रबाट जितेका हुन् । उनले चुनाव जितिहाले पनि शपथ लिन भने पाउनेछैनन् । सहकारी ठगी, सम्पत्ति शुद्धीकरणको मुद्दा कायमै रहने भएकाले उनका लागि यसपटकको निर्वाचन कानुनी हिसाबले प्रतिकूल छ । चितवन–१ मा हरि ढकाल नै निर्वाचन लड्ने तयारीमा छन् ।
यसअघि रास्वपाका तर्फबाट निर्वाचन जितेका शिशिर खनालले काठमाडौं–६ नछाड्ने भएका छन् तर त्यहाँ बालेनका तर्फबाट रास्वपामा प्रवेश गरेका युवा नेताले पनि नछाड्ने अवस्था देखिएको छ । डिपी अर्यालले पनि धादिङमा निर्वाचन नलड्न भन्दै काठमाडौं–६ ताकिरहेका छन् । काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ र ७ मा गणेश पराजुलीको दाबी यथावत् राखिरहेको रास्वपानिकट स्रोतले जनाएको छ । पुकार बमले काठमाडौं–१ मा उम्मेदवारी दिने तयारी गरेको स्रोतको दाबी छ ।
ललितपुर–३ मा कुमार बेन र ललितपुर–१ मा सुरेन्द्र बजागाईलाई उम्मेदवार बनाउने गृहकार्य भइरहेको बताइएको छ । बेन र बजागाई दुवै बालेननिकट हुन् । त्यसैगरी ललितपुर–२ मा रास्वपाकै तर्फबाट हाल सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको चर्चा चलिरहेको छ । खरेल रास्वपा प्रवेशको चरणमा रहेको बताइएको छ । काठमाडौं–३ बाट कुलमान घिसिङ र भक्तपुर–२ बाट जितमान लामाले उम्मेदवारी दिने तयारी गरिरहेको बताइन्छ । सिरहाबाट तेजनारायण यादव र पुरुषोत्तम यादव पनि रास्वपाकै तर्फबाट चुनाव लड्ने तयारीमा छन् । यसैगरी पहिचानको आन्दोलनमा सहभागी भएका डेगेन्द्रसिंह थेगिमले इलामबाट उम्मेदवारी दिने तयारी गरेका छन् ।
बालेनका तर्फबाट रुपन्देही–३ बाट सन्तोष गिरी, अछामबाट भूपदेश शाह, कास्कीबाट गणेश पौडेलले चुनावमा उम्मेदवारी दिने बताइएको छ । पौडेलले यसअघि बालेनको चुनाव चिह्न लौरो लिएर पोखरा उपमहानगरपालिकामा मेयरको उम्मेदवारी दिएका थिए । डडेलधुरामा शेरबहादुर देउवासँग चुनाव लडेको भन्दै चर्चामा आएका सागर ढकालको भने निर्वाचन क्षेत्र टुंगिएको छैन । उनी पनि रूपन्देही, गुल्मी वा स्याङ्जातिरबाट चुनाव लड्ने तयारीमा छन् । खगेन्द्र सुनार र लक्ष्मण थारू पनि प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन् । कञ्चरपुरमा बालेनका तर्फबाट धिरज जोशी र रविका तर्फबाट दीपक बोहोराले उम्मेदवारी दिने भएका छन् । दुवैका घर कञ्चनपुर–३ भएकाले उनीहरूको क्षेत्र मिलाउन लागिएको हो । जोशीले कञ्चनपुर–३ नछाड्ने बताएपछि बालेनले रविसँग कुराकानी गर्न आग्रह गरिरहेका छन् । जेनजी अगुवा नेतृ रक्षा बमले पनि कञ्चनपुरको कुनै एक क्षेत्रबाट चुनावी तयारी गर्न सक्ने बताइएको छ । यद्यपि यो विषयमा उनले अहिलेसम्म केही बताएकी छैनन । रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटी गोर्खा–२ बाट उठ्ने तयारी भइरहेका बेला पूर्वएआइजी विश्वराज पोखरेल ओखलढुंगाबाट उठ्ने तयारीमा रहेको स्रोतले बताएको छ ।
रास्वपाको केन्द्रीय समितिको बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार छनोट गर्न उपसभापति वाग्लेको संयोजकत्वमा गठित सिफारिस समिति गठन भएको छ । उक्त समितिलाई योग्य उम्मेदवार छनोट र सिफारिस गर्ने जिम्मेवारी दिइएको छ । उपसमितिका सदस्यहरू पार्टी सचिवालयले नै मनोनयन गर्ने निर्णय भएको छ । यसैगरी पार्टी एकता र पार्टी समायोजनलाई सहजीकरण गर्न र निष्कर्षमा पुर्याउन पार्टी महामन्त्री बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन गर्ने निर्णय पनि भएको छ ।

युवाहरूको विद्रोह कायमै
जेनजी विद्रोहलाई रास्वपाले अपनत्व लिन खोजेको भन्दै युवाहरू असन्तुष्ट भएका छन् । चर्चित जेनजी अभियन्ता रक्षा बम, युजन राजभण्डारी, उपार्जन चाम्लिङलगायत युवाहरू रास्वपासँग असन्तुष्ट भएका हुन् । उनीहरू रास्वपाको एकता प्रक्रियामा सहभागी भएनन् । रक्षा बमले नेतृत्व गरेको जेनजी फ्रन्ट एकता प्रक्रियामा सामेल नभएपछि उनीहरूले कांग्रेस महामन्त्री गगन थापासँग पनि छलफल गरेका थिए ।
यसैगरी रास्वपा केन्द्रीय सदस्य अरनिको पाँडेले समानुपातिकको बन्दसूचीबाट आफ्नो नाम फिर्ताको घोषणा गरेका छन् । पार्टी केन्द्रीय समिति बैठक चलिरहँदा उनले यो निर्णय सुनाएका थिए । रास्वपा बन्दसूचीबाट बाहिरिने निर्णय गरेका उनी पाँचौं उम्मेदवार हुन् । पाँडे खस–आर्यतर्फ सातौं नम्बरमा थिए । सामाजिक सञ्जालमा भनाइ राख्दै पाँडेले बन्दसूचीमा रहिरहने औचित्य नदेखेको बताएका छन् । ‘म सधैं देश र समाजलाई सबैभन्दा ठुलो योगदान दिन सक्ने बाटो खोज्ने र रोज्ने गर्छु । पछिल्लो समयमा विकसित राजनीतिक अवस्थामा विस्तार गरिएको रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नदेखी मैले हिजो (आइतबार) राति बसेको केन्द्रिय समिति बैठकमा साथीहरूलाई बन्दसूचीबाट मेरो नाम हटाउने निर्णय सुनाएँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई बन्दसूचीमा पुर्याउने सबै साथीहरूलाई फेरि एकपटक धन्यवाद दिँदै रास्वपालाई आउँदो चुनावमा जिताउनतिर ध्यान दिनेछु ।’ यसअघि सचिन ढकाल, डा. त्रिशला गुरुङलगायतले पनि समानुपातिकतर्फको उम्मेदवारी फिर्ता लिइसकेका छन् ।
प्रकाशित: २१ पुस २०८२ २१:५० सोमबार





