२४ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

नकार्छौ र बजारतिर सुहागरात किन्न जान्छौ!

मुक्तक

१) मुक्तक

रातो क्षितिज देखाएँ मैले उसले मन परायो,

अप्ठ्यारो थियो जाने बाटो हिंड्न ऊ डरायो।

बुईमा बोकी कष्टका साथ चढाएँ ताइपहाड,

उषा खोज्न बाँकी नै थियो खै ऊ कहाँ हरायो?

२) मुक्तक

लप्सेको निर्मल जलमा वीरताको गाथा घुलेको छ,

बलिदानीको अन्तर्कथा स्यालगौंडेमा खुलेको छ।

कुशासनले शिर उठाए प्रतिवादको तयारीमा,

टुवा खोलाको किनारभरि रातो रगत फुलेको छ।

३) मुक्तक

मलाई तिम्रो माग पूर्तिको साधन मात्र ठान्छौ,

चुसिरहन्छौ जुकाले झैं भोग्य वैभव मान्छौ।

छाउगोठमा म दुखेर मायाको भिख माग्दा पनि,

नकार्छौ र बजारतिर सुहागरात किन्न जान्छौ।

४) मुक्तक

ऐचोपैचो छ गाउँमा अर्मपर्म पनि छ,

नठग्ने र नछल्ने मानवीय धर्म पनि छ।

सरकारको नजर परेन र अगाडि बढेन,

तर अथक श्रम छ निस्वार्थ कर्म पनि छ।

५) मुक्तक

पाइतो सार्नु अघि नै नाफा घाटा नापिन्छ मेरो बस्तीमा,

उकालो चढ्न खोज्यो भने पासो थापिन्छ मेरो बस्तीमा।

ग्रीष्ममा पनि घँसेटा बटुल्छन् एक हुल मनुवा,

घाम तापिन्न तर, बलेको आगो तापिन्छ मेरो बस्तीमा।

प्रकाशित: २९ माघ २०८० ११:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App